बोर्डका कर्मचारी आन्दोलनमा, बजार सुधारका सुझाव ओझेलमा

Nov 04, 2025 05:21 PM Merolagani



नेपाल धितोपत्र बोर्डका कर्मचारीले गरेको आन्दोलनका कारण पूँजी बजार सम्बन्धी सम्पूर्ण काम ठप्प भएका छन् । कर्मचारीहरु गत ४३ दिनदेखि आन्दोलित हुँदा बोर्डको नियमित काम सहित पूँजी बजार सुधार कार्यदलको सुझाव कार्यान्वयनमा समेत ढिलाई भएको हो ।

सरकारले बोर्ड कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष खारेज गर्ने निर्णय गरेपछि कर्मचारीहरु त्यसको विरुद्धमा उत्रेका हुन् । सरकारले दुवै कोष खारेज गर्न बोर्ड सञ्चालक समितिलाई निर्देशन दिइएको छ । यी कोष खारेज भएपछि कर्मचारीले यसअघि खाईपाई आएको थप रकम कटौती हुने भएको हो । सोही कारण नियमित काम कारवाही नै ठप्प पारेर आन्दोलनमा होमिएका हुन् ।

बोर्ड कर्मचारीहरू आन्दोलनमा उत्रदा पूँजी बजारलाई सुधार गर्न गठित कार्यदलले बुझाएका महत्वपूर्ण सुझाव नै ओझेलमा परेका छन् । सुझाव कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल गरी कार्यान्वयनमा जानुपर्ने समयमा नियामक निकायका कर्मचारीहरू नै आन्दोलित हुनुले बजार सुधारको प्रक्रियामा अवरोध भएको लगानीकर्ताहरुको भनाइ छ ।

कार्यदलले बुझाएको सुझाव मध्ये नेपाल राष्ट्र बैंकले तत्काल गर्नुपर्ने व्यवस्थाहरु कार्यान्वयन गरिसकेको छ । तर यता शेयर बजारकै नियामक निकाय नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा विलम्ब गर्दै आएको छ । बोर्डले पूँजी बजार सुधारको काम गर्नको लागि कार्य योजना बनायो । तर कर्मचारीहरु पेन डाउन गरेर आन्दोलित हुँदा कार्यान्वयन पक्ष अगाडि नबढेको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।

कार्यदलले बुझाएको सुझाव मध्येमा केहि बुँदा तुरुन्त कार्यान्वयन गर्नुपर्ने छ । धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने, सिडिएस तथा क्लियरिङ प्रदान गरिने आईजीन सम्बन्धमा एकरुपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागु गर्नेलगायतका काम तत्काल कार्यान्वयन गर्नुपर्ने छ ।

बजारलाई बलियो बनाउनु पर्ने बेलामा नियामक संस्था भित्रै भएको विवादले बजारको विश्वसनीयता र प्रभावकारिता माथि नकारात्मक असर पारेको जानकारहरुको बुझाई छ । पूँजी बजारलाई अप्ठ्यारो परेका केही नीतिगत व्यवस्थाहरूको समाधानका लागि नेपाल राष्ट्र बैंकले आवश्यक कदम चालेर कार्यान्वयनमा ल्याइसकेको अवस्थामा बजार सुधारका लागि खटिने मुख्य निकायका कर्मचारीहरू नै विरोधमा उत्रनु विरोधभासपूर्ण भएको लगानीकर्ता प्रकाश रजैरेले बताए ।

पूँजी बजार सुधारको लागि सरकार सकारात्मक देखिएको छ । सोही अनुसार बजार सुधारको लागि सुझाव कार्यदल मार्फत बजार विकासमा सकृयता देखाएको छ । यता सम्बन्धित निकाय बोर्डबाटै भएको विलम्बले लगानीकर्ताहरु निरास भएका छन् ।

बजार शेयर बजारमा विश्वासकाे संकट परेको छ । यस्तो बेलामा नियामक निकाय लगानीकर्ताको विश्वास बढाउन लाग्नु पर्नेमा आफै आन्दोलनमा उत्रेर बजारका दैनिक कामलाई समेत ठप्प पार्नुले बोर्डका कर्मचारी नै गैर जिम्मेवारी देखिएकाे रजैरेको भनाइ छ ।

अहिलेको आवश्यकता लगानीकर्ताको मनोबल उकास्नु र संरचनागत सुधार गर्ने हो । बजार विकासका लागि नयाँ योजना ल्याउन सकेन । सरकारले कार्यान्वयन गर्न दिएको निर्देशन समेत अलपत्र पारेर आन्दोलिन हुनु दुखद भएको रजैरेको भनाइ छ ।

 

पूँजी बजारको स्थायित्व र विकासका लागि तत्काल कदम चाल्नुपर्ने बेला नियामक निकायका कर्मचारीहरूले नै ‘पेन डाउन’ गर्दै सम्पूर्ण काम ठप्प पार्नुले बोर्ड आम लगानीकर्ताको सम्पत्ति माथि नै खेलवाड गरेको उनको आरोप छ । बोर्डका यस्ता गतिविधिले लगानीकर्ताको मनोबल थप असर पारेको छ । बजारलाई बलियो बनाउनु दीर्घकालीन नीति अपनाउँदै सुधारमा लाग्नु पर्ने बेला हो । यस्तो बेला नियामक भित्रै आफू आफूमा विवाद उत्पन्न हुनुले सम्पूर्ण शेयर बजारसँगै अर्थतन्त्रलाई समेत असर पारेको  नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष खुसल राम धितालले बताए ।लगानीकर्ताले कार्यलको सुझाव कार्यान्वयनका लागि दबाब दिन पुग्दा कार्यलय भित्रैबाट ताला लगाइएको छ । यसरी सार्वजनिक निकायमा  भित्रैबाट ताला लगाएर सेवा ठप्प पार्न नहुने धितालको बुझाई छ ।

जोखिम र संवेदनशील क्षेत्रलाई सुक्ष्म निगरानी आवश्यक छ । सरकारका निकाय आफै आन्दोलित हुनुले बजारमा नकारात्मक प्रभाव परेको छ । सरकार, अर्थ मन्त्रालय, र धितोपत्र बोर्डको नेतृत्व बीच तत्काल वार्ता र सहमतिको माध्यमबाट उत्पन्न परिस्थितीलाई सम्बोधन गरी बजार सुधारका कामलाई प्राथमिकता दिन अपरिहार्य भएको लगानीकर्ताहरुको जोड छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।