कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री शिवरतन शारडाको अध्यक्षतामा बसेकाे सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरूलाई ११ करोड ६० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायत सभा समक्ष प्रस्तुत सबै प्रस्तावहरू एकमतले पारित गरेकाे छ । शिवम् होल्डिङ्स लिमिटेड,नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनी हो। बाँकी १५ प्रतिशत शेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ ।
यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो पटक (२०८१/०८२ सम्म) शेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पूँजी रु. ४ अर्ब ६४ करोड रहेको छ। साथै, कम्पनीले २० प्रतिशत बराबरको रु. १ अर्ब १६ करोड मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र हाल स्वीकृतिको प्रतिक्षामा रहेको जानकारी गराइन्छ। शिवम् होल्डिङ्स लिमिटेडले नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमता भएको हो.शी शिवम् सिमेन्ट प्रा. लि. मा आफ्नो महत्वपूर्ण शेयर लगानी गरेको छ। उक्त कम्पनीमा ३० प्रतिशत नेपाली (श्री शिवम् होल्डिङ्स लिमिटेड) र ७० प्रतिशत चिनियाँ लगानी रहेकोछ। उद्योग गण्डकी प्रदेश, पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका, सर्दीमा अवस्थित छ ।
उक्त अत्याधुनिक प्रविधियुक्त उद्योगले दैनिक ६,००० मेट्रिक टन क्लिनकर र सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता राख्दछ। साथै, उद्योगमा प्रयोग भएको मेसिनरीबाट उत्पन्न वेस्ट हीटबाट करिब १२ मेगावाट विद्युत् शक्ति उत्पादन गरी आफैं प्रयोग गरिने व्यवस्था रहेको छ । उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा रही पछिल्ला पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ।