अर्थ विश्लेषक रायमाझी नेकपाबाट समानुपातिक सांसद उम्मेदवारमा सिफारिस

Dec 28, 2025 01:17 PM merolagani



नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौंले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ, समानुपातिक र राष्ट्रियसभा उम्मेदवारको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको पार्टीको जिल्ला कार्यदलको बैठकले अनेरास्ववियु क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीको नाम समानुपातिक सांसद उम्मेदवारका रूपमा अगाडि बढाउने निर्णय गरेको हो।

विद्यार्थी आन्दोलनदेखि संगठन निर्माणसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका रायमाझीलाई पार्टीभित्र सक्षम, अनुशासित तथा वैचारिक रूपमा सशक्त युवा नेताको रूपमा लिइन्छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनले संगठन विस्तार, युवाको राजनीतिक सशक्तीकरण र वैचारिक प्रशिक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

समानुपातिकतर्फ उनी खस–आर्य समूहबाट सिफारिस भएका हुन्। बैठकले उनीसँगै अन्य नेतालाई पनि प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ।

साथै, रायमाझी आर्थिक विश्लेषक पनि हुन्। आर्थिक तथा वित्तीय क्षेत्रमा उनको अनुभवले पार्टीको नीति र कार्यक्रमलाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।