आजको खेलमा चितवन पराजित भएसंगै विराटनगर लिग चरणको एक खेल अगाडि नै प्लेअफमा पुगेको छ । सुदूर पश्चिम भने लिग चरणका ६ वटै खेलमा अपराजित रहंदै १२ अंकका साथ शिर्ष स्थानमा कायम छ ।
आजको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको छ । आज पराजय भएसंगै चितवनको भने प्लेअफमा पुग्ने सम्भावना थप कमजोर बनेको छ । ६ खेलबाट ४ अंक रहेको चितवन छैटौं स्थानमा छ ।
आजको खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए भने देव खनालले २८, ओपनर अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन बनाए ।
सुदूरपश्चिमका लागि पुनित मेहराले २.१ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले १,१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिविवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
सुदूर पश्चिमको लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । आरिफ शेखले र कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित रहँदै समान २४ रन बनाए । विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन जोडे ।
बलिङमा चितवनका सैफ जैबले २ तथा रन्जित कुमार र जर्ज स्मृक्शले १,१ विकेट लिए ।