सर्वाेच्चमा कामु माथि कामु, वरिष्ठ न्यायाधीशहरूको विदेश सयरले रोलक्रममा चौथो नम्बरमा रहेका फुँयाल कामु प्रधानन्यायाधीश बन्दै

Nov 02, 2025 05:40 PM mero lagani



रोलक्रम मिचिएन भने अबको ६ वर्षपछि प्रधानन्यायाधीश हुनेछन्  न्यायाधीश हरि फुँयाल । २०८८ भदौमा प्रधानन्यायाधीश हुने रोलक्रममा रहेका फुँयाल अगाडि सपना मल्ल प्रधान र कुमार रेग्मी प्रधानन्यायाधीश हुनेछन् । 

तर, त्यसअगाडि नै हालको रोल क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश फुयाँलले सोमबारदेखि कामु प्रधानन्यायाधीशको पद सम्हाल्ने भएका छन् । रोलक्रममा चौथो नम्बरमा रहेका र ६ वर्षपछि प्रधानन्यायाधीश बन्न लागेका व्यक्ति कामु प्रधानन्यायाधीश बन्न लागेको नेपालको कानुनी इतिहासमै पहिलो घटना हो ।

बंगलादेशका प्रधानन्यायाधीश डा. सैयद रेफात अहमेदको निम्तोमा सर्वाेच्च प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा र मुख्य रजिष्ट्रार विमल पौडेल हाल बंगलादेश भ्रमणमा छन् । आफू पछि दोस्रो रोलक्रममा रहेकी मल्ल पनि आफूसंगै गएपछि प्रधानन्यायाधीश राउतले तेस्रो रोलक्रमका न्यायाधीश रेग्मीलाई कायममुकायमको जिम्मेवारी दिएका थिए ।

शनिबारदेखि न्यायाधीश रेग्मीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्यायाधीश रेग्मी स्वयं पनि सोमबारदेखि न्यायिक कार्यक्रममा सहभागी हुन चीन भ्रमणमा जाँदैछन् । त्यसपछि न्यायाधीश फुँयालले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दैछन् ।

प्रधानन्यायाधीश सहितको टोली यसैसाता र रेग्मी अर्काे साता स्वदेश फर्किने बताइएको छ ।

न्यायीक कार्यक्रममा न्यायाधीशहरु विदेश भ्रमणमा जानु स्वभाविक नै मानिन्छ । तर, जेनजी आन्दोलनको क्रममा देशभरका अदालतहरु आगलागी भएर तहस नहस भएको, मुद्दाकाे चापहरु बढिरहेको र राजनीतिक अवस्था तरल हुनुको साथै आर्थिक अवस्था डामाडोल भएकोले सरकारले नै वैदेशिक भ्रमणमा कडाई गरिरहेको बेला सर्वाेच्चकै न्यायाधीशहरु इजलास नै रित्तिने गरि विदेश भ्रमणमा जानुलाई अस्वभाविकरुपमा लिइएको छ ।