बजार बढ्ने क्रमले निरन्तरता दिनेमा लगानीकर्ता ढुक्क हुन नसक्दा बिक्री चाप बढ्ने परिपाटी बनेको हो । यसले बजारको स्थायित्व दिन नसक्नु र सूचक दीगो हुन नसकेको हो । बजार बढ्न आवश्यक लगानीयाेग्य रकम (तरलता) छ । नीतिगत सहजिकरणले बजारको कन्डिसन अझ मजबुत भएको छ । मात्र स्टार्ट गर्न बाँकी छ । यो आगामी चुनावले निर्धारण गर्ने लगानीकर्ता प्रकाश पन्तले बताए । तीनै पन्तसँग सुधा देवकोटाले गरेको कुराकानीः
बजार साईडवयजमा छ । बजार २५ देखि २६ सयको वरपरमात्र चलेको छ । बजारको यस्तो प्रवृति कहिलेसम्म रहने छ ?
अहिले जेनजीकाे आन्दोलनपछि बजारको कारोबारको प्रबृति तत्काल बढ्न सक्ने वातावरण बनेको छैन । लगानीकर्ताले स्थायित्व खोजेका छन् । त्यसको सम्भावना कस्तो छ । अहिले ट्रेडरहरु मात्रै सक्रिय भएका छन् । ५०-६० अंकको घटबढमा नै ट्रेडरहरु रमाएको देखिएको छ । त्यस माथि भर्खर आईपीओबाट बजारमा प्रवेश गरेका कम्पनी मात्रै चलेको देखिन्छ । दीर्घकालीन लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा नै रहेका छन् । बजार नबढ्ने प्रमुख कारण नै राजनीति हो । सोही कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका हुन् ।
शेयर बजारका लगानीकर्ता राजनीतिबाट डराउनु पर्ने कारणहरु के कस्ता छन ?
अहिले लगानीकर्ताहरु राजनीतिबाट डराउने पहिलो कारण संसद पुनर्स्थापना हुने डर छ । नेपालका प्रमुख राजनीतिक पार्टीले सर्वोच्चमा मुद्दा दर्ता गराएका छन् । अदालको फैसला कस्तो आउने छ । संसद पुनर्स्थापना भयो भने राजनीति अन्योल हुने छ । यो किन पनि हुन्छ भन्दा जुन शक्तिले भदौ २३-२४ को परिणाम गरायो, सो शक्ति सक्रिय हुनेछ । अहिले राजनीतिक परिस्थिती कस्तो बन्नेछ भन्ने अन्योल छ । चुनाव हुने नहुने, तोकिएको मितिमा नभए कहिले हुने ? त्यसैले भन्छु अब बजारको गति चुनावले मात्रै निर्धारण गर्नेछ ।
मैले सधै भन्ने गर्छु बजारको इन्धन भनेको नै तरलता हो । त्यो प्रर्याप्त छ । गाडीलाई सहि दिशा दिने ड्राईभरहरु पनि तयार छन् । मात्र गाडी स्टार्ट भएको छैन् । गाडी स्टार्ट राजनीतिले मात्रै गर्छ । हामीले अन्तराष्ट्रिय रुपमा हेर्दा पनि पूँजी बजारमा राजनीतिको भुमिका धेरै महत्वपूर्ण हुन्छ । बजारको राजनीतिसँग प्रत्यक्ष सम्बन्ध नभएपनि लगानीकर्ताको मनोभावनामा ठूलो प्रभाव पार्छ ।
राजनीतिले राष्ट्रको अर्थतन्त्र निर्धारण छ । शेयर बजार पनि अर्थतन्त्रको अंग हो । शेयर बजार मात्रै बढ्ने र अन्य अर्थतन्त्रका सूचकहरु सुस्ताउने हुँदा सो बढाई दीगो हुँदैन । कोभिडको समयमा अन्य क्षेत्र सुस्ताउँदा पनि बजारले गति निर्धारण गर्नुमा राजनीतिक स्थिरता थियो । सोही कारण एक्लो शेयर बजार बढ्न सम्भव भयो । कोभिडको अवधिको परिस्थितीसँग केही कुरा मिल्दा जुल्दा भएपनि राजनीति फरक छ । यो अस्थिर राजनीति चिरेर बजार बढ्ने तत्काल सम्भावना देखिदैन ।

अस्थिर राजनीतिको वाबजुद दैनिक ३ अर्ब माथिको रकम सहित करोबार भइरहेको छ । अहिलेको बजारमा कस्तो लगानी भएको छ ?
