शेयर बजारको गतिमा चुनावको ‘शंकाको हिसाब’, यी हुन ‘पकेट क्षेत्र’ मै असुरक्षित नेताहरु

Feb 07, 2026 11:39 AM mero lagani



भनिन्छ, चुनाव र शेयर बजारको बीचमा एउटा कुरा ठ्वाक्कै मिल्छ । त्यो हो—‘शंकाको हिसाब’ । 

अर्थात् जसरी शेयर बजारमा विभिन्न परिस्थितिहरुको विश्लेषणको आधारमा ‘यसपछि यो होला’ भन्दै ‘शंकाको हिसाब’ राखिन्छ र त्यही आधारमा लगानीकर्ताहरुले आफ्नो रणनीति तयार गर्छन् ।

चुनाव पनि त्यही हो । राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न माध्यमबाट मतदाताको हिसाब किताब राख्छन् र आफ्नो हार जितको आँकलन गर्छन् । अर्थात् ‘शंकाको हिसाब’ राख्दै चुनावी रणनीति बनाउँछन् ।

विगतमा जस्तै यसपटक पनि राजनीतिक पार्टीहरु त्यही ‘शंकाको हिसाब’ राख्दै चुनावमा होमिएका छन् । तर, विगतको चुनाव र यो चुनावमा राजनीतिक पार्टी र नेताहरु मात्र होइन, राजनीतिक विश्लेषकहरु पनि ‘शंकाको हिसाब’ मिलाउनसमेत सकिरहेका छैनन् । त्यहीकारण विगतमा अमुक नेता र उम्मेदवारहरुको ‘पकेट क्षेत्र’ मानिएका जिल्ला र निर्वाचन क्षेत्रहरुमा समेत चुनावी परिणामको आँकलन गर्न नसकिने अवस्था सृजना भएको छ ।

जस्तो कि रुकुम, रोल्पालाई माओवादीको ‘पकेट क्षेत्र’ मानिन्थ्यो र त्यहाँ माओवादीले ढुंगा उठाए पनि जित्छ भनिन्थ्यो । तर, अहिले त्यही माओवादीले आफूलाई असुरक्षित महसुस गरिरहेको छ । त्यहीकारण यतिबेला सुरक्षित स्थान खोज्दै रुकुम पूर्वबाट उम्मेदवारी दिएका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले जित्ने कुरामा समेत पार्टी पंक्ति निश्चिन्त हुन सकिरहेको छैन । उनलाई खासगरी प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का सन्दिप पुनले कडा टक्कर दिने अनुमान गरिएको छ । पुन प्रचण्ड नेतृत्वकै माओवादी आन्दोलनमा बाबु आमा गुमाएका शहीद पुत्र हुन् । उनी प्रति सर्वसाधारणको सहानुभूति त छ नै प्रचण्डलाई ‘देखाइदिन’ पनि अन्य पार्टीका मतदाताहरुले समेत मत दिन सक्ने सम्भावना रहेको बताइएको छ । यसले गर्दा आफ्नो नेतृत्वमा भएको ‘जनयुद्ध’को आधारभूमिमै पुग्दासमेत प्रचण्डले सहजरुपमा जित्न सक्नेमा उनी निकटकै नेता कार्यकर्ता पनि विश्वस्त छैनन् । हार जित आफ्नो ठाउँमा छ, तर प्रचण्डले विगतमा कहिल्यै नभोगेको खतरा महसुस गरिरहेको निश्चित छ ।

त्यस्तै माओवादी आन्दोलन शुरु भएदेखि केही महिना अगाडिसम्म रुकुममा ‘जनार्दन शर्माले नचाहेसम्म पात पनि हल्लिदैन’ भन्ने भनाइ थियो । पहिलेको रुकुम एउटै जिल्ला रहदा होस् वा संघीय शासनपछि विभाजित गरेर दुई जिल्ला बनेपछिको अवस्था होस्, रुकुममा पूर्वअर्थमन्त्री शर्मा निर्णायक मानिन्थे । तर, अहिले पनि उनले जित्नको लागि एमालेसँग गठवन्धन गर्न वाध्य भएका छन् । अर्थात् आफ्नो जीत प्रति निश्चिन्त हुन सकेका छैनन् । प्रचण्डले माओवादी नाम त्यागेर एकिकृत समाजवादीलगायतका पार्टीसँग एकीकरण गरेर नेपाली कम्युनिष्ट पार्टी स्थापना गरेपछि शर्मासहितका केही नेताले पार्टी छोडेर प्रलोपा गठन गरेका थिए । नयाँ पार्टी गठन गरेसँगै रुकुममा शर्मा र माओवादीप्रति समर्थन जनाउने मतदाता विभाजित भएको अवस्थामा चुनावी परिणाम के हुन्छ यसै भन्न सकिने अवस्था छैन ।

यता, रोल्पाको अवस्था पनि त्यो भन्दा फरक छैन । रोल्पामा यसअघिका निर्वाचन परिणामअनुसार नेकपा मुख्य राजनीतिक शक्तिका रूपमा देखिएको छ । कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् । २०७४ माओवादी केन्द्रले एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेको थियो । दुवै पटक वर्षमान पुन विजयी भएका थिए ।

