चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.५९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३९४.६४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ।
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ६ महिनामा ४.१२ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ९.८७ प्रतिशत र कर्जा तथा सापटी ४.४४ प्रतिशत बढेको छ।