दोस्रो बजारमा अहिले आएको कारोबार रकम सन्तोषजनक छैन । यो तीन-चार अर्बको कारोबारलाई औसत हो भन्न सकिदैन । अहिले दैनिक आएको कारोबार रकमको आंकडालाई विश्लेषण गर्दा बजार कमजोर देखिन्छ । हुन त, बजारमा कति रकम आउँदा बलियो हुन्छ भन्ने भन्न सकिने आधार छैन । मेरो अनुभवको आधारमा भन्नुपर्दा बजारमा करोबार रकम विस्तारै बढ्नु पर्छ । यसले बजारमा लगानी थप हुँदैछ भन्ने संकेत गर्छ । अहिलेको करोबार रकम औसत भन्दा तल्लो तहमा छ । त्यस माथि कारोबार रकम झनझन घट्दो छ । बजारमा भएको सानो तिनो उतार चढाबलाई महत्त्व दिनु जरुरी छैन । लगानीकर्ताको सहभागिताले बजारको गति निर्धारण गर्छ ।
वर्षाैदेखि बजार घट्नुमा नीतिगत बाधा नै कारण बन्यो । सबै बजार अनुकुल भएका छन् । वास्तवमा शेयर बजारका लागि नीतिगत व्यवस्था, पैसा भन्दा राजनीति बलियो भुमिका रहने रैछ, हैन ?
झट्ट हेर्दा बजारलाई पैसा र सहज नीतिले गति दिन्छ । तर अप्रत्यक्ष रुपमा राजनीतिले नै सबै क्षेत्रको नेतृत्व गर्ने हो । यसले राष्ट्रिय अर्थतन्त्रसँग नै सम्बन्ध राखेको हुन्छ । त्यसैले राजनीतिमा सुधार नभएसम्म शेयर बजारलाई मात्रै सफा राख्छु भन्न असम्भव छ । त्यसमा नेप्से सूचकमा ट्रेडरहरु हाबी छन् । सानो तिनो बहानामा पनि ठूलो हलचल गराइदिएका हुन्छन् ।
बजारमा यहि विन्दु तल्लो भनेर निर्धारण गर्न सकिने आधार त छैन । तर लामो समय उस्तै विन्दु वरपर रहदा यसै विन्दुबाट बढ्ला वा यो विन्दु भन्दा तल्लो विन्दुमा जादैन भन्ने अनुमान गर्ने हो । त्यसमा पनि नेप्सेको सूचक मात्रै हेरेर लगानी गर्ने भन्दा पनि कम्पनीको अवस्थालाई हेरेर लगानी गर्ने लगानीकर्ताको लागि बढी अवसर हुन सक्ने देखिन्छ ।
यो संक्रमणकालिन परिस्थितीमा लगानी गर्न कस्ता कम्पनी उपयुक्त हुन्छन ?
अहिलेको बजार दीर्घकालीन लगानी गर्नेहरुका लागि अवसर हुन सक्छ । अहिले लगानी गर्ने योजना भएकाले लाभांश वितरण गर्न बाँकी भएका कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ । सरकार चुनावको तयारीमा छ । राजनीति पार्टीहरु चुनावमा सहभागि हुँदैछन् । केही महिनामा राजनीति स्थिर हुनेछ । अहिलेको लगानीबाट प्राप्त लाभांश र त्यसपछिको मूल्य वृद्धिले लगानीकर्तालाई राम्रो लाभ दिन सक्छ । तर कम्तिमा ६ महिना देखि एक वर्षको रणनीति बनाएर मात्रै लगानी गर्नुपर्छ ।
अहिलेको साईडवयज बजारमा ट्रेडरहरुले पनि कमाउन सक्ने देखिएको छैन । कसरी ट्रेडर हाबी भयो भन्न सकिन्छ ?
बजार सकृय र चलायमान गराउन ट्रेडर आवश्यक छ । दोस्रो बजारमा ट्रेडरहरुको लगानी सम्बन्धी रणनीति र उद्देश्य नै भिन्न हुन्छ । म स्वंयमले ट्रेडिङ गरेको छैन । तर नजिक भएको ट्रेडर साथी भाइले भने अनुसार भन्दा वर्षभरि पर्खेर प्रतिफल कुर्न तयार नभएको देखिन्छ । उनीहरुलाई प्रतिकित्ता ५०-६० रुपैयाँ प्रर्याप्त हुन्छ । यो साईडवयज बजारमा ट्रेडरहरुले थारै पूँजी भएका कम्पनीमा नै लगानी गरेका छन् ।
अहिले आईपीओबाट आएका कम्पनी मात्रै चलेका छन् । आईपीओ शेयरको सुरुवाती चरणमा सबैको पँहुचमा हुँदैन । कसरी आईपीओ शेयर मूल्य बढेकै भरमा कम्पनी चलेको छ भन्ने मिल्ला ?
हो, आईपीओका शेयर मात्रै बढेको आधारमा समग्र बजारको मूल्यांकन गर्न सकिदैन । बजारको वास्तविक अवस्था हेर्नका लागि अरु 'प्यारामिटरहरु’ पनि हेर्न जरुरी हुन्छ । बजारमा भइरहेको कारोबारको आकार, शेयर संख्या, र बिक्री चाप र खरिद चापको अवस्था हेर्नुपर्छ । साथै, कुन मूल्यमा कारोबार भएको छ भन्ने कुरालाई पनि हेर्नुपर्ने हुन्छ ।
बाँकी भिडियोमाः