घर बनाउन इच्छुकहरुको लागि सुवर्ण अवसर, स्थिर ब्याजदरमा नै घर कर्जा

Dec 04, 2025 05:22 PM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुले लगानीयाेग्य रकम (तरलता) अत्याधिक मात्रामा बढेपछि आधार दर वा न्यून दरमा नै कर्जा प्रवाह गर्न थालेका छन् । बैंकहरुले सस्तो दरमा कर्जा प्रवाह गरेर भएपनि तरलता परिचालनमा जोड दिएका हुन् ।

निरन्तर रुपमा बैंकको ब्याज घट्न थालेपछि बैंकहरुले अफर नै ल्याएर घर कर्जा प्रवाह गरेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् । वाणिज्य बैंकहरुले ४.८१ प्रतिशतदेखि ९ प्रतिशतसम्ममा कर्जा उपलब्ध गराएका छन् ।

निक्षेप बचतको तुलनामा कर्जाको माग कम भएको बैंकहरुको भनाइ छ । बैंकमा एकतर्फी पैसा मात्रै आउँदा तरलताको दबाब बढेको छ । त्यसैले ब्याजदर घटाएर भएपनि कर्जा लगानी गरेको बैंकहरुले बताएका छन् ।

 

बैंकहरुको लिंककाे आधारमा र कर्जाको कुल आकारको आधारमा ब्याजदरको अफर ल्याएका छ । कुनै बैंकले महिला र पुरुषहरुलाई फरक दरमा कर्जाको ब्याजदर निर्धारण गरेका छन् । कर्जाको आकारको आधारमा स्थिर ब्याजदर गराएका हुन् ।

बैंकहरुले ७ वर्षदेखि २० वर्षको अवधिका लागि स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका हुन् । जस मध्येमा राष्ट्रिय वाणिज्य बैंकले सबै भन्दा सस्तो दरमा घर कर्जा प्रवाह गर्दै आएको छ । सो बैंकले ४.८१ प्रतिशतको दरले घर कर्जा उपलब्ध गराउँदै आएको हो । त्यसैगरी प्राईम कमर्स बैंकले सबै भन्दा महँगो दरमा घरकर्जा प्रवाह गरेको छ । यस बैंकले ९ देखि ११ प्रतिशतसम्मको ब्यादरमा कर्जा प्रवाह गरेको हो ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.३५ देखि ८.३५ प्रतिशत, एनआईसी एशिया बैंकले ६.९३ देखि ८.९३ प्रतिशत, एभरेष्ट बैंकले ७.४९ प्रतिशतमा, ग्लोबल आईएमई बैंकले ६.८३ देखि ८.८३ प्रतिशत र कृषि विकास बैंकले ५.४० देखि ८.४० प्रतिशतसम्म घर कर्जा प्रवाह गरेको छ ।

साथै, नबिल बैंकले ६.४१ देखि ८.१६ प्रतिशत, सानिमा बैंकले ७.११ देखि ९.११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७.५१ देखि ९.५१ प्रतिशत, नेपाल बैंकले ६.४१ देखि ७.२२ प्रतिशत, एनएमबी बैंकले ६.२२ देखि ८.२२ प्रतिशत, माच्छापुच्छे् बैंकले ६.२६ देखि ८.२६ प्रतिशत, सिद्धार्थ बैंकले ७.४९ प्रतिशत, हिमालयन बैंकले ६.३९ देखि ८.३९ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत, सिटिजन्स बैंकले ७.९९ प्रतिशत र लक्ष्मी सनराइज् बैंकले ६.३८ देखि ८.३८ प्रतिशतको दरमा घर कर्जा प्रवाह गरेका छन् ।

यसरी बैंकहरुले प्रतिस्पर्धाको आधारमा घर कर्जा उपलब्ध गराउँदै आएका छन् । सस्तो दरमा घर कर्जा पाएको मौका पारेर घर बनाउन इच्छुकहरुको लागि राम्रो अवसरको रुपमा लिन सकिने आम बुझाइ छ ।