२०७९ मा कांग्रेससँगको चुनावी तालमेलमा पुन ४१ हजार ७ सय १४ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत ल्याए । २०७४ मा एमालेसँगको गठबन्धनमा पुनले ४२ हजार ८४ मत पाएर चुनाव जितेका थिए भने प्रतिस्पर्धी कांग्रेसका अम्मरसिंह पुनले २० हजार ३ सय ३७ मत प्राप्त गरेका थिए ।

२०६४ को संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट तत्कालीन माओवादीकी जयपुरी घर्ती र रोल्पा–२ बाट अध्यक्ष दाहाल भारी मतले विजयी भएका थिए । दाहालले रोल्पा त्यागेपछि भएको उपनिर्वाचनमा सन्तोष बुढा निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट माओवादीका कृष्णबहादुर महरा र रोल्पा–२ बाट पुन कि पत्नी ओनसरी विजयी भएका थिए । २०७३ मा पुनःसंरचनापछि रोल्पा एक मात्र निर्वाचन क्षेत्र बनेको थियो । त्यसपछि पुन निर्वाचित हुँदै आएका हुन् ।

नेता पुन यस पटक पनि रोल्पामा नेकपाबाट उम्मेदवार छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा माओवादीबाट पोलिट्ब्युरो सदस्य चुडामणि वली ‘आदर्श’, एमालेले गोकुल घर्ती, कांग्रेसले अर्थशास्त्री डा. सुदनकुमार वली, रास्वपाले बलराम थापालाई उम्मेदवार बनाएको छ ।

सशस्त्र द्वन्द्वको मुख्य आधार क्षेत्र यही भएकाले तत्कालीन माओवादीले गढका रूपमा रोल्पालाई मान्दै आएको छ । २०६४ को शान्ति प्रक्रियापछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पार्टी अध्यक्ष दाहाल यसै क्षेत्रबाट जितेर प्रधानमन्त्री पनि बने । उनले यहाँको विकास निर्माणलाई मुख्य प्राथमिकता दिने घोषणा समेत गरेका थिए । तर घोषणा गरेअनुसारको विकास हुन नसकेको स्थानीयको गुनासो गर्दै आइरहेका छन् । त्यसैकारण पनि अहिले पुनको लागि रोल्पा ढुक्क हुने अवस्था नरहेको बताइन्छ ।

विप्लव नेतृत्वको माओवादीबाट  वली ‘आदर्श’को उम्मेदवारीले माओवादी खेमाको भोट बाँडिने चिन्तामा नेता पुन रहेको र विगतमा जस्तो ढुक्क अवस्था नरहेको पार्टीका नेता कार्यकर्ताहरु बताउँछन् ।

देउवाको किल्लामा कांग्रेसलाई खतराको ‘घण्टी’

सुदूर पश्चिमको पहाडी जिल्ला डडेल्धुरा नेपाली कांग्रेसको मात्र होइन, व्यक्तिगतरुपमा शेरबहादुर देउवाको मानिन्थ्यो । तर, यसपटक फरक दृश्य छ । ३४ वर्षदेखि चुनाव लड्दै आएका र अपराजित देउवा चुनावी मैदानमै छैनन् । पार्टी भित्रको विवादका बीच विशेष महाधिवेशनबाट सभापतिबाट वर्खास्त गरिएका देउवालाई नयाँ नेतृत्वले टिकटसमेत दिएन । उनको ठाउँमा उनी पक्षिय नेता नैनसिंह महरले टिकट पाएका छन् ।

०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा विजयी देउवा ५ पटक प्रधानमन्त्री बने । चुनावमा देउवा डडेल्धुरामा कांग्रेसबाट सदाबहार उम्मेदवार रहे र जिते । तर, अहिले उनले प्रतिस्पर्धा नगरेको चुनावमा कांग्रेसले जितलाई निरन्तरता दिन सक्ला कि नसक्ला आशंका गर्न थालिएको छ ।

स्मरण रहोस् ४८ यताका चुनावमा डडेल्धुरामा देउवा निरन्तर विजयी भएपनि मतान्तर घट्दो छ।

देउवाले ०४८ मा एमालेका गोविन्दबहादुर कलौनी, ०५१ को मध्यावधि चुनावमा नेपाल जनवादी मोर्चाका खेमराज भट्ट, ०५६ मा एमालेका बागेश्वरीदत्त चटौत, ०६४, ०७० र ०७४ मा माओवादीका खगराज भट्ट र ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हराएका थिए। ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार सागर ढकाललाइ देउवाले १२ हजार ४९२ मतान्तरले हराएका थिए । ढकाल अहिले रास्वपाबाट गुल्मी क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् ।

यस पटक कांग्रेसका महरसहित डडेल्धुरामा १३ जना प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेकपाबाट मानसिंह माल, रास्वपाबाट डा. ताराप्रसाद जोशी र राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर तथा गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीले स्वतन्त्र उम्मेदवारी दिएका छ्न । देउवा किल्ला डडेल्धुरामा यसपटक उनी मैदानमा नउत्रिएपछि विपक्षी उम्मेदवारहरु वर्चश्व तोडेर किल्ला जमाउने दाउमा छन् ।

‘हट स्पट’ बन्न नसकेको चितवन २, रास्वपाको किल्ला रहला ?

