साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन सोल्टी होटलको १५ प्रतिशत र साहस उर्जाको २१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सोल्टीको शेयरमूल्य ४७४ रुपेयाँ ८७ पैसा कायम भएको छ भने साहस (SAHAS) को शेयरमूल्य ५५५ रुपैयाँ ३७ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा सोल्टीको शेयर प्रतिकित्ता ५४६ रुपैयाँ र साहसको शेयर प्रतिकित्ता ६७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।
सोल्टी होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न मंसिर २८ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
त्यस्तै, साहस उर्जा ले मंसिर २४ गते, बुधबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले गत आर्थिक वर्षको साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गरी हाल बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।