बढ्दो तरलता व्यवस्थापनका लागि मौद्रिक नीतिले व्यक्तिगत कर्जाको सीमा बढाएको छ । लघुवित्त कम्पनीहरुले प्रवाह गर्ने ऋणको सीमा बढाएको छ । यसले तल्लो स्तरमा कर्जाको माग बढाउने र सहजिकरण गर्ने विश्वास गरिएको छ । अर्थतन्त्रमा देखिएको सुस्तताले बजारलाई अप्ठ्याराे पारेको अर्थ विश्लेषक सुन्दर रायमाझीले बताए । तीनै रायमाझीसँग सुधा देवकोटाले गरेको कुराकानीः
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिकाे पहिलाे त्रैमासिक समीक्षा गरेको छ । समीक्षा गरेपछिका दुई कारोबार दिन सामान्य रुपमा नकारात्मक रहे । के मौद्रिक नीति बजार अनुकुल नआएको हो ?
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेकाे छ । मौद्रिक नीतिकाे समीक्षाले समग्र परिस्थितीलाई बुझेर नीतिगत व्यवस्था गरेको देखिएको छ । अहिलेको अर्थतन्त्र तरलताको दबाबमा छ । तरलता फालाफाल छ । यो तरलतालाई कर्जा प्रवाहमा जोड दिने गरी मौद्रिक नीतिकाे समीक्षा भएकाे छ ।
मौद्रिक नीतिले तीन-चारवटा कुरालाई प्राथमिकता दिएको छ । मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्य दिएको छ । जसले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत कायम राखिएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्था यथावत कायम गरिएको छ । यसले तत्काल ब्याजदर अझ घट्ने भन्दा सन्तुलन रहने देखिन्छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको व्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिएको छ ।
लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिएको छ । साथै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था समेत मिलाइएको छ । यसले लघुवित्त कम्पनी र ग्राहक दुवै पक्षलाई राहत मिल्ने र ग्रामिण अर्थतन्त्र चलायमान हुने देखिएको छ ।
मौद्रिक नीतिले निजी क्षेत्रको कर्जा अनुपात १२ प्रतिशत हुने अनुमान गरिएको थियो । सो अनुसार कर्जाको माग नहुदाँ अर्थतन्त्रमा बढी तरलताको दबाबमा थियो । यसले समग्र आर्थिक गतिविधिमा सन्तुलन ल्याएको छ । यो मौद्रिक समीक्षाले कर्जा परिचालनलाई सहज गर्ने व्यवस्था गरेकाे हुँदा मौद्रिक नीति समयसापेक्ष छ ।
रह्यो कुरा शेयर बजारको, शेयर बजारका लगानीकर्ताको मनोभावना कमजाेर भएकाेछ । यस्तो अवस्थामा भएका नीतिगत सुधारलाई लगानीकर्ताले विश्वास नगर्दा वा राजनीतिक स्थिरता भएपछि मात्रै लगानी बढाउने रणनीतिमा रहदा बजार अपेक्षित नबढेको हो । विस्तारै बजारले पनि आफ्नो अनुकुलता अनुसार गति लिनेछ भन्नेमा विश्वास छ ।

ब्याजदर घट्यो वा तरलता बढी भयो भन्दैमा शेयर बजार बढेन । मौद्रिक नीतिको समीक्षाले तरलता परिचालन गर्ने नीति लिदापनि बजारले किन स्वीकार गर्न सकेन ?
मुलुकको अर्थतन्त्र र पूँजी बजार एक अर्कामा अन्तरसम्बन्धित छन् । अर्थतन्त्रको ऐनाको रुपमा शेयर बजारलाई हेर्ने गरेको देखिन्छ । अहिलेको परिस्थितीमा तरलताको सहजता छ । सोही कारण नै शेयर बजार बढ्ने आधार मान्न नसकिने रहेछ भन्ने कुरा प्रष्ट भएको छ । सस्तोमा पनि ऋण लिएर लगानी गर्न कुनै लगानीकर्ताहरु तयार छैनन । आधार दरमा नै कर्जा पाएको अवस्था छ । सहजता अनुसारको कर्जा परिचान हुन सकेको छैन ।
समग्रमा भन्नुपर्दा शेयर बजारले स्थायित्व खोजेको हुन्छ । अहिले नीतिगत सहज छ । ब्याजदर सस्तो छ । तरलता छ । तर राजनीतिक अस्थिरताको डरले गर्दा लगानीकर्ताहरु ढुक्कले लगानी गर्न सकेका छैनन । लगानीकर्ताको आत्मबल नबढेसम्म बजारले गति लिन गाह्रो छ । यस्तो हुनुमा लगानीकर्ताको मनोबैज्ञानिक प्रभाव मात्रै हो ।
मौद्रिक नीतिले तरलता दबाबलाई सहज बनाउने नीति लिएको देख्दा आन्तरिक अर्थतन्त्रलाई चलायमान गर्न खोजेको देखिन्छ । समग्रमा अहिलेको अर्थतन्त्र कस्तो छ ?
