'छौरा' शब्दको व्याख्यालाई लिएर विवादमा तानिएका महेश बस्नेतले क्षमा मागे

Jan 22, 2026 04:56 PM merolagani



काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाहले प्रयोग गरेको 'छौरा' शब्दको व्याख्या गर्ने क्रममा मधेशी समुदायको भावनामा चोट पुर्‍याएको भन्दै चर्को आलोचना भएपछि नेकपा एमालेका सचिव महेश बस्नेतले क्षमा मागेका छन्।

बालेनले जनकपुरधाममा आयोजित एक सभामा मैथिली भाषामा आफूलाई 'मधेशको छौरा' (छोरा वा केटो) भनी सम्बोधन गरेका थिए। उक्त शब्दलाई नेता बस्नेतले कुकुरको बच्चा (छाउरा) सँग तुलना गर्दै गलत अर्थ लगाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा उनको तीव्र विरोध भएको थियो। चौतर्फी विरोध र कानुनी कारबाहीको माग उठ्न थालेपछि नेता बस्नेतले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा स्पष्ट पार्दै माफी मागेका हुन्।

बस्नेतले फेसबुकमा लेखेका छन्, "बालेन भाइले 'म मधेशको छौरा' भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ।" उनले आफू मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैँ सम्मान गर्ने व्यक्ति भएको दाबी गर्दै आफूले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन्। उनले थप लेखेका छन्, "कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अन्जानमा चोट पुगेको भए म क्षमा याचना गर्दछु।"

बालेन शाहले मैथिली भाषामा 'छौरा' शब्द प्रयोग गर्दा त्यसको अर्थ 'छोरा' वा 'युवा' हुन्थ्यो। तर, बस्नेतले त्यसलाई नेपाली शब्द 'छाउरा' सँग जोडेर व्यङ्ग्य गरेपछि मधेशी आयोगका पूर्वअध्यक्ष विजय दत्त, डा. अभिषेकराज सिंह लगायतले कडा आपत्ति जनाएका थिए।

 

उनीहरूले जिम्मेवार नेताबाट यस्तो अमर्यादित र घृणात्मक अभिव्यक्ति अपेक्षित नहुने भन्दै माफी माग्न दबाब दिएका थिए। धनुषाका एक स्थानीयले बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी दिने तयारी गरेपछि र मधेशमा उनको पुत्ला दहन हुन थालेपछि बस्नेतले आफ्नो बचाउ गर्दै अन्त्यमा माफी मागेका हुन्।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।