अन्तर्राष्ट्रिय ब्राण्ड निट्को टायल्सको उत्पादन नेपालमा सुरू

Feb 06, 2026 01:22 PM Merolagani



अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय भारतीय ब्राण्ड निट्कोले नेपालमा टायल्सको उत्पादन तथा विक्री वितरण सुरू गरेको छ।

बिहीबारदेखि राजधानीको भृकुटिमण्डपमा सुरू भएको एघारौं संस्करणको नेपाल विल्डकर्न इन्टरनेशनल एक्स्पोमा निट्कोले नेपालमा उत्पादित टायल्सको औपचारिक रुपमा बिक्री वितरण सुरू गरेको हो ।

नेपाली बजारमा निट्को ब्राण्डको लोकप्रियतालाई ध्यानमा राखेर निट्को नेपाल प्रालिले नेपालमा निट्को ब्राण्डको टायल्सको उत्पादन तथा बिक्री वितरण सुरू गरेको हो। नेपाली उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय टायल्स उपलब्ध गराउने उद्देश्य सहित नेपालमा नै निट्कोले टायल्स उत्पादन सुरू गरेको निट्को नेपालले जनाएको छ ।

एक्स्पोमा निट्कोका नेपाल निर्मित टायल्सको औपचारिक बिक्री वितरणको सुरूवात गर्दै निट्को नेपालका प्रमुख कार्यकारी अधिकृत शुभम अग्रवालले नेपाली उपभोक्तालाई नेपालमा नै गुणस्तरीय टायल्स उत्पादन गरेर बिक्री बितरण गर्दा उपभोक्ताको खरिद मूल्य कम पर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हामीले यसअघि भारतमा निर्मित उत्पादन आयात गरेर विक्री वितरण गर्दै आएका थियौं। अब नेपालमा निर्मित निट्को टायल्स उही गुणस्तरमा सस्तो मूल्यमा नेपाली उपभोक्ताले खरिद गर्न पाउनेछन्।’

यसअघि भारतमा उत्पादित निट्कोका टायल्स तथा मार्बल नेपाली बजारमा लोकप्रिय ब्राण्डका रुपमा स्थापित छ। सन् १९५३ देखि भारतमा निट्को लिमिटेडले उत्पादन सुरू गरेको निट्को ब्राण्डका टायल्स, मार्बल तथा मोजाइक नेपालमा मात्र नभई दक्षिण एशियाली मुलुकका साथै विश्वका ६० मुलुकहरूमा धेरै रुचाइने ब्राण्डमा पर्छ ।

‘नेपालमा निट्कोको लोकप्रियतालाई ध्यानमा राखेर हामीले यहीँ टायल्स उत्पादन सुरू गर्दा उपभोक्तालाई सहज त भएको छ नै, नेपालको उत्पादन उद्योगमा पनि टेवा पुग्नुका साथै समग्र अर्थतन्त्रमा पनि योगदान पुग्ने हाम्रो विश्वास छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत अग्रवालले भने। भारतस्थित निट्को लिमिटेडसँगको जोइन्ट भेञ्चरको रुपमा निट्को नेपाल प्रालिले नेपालमा निट्को टायल्सको उत्पादन गर्न थालेको हो ।

यसका अलावा निट्को नेपालले भारतमा उत्पादित गुणस्तरीय मार्बल तथा मोजाइक पनि सर्वसुलभ मूल्यमा उपलब्ध गराउने जनाएको छ। निट्को नेपालले नेपाली उपभोक्तालाई सहज रुपमा आफ्ना उत्पादन उपलब्ध गराउन देशभर ८० भन्दा बढी संख्याको डिलर सञ्जाल बनाएको छ। यस बाहेक नजिकको हार्डवेयर पसलबाट पनि निट्कोका उत्पादनहरू सहज रुपमा सुपथ मूल्यमा खरिद गर्न सकिने निट्को नेपालले जनाएको छ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, सुन तीन लाखमा झर्यो

Feb 01, 2026 10:44 AM

माघ १८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा एक हजार ५६५ रुपैयाँले घटेको हो ।