अहिले नेपालको बाह्य अर्थतन्त्र सन्तोजनक छ । आन्तरिक अर्थतन्त्रमा आएको सुस्तताले गर्दा त्यसको प्रभाव पर्न नसकेको हो । राष्ट्रको अर्थतन्त्र कस्तो छ । त्यसका सूचांकहरु कस्ता छन् भन्ने कुरा बुझ्नका लागि यसका भित्री क्षेत्रहरुलाई नजिकबाट विश्लेषण गर्न जरुरी छ । नेपालको सन्दर्भमा अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रका रुपमा रियल स्टेट, सार्वजनिक निकाय, वित्तीय क्षेत्र र बाह्य अवस्थालाई केलाएपछि अर्थतन्त्र कुन अवस्थामा रहेको छ भन्ने कुराको आंकलन गर्न सकिन्छ ।
वास्तविक क्षेत्रले अर्थतन्त्र कसरी विकास भएको छ । राष्ट्रिय उत्पादन कसरी भएको छ । कस्तो अवस्थामा छ । अहिले नेपालको कुल ग्राहस्थ उत्पादनको आकार करिब ६१ खर्बको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रक्षेपणको आधारमा भन्दा ग्राहस्थ उत्पादन दर ४ प्रतिशत छ । तर अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियन डेभलपमेन्ट बैंकले सो भन्दा कम वृद्धिदर प्रक्षेपण गरेका छन् । मुद्रास्फिती दर तल्लो तहमा छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य रुपमा मात्रै राजश्व संकलन वृद्धि भएको छ । बजेटले बिनियाेजन अनुसारको विकास खर्च हुन सकेको छैन । सार्वजनिक ऋणको आकार बढेको छ । वित्तीय क्षेत्रमा निक्षेप र कर्जा परिचालनको सन्तुलन मिल्न सकेको छैन । ब्याजदर घटेको छ ।
राज्यको आन्तरिक अर्थतन्त्र सुस्त भएता पनि बाह्य अर्थतन्त्र सुधार उन्मुख रहेको छ । ब्यालेन्स अफ पेमेन्ट बचतमा छ । स्वदेशी मुद्रा आप्रवाह बचतमा छ । विप्रेषण बढ्दो छ । समग्रमा हेर्दा बाह्य अर्थतन्त्र सन्तोषजनक छ । तर आन्तरिक अर्थतन्त्र सुस्त छ । लगानीकर्ताले लगानीको सुरक्षाको महशुस गर्न सकेका छैनन । त्यसैले कर्जाको माग छैन । निजी क्षेत्रको मनोबल कमजोर भएसम्म आन्तरिक अर्थतन्त्र सुधार हुने अवस्था देखिदैन ।
नीतिगत सुधार भएको छ । लगानी गर्न पैसा छ । तर बजार बढेन । शेयर बजारले बढ्नका लागि के के पर्खेको छ ?
अहिले दोस्रो बजारका लगानीकर्ताको आत्मविश्वास गिर्दो अवस्थामा छ । जेनजी आन्दोलन पछि र सो आन्दोलनमा सार्वजनिक संस्था, निकाय र निजी क्षेत्रमा भएको क्षति गम्भिर छ । आन्दोलनमा धेरै जनधनको क्षति भएको छ । त्यसले नेपालको आन्तरिक अर्थतन्त्रलाई थप मारमा पारेको छ । त्यसले राजनीतिक परिदृष्य पनि शून्यताको अवस्थामा पुगेको छ । त्यसले शेयर बजारका लगानीकर्ताको आत्मविश्वास घटेको छ ।
लगानीकर्ताको गिर्दो मनोभावना कसरी उठाउने ?
हो, मौद्रिक नीतिले मात्रै अर्थतन्त्रका सबै समस्या पूर्णरुपमा समाधान गर्न सक्दैन । वित्त नीति र मौद्रिक नीतिको तारतम्यता मिल्नु पर्छ । अहिले तरलताको दबाब धेरै परेको छ । निजी क्षेत्रको आत्मविश्वासको दर गिर्दो अवस्थामा छ । बैंकिङ प्रणालीमा तरलता निरन्तर बढेको छ । यसले दुरगामी रुपमा प्रभाव परेको छ । अर्थमन्त्रालय र सम्बन्धित निकायले गम्भिर भएर यसको निकास दिने नीति लिनु पर्छ ।
तरलता प्रयाप्त हुनु समस्या होइन । त्यसलाई सदुपयोग गर्ने नीति लिनु पर्छ । मौद्रिक नीतिले गर्न सक्ने जति अहिले व्यवस्था गरेको छ । राज्यले त्यसको उचित रुपमा परिचालन गर्ने नीति लिनु पर्छ अनि मात्रै बजारमा लगानीकर्ताको आत्मविश्वास बढ्छ । मुलुकमा लगानीको सम्भावना बढाउने र लगानी सुरक्षाका नीतिगत व्यवस्था गरिनु पर्छ ।