१९५ देशको पक्राउ सूचीमा रहेकी ‘बघिनी’ फिल्मी शैलीमा पक्राउ, बन्यजन्तु तस्करको विश्वभरको च्यानल नै तोडिन सक्ने

Dec 05, 2025 04:34 PM mero lagani



विश्वका १९५ देशको ‘मोस्ट वाण्टेड’को सूचीमा रहेकी यांगचेन लाचुंगपा अन्ततः भारतमा  पक्राउ परेकी छन् ।

विगत १० वर्षदेखि विश्वका लगभग सबै देशहरुले पक्राउको सूचीमा राखेका र इण्टरपोलले सर्वाधिक खोजी गरिरहेका अभियुक्तहरु मध्ये एक याँगचेनको पक्राउले जंगली जनावरको शिकार र व्यापारको एउटा ठूलो जालो तोडिन सक्ने विश्लेषण गरिएको छ ।

उनलाई चीनसंग जोडिएको सिक्किमको सिमावर्ती क्षेत्रमा विहिबार राती फिल्मी शैलीमा पक्राउ गरिएको वाइल्ड लाइफ क्राइम कण्ट्रोल व्युरो (डब्लुडब्लुसिसिबी)का अधिकारीहरुले जानकारी दिएका छन् । उनी माइनस ७ डिग्री तापक्रम भएको स्थानमा बसिरहेको अवस्था प्रहरीले पक्राउ गरेको थियो ।

खासगरी उनले बाघको छाला तस्करीको विश्वमै सबैभन्दा ठूलो संजाल संचालन गर्ने गरेको प्रहरीको भनाइ छ । उनको गिरोहका कैयौं व्यक्तिहरु विभिन्न देशमा पक्राउ परे पनि उनी भने विश्वभरकै प्रहरीलाई छक्याउंदै पक्राउ पर्नबाट बच्दै आएकी थिइन् । ‘उनको नाम सुन्दा बन्यजन्तु संरक्षण अभियानमा लागेकाहरु मात्र होइन, प्रहरीहरुसमेत तर्सन्थे । त्यति भयानक गिरोह संचालन गर्ने याँगचेन पक्राउ पर्नु निकै ठूलो कुरा हो । यसले नेपालमा समेत पशुंपक्षीको तस्करहरुलाई आघात पुग्ने देखिन्छ, त्यसैले यो वन्यजन्तु संरक्षणको लागि निकै ठूलो कुरा हो’ राष्ट्रिय बन्यजन्तु संरक्षण विभागका एक अधिकारीले मेरो लगानीसंग भने ।

 

उनी बघिनीको रुपमा समेत चिनिन्छन् । सुरक्षाकर्मीहरुले उनलाई बघिनी घृणा गर्ने गरे पनि तस्करहरुले भने बघिनी जस्तै हिम्मत भएकी भन्दै श्रद्धा गर्ने अभियानकर्मीहरु बताउंछन् ।

उनको विरुद्ध नेपालसहित विश्वका दर्जनौ देशमा अनेकौं मुद्धा रहेको बताइएको छ । सन् २०१३ मा नेपाल प्रहरीले कथित रूपमा तिब्बतमा ओसारपसार गरिँदै गरेको भन्दै नुवाकोट जिल्लामा पाँचवटा बाघको छाला र सात बोरा हड्डी जफत गरेको थियो । त्यो ‘बघिनी’ कै ग्रुपले गराएको भनिए पनि उनी पक्राउ भने परेकी थिइनन् । सन् २०२२ यता भारतमा मात्र उनको समुहका ३१ जना तस्करहरु पक्राउ परेका छन् । त्यसमध्ये २७ जना हाल जेलमा रहेको बताइएको छ ।