निरञ्जन फुयाँलले नेप्से छाडे, एनआरएन जाने पक्का

Nov 03, 2025 11:41 AM merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कार्यवाहक डीसीओ निरञ्जन फुयाँलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले दशै अघि नै राजीनामा दिएका हुन्। तर उनको राजीनामा अझै स्वीकृत भएको छैन।

“मैले दशै अघि नै राजीनामा दिएको हो। तर स्वीकृत भएको छैन,” फुयाँलले मेरो लगानीसँग भने। फुयाँल शेयर बजारको क्षेत्रमा निक्कै दक्खल राख्ने कर्मचारी हुन्। उनको राजीनामाले एक्सचेन्जमा खैला बैला मच्चिएको छ।  उनको राजीनामा स्वीकृत नगर्न कर्मचारीहरूले दबाब दिइरहेका छन्। सोही कारण उनको राजीनामा स्वीकृत हुन विलम्ब भएको बुझिएको छ।

यता फुयाँल भने एक्सचेन्ज छोडेर निजी क्षेत्रको कम्पनीमा जाने भएका छन्। त्यसैको लागि उनले स्टक छोड्ने निर्णय गरेका हुन्। उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी(एनआरएन)को प्रमुख कार्यकारी अधिकृत हुँदै छन्। त्यसैको लागि उनले एक्सचेन्जबाट राजीनामा दिएका हुन्। गैर आवासीय नेपालीको मुख्य लगानीमा स्थापना भएको उक्त इन्भेस्टमेन्ट कम्पनी नेप्सेमा सूचीकृत छ। जसले गर्दा उनले जाँदै गरेको विषयमा बोल्न मिल्दैन।

 

यस अघि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा हेमन्त बस्याल थिए। उनले राजीनामा गरेर  नेप्से अध्यक्षको भूमिकामा नियुक्त पाएसँगै उक्त पद खाली छ। बस्याल नेप्से आउने र फुयाँल एनआरएनमा जाँदा कर्मचारी साटासाट गरे जस्तो देखिएको छ।