“सबै सञ्चालकहरूलाई आज बेलुकी साढे चार बजे छलफलका लागि अर्थ मन्त्रालय बोलाइएको छ। भरसक यही छलफलबाट आन्दोलनको विषय टुङ्गिने सम्भावना छ,” धितोपत्र बोर्डका एक सञ्चालकले मेरो लगानीसँग भने।
गएको ४३ दिन देखि बोर्डका कर्मचारी आन्दोलनमा छन्। उनीहरूले ‘पेन डाउन’ गर्दै सबै काम ठप्प पारेका छन्। बोर्ड सञ्चालक समिति र अर्थ मन्त्रालय दुवैले कर्मचारीको माग पुरा नगरेको भन्दै गत शुक्रवार कर्मचारीहरूले आन्दोलनको स्वरूप परिवर्तन गर्दै अध्यक्षको राजीनामाकाे माग अघि सारेका थिए। “कर्मचारीको हित र सञ्चालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन् भन्ने हाम्रो ठम्याई रहेको छ। यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नु पर्दछ, सो नगर्दासम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन्,” कर्मचारीहरूले गत शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख थियो। उनीहरूले सोही विज्ञप्ति मार्फत अर्थ मन्त्रालयको समेत ध्यानाकर्षण गराएका थिए।
शुक्रवार यता धितोपत्र बोर्ड अध्यक्ष कार्यालय समेत जान छाडेका थिए। उनी कार्यालय नै नगई अर्थ मन्त्रालय नै हाजिर हुन थालेपछि मन्त्रालय एक्सनमा आएको हो।

अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि,२०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको थियो। अझै प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्नु पर्ने समेत निर्देशनमा भनेको थियो। सोही निर्देशन विरुद्ध कर्मचारी ४३ दिन देखि निरन्तर विरोधमा छन्।