धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएका क्लोज इन्डेड र ओपन इन्डेड गरी कुल ५२ वटा म्युचुअल फन्डहरुको कात्तिक महिनाको औसत न्याभ ९ रुपैयाँ ८८ पैसा मात्रै रहेको छ । म्युचुअल फन्डहरुमध्ये अधिकांश अंकित मूल्य १० रुपैयाँ भन्दा तल रहँदा औसत न्याभ पनि तलै रहन पुगेको हो । असोज महिनामा म्युचुअल फन्डको औसत न्याभ ९ रुपैयाँ ६९ पैसा थियो । असोजमा ८ वटा म्युचुअल फन्डको मात्रै न्याभ १० भन्दा माथि रहेकोमा कात्तिक महिनामा यो बढेर १६ वटा पुगेको छ । यसको मतलब म्युचुअल फन्डमा लगानी गर्ने अधिकांश लगानीकर्ता अहिले घाटामै छन् ।
असोज महिनामा सबैभन्दा धेरै न्याभ प्रभु स्मार्ट फन्डको ११ रुपैयाँ ५४ पैसा र सबैभन्दा कम न्याभ एचएलआई लार्ज क्याप फन्डको ९ रुपैयाँ ७२ पैसा रहेको छ। कात्तिक महिनामा प्रभु स्मार्ट फन्डसँगै प्रभु सेलेक्ट फन्ड, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२, हिमालयन ८०–२०, कुमारी सुनौलो लगानी योजना, कुमारी धनवृद्धि योजना, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, आरबीबी म्युचुअल फन्ड–२, सनराइज फोकस्ड इक्वटी फन्ड, सनराइज फस्ट म्युचुअल फन्ड, एमबीएल इक्वटी फन्ड, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, नबिल फ्लेक्सी क्याप फन्ड, नबिल ब्यालेन्स फन्ड–२ र एनएमबी सरल बचत फन्ड–इ ले १० रुपैयाँ भन्दा माथिको न्याभ कायम राखेका छन् ।
म्युचुअल फन्डहरुले बजार असोज महिनाको तुलनामा कात्तिक महिनामा सूचीकृत कम्पनीमा लगानी वृद्धि गरेका छन् । सूचीकृत कम्पनीमा म्युचुअल फन्डको औसत लगानी ३.१४ प्रतिशतले बढेको तथ्यांकमा छ । असोज महिनामा ४८ अर्ब ४३ करोड रुपैयाँ लगानी गरेका ५२ म्युचुअल फन्डले कात्तिक महिनामा यो रकम बढाएर ५० अर्ब १६ करोड रुपैयाँ पुर्याएका छन् । ५२ वटा म्युचुअल फन्डमा सबैभन्दा बढी नबिल इन्भेष्टमेन्टको खुलामुखी योजना एनआई ३१ ले असोज महिनाको ९ करोड ५९ लाखबाट ३२.५२ प्रतिशतले बढाएर १२ करोड ७१ लाख रुपैयाँ पुर्याएका छन् । अधिकांश म्युचुअल फन्डले सूचीकृत कम्पनीमा लगानी बढाउँदा सिटिजन्स म्युचुअल फन्ड–२, सिद्धार्थ इक्वीटी फन्ड र हिमालयन ८०–२०ले भने असोज महिनाको तुलनामा सूचीकृत कम्पनीहरुमा लगानी घटाएका छन् । अधिकांश खुलामुखी योजनाका म्युचुअल फन्डले सूचीकृत कम्पनीमा लगानी बढाएकै छन् ।
मुद्दतीमा लगानी र बैंक ब्यालेन्समा झिनो वृद्धि
वाणिज्य बैंकहरुमा मुद्दती निक्षेपको ब्याजदर घट्दै गएपछि अधिकांश म्युचुअल फन्डले मुद्दती निक्षेप राख्नै छाडेका छन् ।
मुद्दती निक्षेपमा निरन्तरको गिरावटसँगै म्युचुअल फन्डहरुले मुद्दतीमा पैसा राख्न छोडेका छन् । ५२ वटा म्युचुअल फन्डमध्ये कात्तिक महिनामा १८ वटा म्युचुअल फन्डले मात्रै १ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ लगानी गरेका छन् । असोज महिनामा म्युचुअल फन्डको मुद्दती निक्षेपमा लगानी १ अर्ब ३६ करोड ९० लाख रुपैयाँ थियो।
कात्तिक महिनामा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ले डेढ करोडको मुद्दती निक्षेप खोलेका छन् भने एनएमबी हाइब्रीड फन्ड एल–२ ले साढे ८ करोडको मुद्दती निक्षेप बढाएका छन् । एनएमबी सरल बचत फन्ड–‘इ’ले १३ करोडको मुद्दती निक्षेपलाई १० करोड ९३ लाखमा झारेका छन् ।
असोज महिनाको तथ्यांक अनुसार ५२ वटा म्युचुअल फन्डमध्ये ३२ वटाको बैंक ब्यालेन्स बढेको छ भने बाँकीको घटेको छ । सबैभन्दा धेरै बैंक ब्यालेन्स बढाउने म्युचुअल फन्डमा मुक्तिनाथ म्युचुअल फन्ड १ रहेको छ । यो फन्डले ६ करोड ६९ लाख रुपैयाँ बैंक ब्यालेन्स बढाएर कात्तिकमा १० करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंक ब्यालेन्स ह्वात्तै घटेको म्युचुअल फन्डमा भने ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ परेको छ । उक्त म्युचुअल फन्डको गत असोजमा १ करोड १० लाख रुपैयाँ रहेको बैंक ब्यालेन्स ५५ लाख रुपैयााँमा झरेको छ ।