चालु आवको प्रथम त्रैमासमा मात्रै जीवन बीमा कम्पनीहरुले ३७ अर्ब ७१ करोड रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.६६ प्रतिशतले बढी हो । गत वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८६ करोड रुपैयाँ बराबरको रकम नेप्सेमा सूचीकृत कम्पनीहरुमा लगानी गरेका छन् । बीमा कम्पनीहरुको कुल लगानी १६ दशमलब ५६ प्रतिशतले बढ्दा शेयर बजारमा लगानी भने तुलनात्मक रुपमा बढेको देखिएको हो ।
हरेक महिना रेमिट्यान्सको वृद्धिसँगै बैंकिङ प्रणालीमा निक्षेप बढ्ने क्रम जारी छ । निक्षेप निरन्तर बढिरहने तर ऋण नबढ्ने हुँदा पछिल्लो समय निक्षेपको ब्याज दर घटेसँगै ऋणको समेत ब्याज घटिरहेको छ । बीमा कम्पनीहरुले बैंक निक्षेपमा राख्नु सट्टा शेयर बजारमा लगानी बढाउँदै लगेको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ।
नेपाल बीमा प्राधिकरणले हालै मात्रै कुल लगानीको १५ प्रतिशतसम्म रकम शेयर बजारमा लगानी गर्न खुला गरेको थियो । यसअघि बीमा कम्पनीले आफ्नो कुल लगानी रकमको १० प्रतिशतसम्म मात्रै रकम शेयर बजारमा लगानी गर्न पाउने प्रावधान थियो ।
चालु आवको असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये हिमालयन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी ११ अर्ब ३९ करोड ८४ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । हिमालयन लाइफले कुल लगानीको १३.९० प्रतिशत लगानी शेयर बजारमा गरेकाे छ ।

हिमालयन लाइफपछि रकमको हिसाबले शेयर बजारमा दोस्रो धेरै रकम लगानी गर्ने कम्पनीमा नेपाल लाइफ परेको छ । नेपाल लाइफले ६ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बराबरको रकम शेयर बजारमा लगानी गरेकाे छ । यो कम्पनीको कुल लगानीको ३.१४ प्रतिशत हो ।
सुर्य ज्योति लाइफले ३ अर्ब ८८ करोड ४६ लाख, एलआईसी नेपालले २ अर्ब ९९ करोड ६३ लाख, आईएमई लाइफले २ अर्ब ३० करोड २४ लाख, रिलायवल नेपाल लाइफले १ अर्ब ९३ करोड १६ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ७३ करोड २६ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ, नेसनल लाइफले १ अर्ब ३५ करोड ७४ लाख रुपैयाँ, सानिमा लाइफले १ अर्ब २५ करोड १० लाख रुपैयाँ र एसियन लाइफले १ अर्ब १३ करोड ११ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् । सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थानले सबैभन्दा कम २० करोड ६४ लाख रुपैयाँ शेयर बजारमा लगानी गर्दा मेट लाइफको भने शेयर बजारमा लगानी छैन ।
शेयर बजारमा गरेको लगानीको हिसाबले हिमालयन लाइफले धेरै लगानी गरे पनि गत वर्षको प्रथम त्रैमासको तुलनामा लगानी वृद्धि प्रतिशतको आधारमा भने सानि लाइफ इन्स्योरेन्स अगाडि देखिएका छन् । सानिमा लाइफले गत वर्षको प्रथम त्रैमासमा ५८ करोड २८ लाख रुपैयाँ लगानी गरेकोमा चालु आवमा प्रथम त्रैमासमा १ सय १४ दशमलब ६५ प्रतिशतले शेयर बजारमा लगानी बढाएर १ अर्ब २५ करोड १० लाख रुपैयाँ पुर्याएकाे छ ।
सानिमा पछि धेरै लगानी वृद्धि गर्नेमा क्रमशः नेसनल लाइफ, नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, आईएमई ललाइफ, सुर्यज्योति लाइफ, हिमालयन लाइफ, रिलायवल नेपाल लाइफ सन नेपाल लाइफ र एलआइसी नेपाल रहेको छ । एसियन लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थाको मात्रै शेयर बजारमा लगानी गत वर्षको सोही अवधिमा तुलनामा घटेको छ ।
जीवन बीमा कम्पनीहरुले कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था भए पनि ३ वटा कम्पनीले मात्रै कुल लगानीको १० प्रतिशतभन्दा बढी रकम शेयर बजारमा लगाएका छन् । हिमालयन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले कुल लगानीको १० प्रतिशत भन्दा बढी रकम शेयर बजारमा लगाएका छन् । प्रभु महालक्ष्मी लाइफ र रिलायवल नेपाल लाइपले ९ प्रतिशतभन्दा बढी रकम शेयर बजारमा लगाएका छन् भने सानिमा लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्सले ५ प्रतिशतभन्दा बढी रकम शेयर बजारमा लगानी गरेका छन् । नेपाल लाइफ, एलआइसी नेपाल, एसियन लाइफ, नेसनल लाइफ र राष्ट्रिय बीमा संस्थानको शेयर बजारमा लगानी सवा ३ प्रतिशतभन्दा कम रहेको तथ्यांकले देखाउँछ ।