प्रभु बैंकले हकप्रद शेयर १० प्रतिशतबाट २० प्रतिशत बनायो

Feb 26, 2015 Mero Lagani



 

प्रभु बैंकले हकप्रद शेयरलाई १० प्रतिशतबाट २० प्रतिशत बनाएको छ ।

प्रभु बैंकको संचालक समितिको बैठकले यसअघि साधारणसभाले पारित गरेको हकप्रद शेयरको अनुपात १० प्रतिशतको सट्टा २० प्रतिशत बनाउने निर्णय गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

अर्को बाणिज्य बैंक ग्राण्डलाई किन्ने सम्झौता गरेको प्रभुले चुक्ता पूँजी बृद्दिको निर्णय गरी आफुलाई पाँच अर्ब नाघेको बैंकमा स्थापित गर्न लागेको हो । प्रभुले २० प्रतिशत हकप्रद शेयर दिने यो प्रस्तावलाई आगामी साधारणसभामा लगेर पारित गराउने भएको छ । प्रभुसँग बेचिने सम्झौता गरेको ग्राण्डले आजै विशेष साधारणसभा गरी प्रभुसँग भएको सम्झौता अनुमोदनबारे छलफल गरिरहेको छ ।


हाल तीन अर्ब ३० करोड चुक्ता पूँजी रहेको प्रभु बैंकले तत्कालीन किष्ट बैंकको निस्क्रिय कर्जा उठाएर यस आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेखनीय आर्थिक प्रगति गरेपछि लगानीकर्ताहरु त्यस बैंकको शेयरमा आकर्षित भएका छन् ।

 

प्रभुले दोस्रो त्रैमासमा ५४ करोड खुद नाफा गरेको छ भने ५० करोड रुपैयाँ प्रोभिजन गरेको छ । हालैका दिनहरुमा त्यस बैंकको शेयर मूल्यमा ४५ रुपैयाँ सम्मले बृद्धि भएको छ ।