अमेरिकासँग व्यापार युद्ध भएपनि चिनियाँ समानको विश्वव्यापी दबदबा झन बढ्यो, मासिक निर्यात पुग्याे १ खर्ब १२ अर्ब डलर

Dec 10, 2025 02:43 PM mero lagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरु गरेको ‘व्यापार युद्ध’ का कारण धेरै देशको उत्पादन र निर्यातमा नकारात्मक असर परिरहेको बेला  चीनलाई भने त्यसले कुनै प्रभाव पार्न नसकेको पुष्टि भएको छ ।

बरु अमेरिका ‘समान कर’ भन्दै विश्वका धेरै देशसँग ‘व्यापार युद्ध’ शुरु गरिरहेको बेला चीनले भने यही अवधिमा विश्वका धेरै देशसँगको सम्वन्धलाई झन कसिलो बनाउँदै चीनले विश्वव्यापी निर्यात बढाएको छ ।

 

चिनियाँ भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा चीनको कुल निर्यात ५.९ प्रतिशतले वृद्धि भए १११.६८ अर्ब डलर पुगेको छ । जबकी चीनबाट अमेरिकातर्फ हुने निर्यात पनि अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब एक तिहाइले घटेको छ । अमेरिकामा हुने निर्यात २९ प्रतिशत घट्दा पनि समग्रमा चिनियाँ निर्यात ५.९ प्रतिशतले बढ्नुको अर्थ अन्य देशहरुमा चीनको निर्यात विगतका समयहरुभन्दा निकै तीब्र गतिमा बढेको पुष्टि हुने बजार विश्लेषकहरुले बताए ।

विभागको तथ्याँकअनुसार नोभेम्बरमा चीनबाट अमेरिकातर्फ हुने निर्यात २९ प्रतिशतले घटेको छ । तर, यही अवधिमा युरोपेली युनियनमा १४.८ प्रतिशत, अस्ट्रेलियामा ३५.८ प्रतिशत र दक्षिण एसियाली मुलुकमा ८.२ प्रतिशतले निर्यात बढेको छ ।

 

क्यापिटल इकोनोमिक्सका चिनियाँ अर्थशास्त्री सिचुन हुआङका अनुसार अमेरिका र चीनबीच ट्यारिफसम्बन्धी सहमति भए पनि अमेरिकामा चीनको ढुवानीमा खासै सुधार भएको छैन । तर चीनले अमेरिकासँगको निर्यातलाई बेवास्ता गर्दै विश्वव्यापीरुपमा बजार विस्तारमा ध्यान दिएको छ । त्यहीकारण अमेरिकासँगको व्यापार युद्ध भए पनि, नभए पनि विश्व बजारमा चीनको दबदबा आगामी वर्षहरुमा अझ बढ्ने विश्लेषकहरुको भनाइ छ ।