सूचीकृत ८०.३०% कम्पनीको शेयर मूल्य १८० दिनको औसत मूल्य भन्दा कम, ३०% लगानीमा १००% शेयर (मूल्य सूचीसहित)

Dec 10, 2025 06:13 AM merolagani



सुवास निरौला

नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा सूचीकृत ८०.३० प्रतिशत कम्पनीको मूल्य १८० दिनको औसत मूल्य भन्दा तल झरेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार उक्त प्रतिशत कम्पनीको शेयर मूल्य १८० दिनको औसत मूल्य भन्दा तल झरेको हो।

नेप्सेमा सूचीकृत २५९ कम्पनीमा २०८ कम्पनीको शेयर मूल्य १८० दिनको औसत मूल्य भन्दा कम छ। जुन ८०.३० प्रतिशत हो। जम्मा ५१ कम्पनीको मात्रै शेयर मूल्य १८० दिनको औसत मूल्य भन्दा बढी छ। जुन १९.६९ प्रतिशत हो।

दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको मूल्य लगातार घट्दै गएपछि कम्पनीको मूल्य ८-१० दिनको मूल्य भन्दा तल झरेका हुन्। चालु आर्थिक वर्षको साउन १३ यता शेयर बजार घट्दो अवस्थामा छ। गएको चार महिना यता शेयर बजारमा सुधार हुन नसक्दा कम्पनीको मूल्य घट्दै गएका हुन्। गत साउनमा शेयर बजार मापक सूचक तीन हजार २८.७९ अंकसम्म उक्लिएको थियो। त्यसयता भने सूचक उक्त अंक भन्दा माथि जान सकेको छैन। जसले गर्दा कम्पनीको मूल्य १८० दिनको मूल्य भन्दा तल झरेका हुन्।

पछिल्लो समय जेनजी आन्दोलन, सरकार परिवर्तन, निर्वाचन घोषण, निर्वाचन हुने नहुने संशय लगायतले गर्दा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएपछि सूचकको गिरावट थामिन सकेको छैन। बीच बीचमा आउने केही सकारात्मक खबरले बजारलाई माथि लैजान खोजे पनि उक्त प्रयास सफल हुन सकेको छैन। जसले गर्दा कम्पनीहरूको मूल्य दिन प्रतिदिन खस्किँदो क्रममा रहेका कारण शेयर मूल्य १८० दिनको औसत मूल्य भन्दा तल झरेका हुन्।

सबै समूहका कम्पनीको शेयर मूल्य १८० दिनको औसत मूल्य भन्दा तल झरेका छन्। जसमा वाणिज्य बैंक समूहमा सूचीकृत १९ कम्पनीमा १८ कम्पनीको मूल्य तल झरेका छन्। विकास बैंक समूहमा सूचीकृत सबै कम्पनीको मूल्य १८० दिनको औसत मूल्य भन्दा तल छन्। निर्जीवन बिमा समूहमा रहेका कम्पनीहरूको पनि उस्तै अवस्था छ। समूहमा रहेका सबै कम्पनीको मूल्य १८० दिनको औसत मूल्य भन्दा कम छन्। जलविद्युत कम्पनी लघुवित्तका कम्पनीहरूको मूल्य भने केही हदसम्म १८० दिनको मूल्य भन्दा केही माथि छन्।

शेयर बजार घट्दा लगानी बढाउने र बढ्दा नाफा सुरक्षित गर्दा नै शेयर बजारमा पूँजीगत लाभ आर्जन गर्न सकिन्छ। त्यस अर्थमा अहिले दोस्रो बजारमा लगानी बढाउने समय आएको एकथरि लगानीकर्ताको विश्लेषण छ। उनीहरूका अनुसार अहिले ३० प्रतिशत लगानी गरेर शतप्रतिशत शेयर खरिद गर्न सकिन्छ।

शेयर धितोमा ऋण दिने बैंक वित्तीय संस्थाले १८० दिनको औसत मूल्य र बजार मूल्य जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म ऋण दिन्छन्। त्यस अर्थमा १८० दिनको औसत मूल्य भन्दा तल झरेका कम्पनीको शेयर धितोमा ७० प्रतिशत नै ऋण प्राप्त गर्ने अवस्था छ। जसले गर्दा अहिले ३० प्रतिशत लगानी गरेर शतप्रतिशत शेयर किन्न सकिने भनिएको हो। यस अघि भने बैंक वित्तीय संस्थाले ७० प्रतिशत ऋण दिने भने पनि मूल्यका कारण ७० प्रतिशत नै ऋण पाउन सक्ने अवस्था थिएन। तर अहिले लगानीकर्ताले निक्कै राम्रा राम्रा कम्पनीको शेयरमा ७० प्रतिशत नै ऋण पाउने अवस्था छ।

ऋण लिएर किनेको शेयरमा नाफा नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। किनकि बजार थप घटे नोक्सान हुन्छ। तर १८० दिनको औसत मूल्य भन्दा तल झरेका कम्पनीमा गरिएको लगानीको जोखिम भने निक्कै न्यून हुने जानकारहरू बताउँछन्। शेयर बजारमा लगानी गर्ने विषय आफैमा जोखिम हो। त्यसले गर्दा लगानी गर्नु पूर्व कम्पनीको बारेमा राम्रो अध्ययन गरेर मात्रै लगानी गर्नु पर्ने जानकारहरूको सुझाव छ।   

कुन कम्पनीको औसत मूल्य कति ? हेर्नको लागि यहाँ कल्क गर्नुहोस्    




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।