२०७९ को आमचुनाव र २०८० को उपचुनावमा चितवन २ रास्वपा सभापति रवि लामिछानेले भारी मतान्तरले चुनाव जितेको क्षेत्र हो,चितवन २ । त्यहीकारण उक्त क्षेत्रलाई रास्वपाका नेता कार्यकर्ताहरु आफ्नो किल्ला भएको दावी गर्ने गर्छन् ।

पहिले ४९ हजार मत ल्याएर चुनाव जितेका रविले उपचुनावमा कीर्तिमान ५४ हजार मत पाएर पुनः चुनाव जिते । तर दुई दुईपटक चुनाव जितेर सांसद बने पनि रविले पूरा कार्यकाल बिताउन पाएनन् र तीन वर्षमै तेस्रो पटक चुनावको सामना गर्दैछन् ।

पहिले जिते पनि नेपाली र अमेरिकाको दोहोरो नागरिकताका कारण सर्वाेच्च अदालतले रविको सांसद पद नै खारेज गरिदियो । नेपाली नागरिकता लिएलगत्तै रविले उम्मेदवारी दिए । चुनावमा उनले कांग्रेसका जितनारायण श्रेष्ठलाई पराजित गरे । दुई दुईपटक गृहमन्त्रीसहित उपप्रधानमन्त्री बने । तर दुई वर्ष पुग्दा नपुग्दै सहकारी ठगी अभियोगमा उनको सांसद पद नै निलम्बनमा पर्यो । भदौको जेनजी आन्दोलनले प्रतिनिधिसभा नै विघटन भयो । यिनै कारण अहिले चितवनमा खासै चुनावी माहोल बन्न सकेको छैन ।

अहिले रवि चुनाव प्रचारको लागि चितवन पुगेका छन् । तर देशका झन्डै एक दर्जन चुनावी क्षेत्र चर्चामा आउँदा चितवन २ को खासै चर्चा छैन । सहकारी प्रकरण, आफैले पार्टीमा भित्रयाएका बालेनको ‘क्रेज’ को कारण लामिछाने ओझेलमा मात्रै परेका छैनन्, उनलाई चुनाव जित्न सहज नभएको विश्लेषण गर्न थालिएको छ ।

यो क्षेत्रबाट कांग्रेसले समाजसेवी मीना खरेल, एमालेका अस्मिन घिमिरे र नेकपाका प्रताप गुरुङ लगायतका उम्मेद्वार प्रतिस्पर्धामा छन् । खास गरि खरेल र घिमिरेले रविलाई कडा चुनौती दिन सक्ने र रास्वपाको किल्ला भत्काउन सक्ने चर्चा भैरहेको छ । वास्तविकता के होला ? त्यो त मतगणना पछि थाहा हुनेछ ।

झापा–५, ओलीको गढमा बालेनको धक्का

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको ५ नम्बर क्षेत्र बनेको छ । र, यो नेकपा एमाले खासगरी उक्त पार्टीका अध्यक्ष केपी ओलीको गढकोरुपमा चिनिन्छ । तर, त्यही गढमा अहिले रास्वपाबाट उम्मेदवारी दिएका काठमाडाैंका महानगरपालिका पूर्व प्रमुख बालेन साहले धक्का दिएका छन् र परिणाम ‘के होला, के होला’ भन्ने अवस्था सृजना भएको छ ।

यस क्षेत्रमा २०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेर जितेका थिए । त्यस्तै नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । त्यस्तै रास्वपाका सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत प्राप्त गरेका थिए ।

त्यस्तै समानुपातिकतर्फ सबै भन्दा बढी यस क्षेत्रबाट नेकपा एमालेले ३५ हजार ८७२ मत प्राप्त गरेको थियो । त्यस्तै रास्वपाले १८ हजार २०५, नेपाली कांग्रेसले १६ हजार ८५९, माओवादी केन्द्रले ८ हजार ६८० र राप्रपाले ७ हजार ३७० मत प्राप्त गरेका थिए ।

तर, यसपटक चलिरहेको ‘बालेन लहर’को कारण ओलीले समेत खतरा महसुस गरेको देखिएको छ । चुनावी परिणाम जे भए पनि धेरै ठूलो अन्तरमा हारजित नहुने अनुमान कतिपय राजनीतिक विश्लेषकहरुले गरेका छन् । यो क्षेत्रबाट ओली, बालेनसहित नेपाली कांग्रेसबाट मन्दरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मी प्रसाद संग्रौला, श्रम संस्कृति पार्टीबाट समिर तामाङ गरि २४ जनाको उम्मेदवारी परेको छ । तर, मुख्य प्रतिस्पर्धा भने ओली र बालेनकै हुने अनुमान गरिएको छ ।




सुन र चाँदीको मूल्यमा दैनिक भारि गिरावट

Feb 02, 2026 11:00 AM

माघ १९ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला १३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।