त्यहीक्रममा अध्यक्ष ओलीले युवा संघ र केही दिन अघि गठन गरिएको पिपुल्स भोलेन्टियरलाई आफूहरु विरुद्ध प्रयोग गर्न सक्ने आशंकामा पोखरेल पक्षले ‘जबज रक्षक बटालियन’ गठन गर्ने तयारी गरेको छ ।

पिपुल्स भोलेन्टियरका सदस्य कृष्णसागर वलीले एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई पार्टी कार्यालय च्यासलमै केही दिन अघि अध्यक्ष केपी ओलीकै अगाडि दुर्व्यवहार गरेका थिए । त्यसबाट झस्किएको पोखरेल पक्षले ‘जस्तालाई तस्तै’ गर्ने रणनीति अनुरुप युवाहरुको बटालियन बनाउने तयारी गरेको हो । कस्को नेतृत्वमा बटालियन बनाउने भन्ने बारेमा विभिन्न नामहरुमा छलफल भइरहेको र एक दुई दिनभित्रै टुंगो लाग्ने बताइएको छ । बटालियन बनाउने जिम्मा पोलिटव्युरो सदस्य कर्ण थापा र केन्द्रीय सदस्य रमेश पौडेललाई दिइएको पोखरेल पक्षका नेताहरुले जानकारी दिएका छन् ।
पोखरेल पक्षका एक नेताका अनुसार मदन भण्डारी फाउण्डेशन अन्तरगत रहने गरि उक्त बटालियन गठन गर्ने तयारी गरिएको हो । ‘पार्टीको जन वर्गिय संगठनको रुपमा रहेको युवा संघ र त्यस अन्तरगत गठन गरिएको पिपुल्स भोलेन्टियरलाई हाम्रो विरुद्ध पनि प्रयोग गरेको देखिएको छ । ती संगठनका नेताहरुले योजनावद्धरुपमा हाम्रो पक्षका नेताहरुमाथि सामाजिक संजालमा अफवाह फैलाउने र भौतिक आक्रमण नै गर्ने अवस्था भएपछि काउन्टरको लागि विशेष योजना बनाउनु पर्ने वाध्यता आइलाग्यो,’ ती नेताले मेरो लगानीसँग भने ।
ओलीको ‘दाहिने हात’ मानिएका पोलिटव्युरो सदस्य महेश बस्नेतले अध्यक्षमा उम्मेद्वारी दिएका पोखरेललाई उम्मेद्वारी नदिन सार्वजनिकरुपमै चेतावनी दिइसकेका छन् भने कतिपय ठाउँमा उनी निकट युवाहरुले पोख्रेल निकट नेताहरुलाई धम्काउने र हात हालेका घटनाहरु बढेपछि पोखरेल पक्षले सशक्त प्रतिकारको तयारी गरेको हो ।
उनका अनुसार उक्त बटालियनले आवश्यक परे भौतिकरुपमै प्रतिकार गर्नेछ भने आफ्नो पक्षका नेताहरुमाथि भइरहेको र हुन सक्ने साइबर हमलाहरुको पनि प्रत्याक्रमण गर्नेछ । अहिलेलाई आफ्नो पक्षका नेताहरुको संरक्षण गर्ने उक्त बटालियनको उद्देश्य भए पनि पार्टी नीति विरुद्ध भने नजाने उनले दावी गरे ।