२० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् सामाजिक सुरक्षा भत्ता

Feb 08, 2026 02:24 PM Merolagani



सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट २० लाख ९ हजार १ सय ६९ जेष्ठ नागरिक लाभान्वित भइरहेका छन् । आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले यस्तो जानकारी दिइन् ।

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफलमा बोल्दै उनले सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिइन् । उनकाअनुसार हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् ।

साथै ६० वर्ष पूरा गरेका १ लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, १ लाख ७१ हजार एकल महिला तथा तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षाको दायरामा रहेका छन् । सबै लाभग्राही ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको अर्यालले जानकारी गराइन् । सचिव अर्यालले सबै सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकको लागि सुरक्षित गरिएको तथा यात्रुवाहक भाडादरमा न्युनतम ५० प्रतिशत छुट उपलब्ध गराइएको बताइन् ।

स्वास्थ्य सेवातर्फ सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि बहिरंग र अन्तरंग सेवामा निश्चित सेवा सहितको सैया वार्डको व्यवस्था गरिएको उनको भनाइ छ । उनले उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था लागू गरिएको उल्लेख गर्दै हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट यस्तो सेवा प्रवाह भइरहेको जानकारी दिइन्।

उनले भनिन्, ‘ज्येष्ठ नागरिकलाई लक्षित गरी मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । अहिले सामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्चालन गरिएका छन् । हालसम्म सामाजिक सुरक्षा प्राप्त गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या १६ लाख ६० हजार रहेको छ । त्यसैगरी ६० वर्ष पूरा भएका दलित ज्येष्ठ नागरिकको संख्या १ लाख ६१ हजार, ६० वर्ष पूरा भएको एकल महिला १ लाख ७१ हजार र क्षेत्र तोकिएर ६० वर्ष पुरा भएका जेष्ठ नागरिक १७ हजार १ सय ६९ छ । यो गत आर्थिक वर्षको २०८१/८२ को तथ्यांक हो । उहाँहरुले मासिक ४ हजारका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आइरहनुभएको छ । त्यसैगरी यातायात सेवामा समेत छुट सुविधा प्रदान गरिएको छ । सबै सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि कम्तिमा दुई वटा सिट सुरक्षित गरिएको र यात्रुवाहक भाडादरमा कम्तिमा ५० प्रतिशत छुट गरिएको छ । स्वास्थ्य सेवा तथा औषधि उपचारको क्षेत्रमा ज्येष्ठ नागरिकहरुको लागि सरकारी, सामूदायिक तथा निजी स्वास्थ्य संस्थाहरुमा बहिरंग तथा अन्तरंग सेवामा निश्चित सेवासहितको सैया वार्डको व्यवस्था गरी स्वास्थ्य सेवा लिनसक्ने व्यवस्था गरिएको छ । यद्यपि ज्येष्ठ नागरिकको सेवा प्रवाहको प्रभावकारिताको सम्बन्धमा प्रश्न रहेको छ । यसलाई पूर्ण प्रभावकारी बनाउन सकिएको छैन । स्वास्थ्य संस्थाले तोकेको संख्यामा जेष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । ७७ जिल्लाका ९४ वटा अस्पतालहरुमा हाल यस्तो सेवा उपलब्ध हुनसक्छ । ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकहरुको लागि १ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइएको छ ।’

७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइए पनि सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठिरहेको सचिव अर्यालको स्वीकारोक्ति छ ।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।