नेप्सेले प्रकाशित गरेको मासिक विवरण अनुसार ९२ ब्रोकर कम्पनीहरूले कुल ३२ करोड ७७ लाख १५ हजार २९८.९० रुपैयाँ आम्दानी गरेका हुन्। जुन रकम उनीहरूको चोखो आम्दानी हो। त्यसमा नेप्सेलाई तिर्नु पर्ने कमिसन र कर दुवै कट्टा गरिएको नेप्सेले जनाएको छ।

सबै ब्रोकर कम्पनीले ३२ करोड रुपैयाँ भन्दा बढी कमाउँदा सबैभन्दा बढी रकम आम्दानी गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटीज छ। उसले एक्लैले कात्तिकमा दुई करोड २० लाख ७२ हजार ३३२ रुपैयाँ आम्दानी गरेको छ। नेप्सेको विवरण अनुसार कम्पनीले पाँच अर्ब ३२ करोड रुपैयाँको शेयर खरिद र पाँच अर्ब २७ करोडको शेयर बिक्री गर्दै उक्त रकम कमाएको हो।
यसैगरी दोस्रोमा सबैभन्दा बढी कमाउने ब्रोकर कम्पनीमा भिजन सेक्युरिटीज परेको छ। उसले कात्तिकमा मात्रै नेट एक करोड ५७ लाख ६५ हजार ९९६ रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ। कम्पनीले चार अर्ब ७८ करोडको शेयर खरिद गरेको छ भने दुई अर्ब ८१ करोडको शेयर बिक्री गरेर उक्त रकम आम्दानी गरेको हो।
कात्तिकमा एक करोड भन्दा बढी कमाउने थप दुई कम्पनी छन्। जसमा त्रिशक्ति सेक्युरिटीज र डायनामिक मनि म्यानेजर्स छन्। उनीहरूले क्रमशः एक करोड ४२ लाख र एक करोड सात लाख रुपैयाँ कमाएका छन्।
कुल ब्रोकर मध्ये सबैभन्दा धेरै कमाउने १० ब्रोकर कम्पनीको सूचीमा एक ब्रोकर कम्पनी मात्रै नयाँ ब्रोकर कम्पनी परेको छ। दशौँ नम्बरमा क्यापिटल म्याक्सले आफ्नो स्थान सुरक्षित गरेको छ। उसले कात्तिकमा मात्रै ७५ लाख ७२ हजार रुपैयाँ नेट कमाएको छ। ७५ लाख भन्दा बढी कमाउने ब्रोकर कम्पनी उत्कृष्ट १० भित्र परेका छन् भने करिब ५० लाख रुपैयाँको हाराहारीमा कमाउनेहरू उत्कृष्ट २० ब्रोकर कम्पनीको सूचीमा अटाएका छन्। उत्कृष्ट २० कम्पनीको सूचीको २० औँ नम्बरमा अग्रवाल सेक्युरिटीज परेको छ। उसले कात्तिकमा ४९ लाख ९१ हजार रुपैयाँ नेट कमाउँदै उक्त स्थान पक्का गरेको हो।

सबैभन्दा धेरै देखि सबैभन्दा कम कमाउनेको सूचीमा सबैभन्दा पुछारमा परेको कम्पनीले एक महिनामा कुल एक हजार रुपैयाँ पनि आम्दानी गर्न सकेको छैन। चार सय ४९ रुपैयाँ ७६ पैसा नेट आम्दानी गर्दै मनि वल्ड एक्सचेन्ज ९२ औ नम्बरमा परेको छ। कात्तिक महिना भरिनै कम्पनी मार्फत एक कित्ता पनि शेयर खरिद भएको छैन। उसले एक लाख ८६ हजार रुपैयाँको शेयर मात्रै बिक्री गरेको छ। सोही शेयर बिक्री मार्फत आएको नेट कमिसन पाँच सय रुपैयाँ पनि छैन। त्यसैगरि सबैभन्दा कम आम्दानी गर्ने ब्रोकर कम्पनीको सूचीको दोस्रोमा पहि इन्भेस्टमेन्ट छ। उसले २९ हजार ९५० रुपैयाँ नेट कमाएको छ।
यस अघि बैंकलाई ब्रोकर लाइसेन्स दिँदा बजारमा निक्कै ठूलो प्रभाव पर्ने आंकलन गरिएको थियो। तर बैंकका सहायक कम्पनीको रुपमा खुलेका ब्रोकर कम्पनीको कमाइका हिसाबले उनीहरूको अवस्था बिजोग देखिन्छ। किनकि कमाइका हिसाबले पुछारबाट चौथो र पाँचौँ स्थानमा छन्।
स्टक डिलरको रुपमा आएका नागरिक स्टक डिलर र नबिल स्टक डिलरमा कमाइका हिसाबले नागरिक स्टक डिलर निक्कै अघि देखिएको छ। नागरिक स्टक डिलर सबैभन्दा बढी कमाउनेको सूचीमा २४ नम्बरमा छ भने नबिल स्टक डिलर ४४ औँ नम्बरमा देखिएको छ।
दोस्रो बजारमा शेयर खरिद बिक्री गर्नेले ब्रोकर कम्पनीलाई मध्यस्थकर्ता बनाउनु पर्छ। ब्रोकर कम्पनीले शेयर खरिद र बिक्री गर्दा धितोपत्र बोर्डले तोके अनुसारको निश्चित प्रतिशत कमिसन पाउने गर्छन्। ब्रोकर कम्पनीको मध्यस्थकर्ता बिना आम सर्वसाधारण लगानीकर्ताले दोस्रो बजारमा शेयर किन्न र बेच्न पाउँदैनन्।
तल पिडिएफमा हेर्नुहोस् कुन ब्रोकरको कमाइ कति ?