यस दिन नेप्से परिसूचक ४.९८ अंक घटेर २५६१.०८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ५० हजार ६२६ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँबराबरको ८३ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.०३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ४० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन साहस उर्जाको साढे १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको करिब १६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ।