चलचित्र ‘आ बाट आमा’ काे आक्रामक कमाइ, अन्य चलचित्रकाे कति ?

Feb 09, 2026 03:03 PM Merolagani



चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शनरत चलचित्रहरूको बक्स अफिस कारोबारसम्बन्धी आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ।

बोर्डका अनुसार माघ १८ गतेदेखि २४ गते मध्यरातसम्मको अवधिमा नेपालभर प्रदर्शनमा रहेका चार चलचित्र आ बाट आमा, गोबर गणेश, झरी पछिको इन्द्रेणी र ब्ल्यू लाइटको कारोबार विवरण सार्वजनिक गरिएको हो।

सार्वजनिक तथ्याङ्कअनुसार आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भई माघ १६ गते शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’ ले आक्रामक कमाइ गर्दै अन्य सबै प्रतिस्पर्धी चलचित्रलाई पछि पारेको छ। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उत्कृष्ट साथ पाएको यो चलचित्रले बक्स अफिसमा मजबुत उपस्थिति देखाएको छ।

चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ को आधिकारिक विवरणअनुसार आ बाट आमा ले हालसम्म १ लाख ७६ हजार ५ सय ५२ टिकट बिक्री गर्दै ४ करोड ८० लाख ९० हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको छ। यो रकम हाल प्रदर्शनरत अन्य सबै चलचित्रको तुलनामा सर्वाधिक हो।

कमाइको सूचीमा दोस्रो स्थानमा रहेको चलचित्र गोबर गणेशले ४९ हजार ५ सय ३१ टिकट बिक्री गर्दै १ करोड ४० लाख २७ हजार ७ सय ६६ रुपैयाँ संकलन गरेको छ। त्यस्तै, तेस्रो स्थानमा रहेको चलचित्र झरी पछिको इन्द्रेणी ले हालसम्म ४० हजार ८ सय ९९ टिकट बिक्री गर्दै १ करोड २९ लाख ५५ हजार १ सय १९ रुपैयाँ आम्दानी गरेको बोर्डले जनाएको छ।

माघ १६ गते आ बाट आमा सँगै प्रदर्शनमा आएको चलचित्र ब्ल्यू लाइटले हालसम्म ८ सय ३२ टिकट बिक्री गर्दै ३ लाख १९ हजार ५ सय ९५ रुपैयाँ आम्दानी गर्दै कमाइको सूचीको अन्तिम स्थानमा रहेको छ।

यसरी हालको बक्स अफिस प्रतिस्पर्धामा आ बाट आमाले स्पष्ट अग्रता कायम राख्दा बाँकी चलचित्रहरू दर्शक तान्ने होडमा संघर्षरत देखिएका छन्।




सुन र चाँदीकाे मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Feb 06, 2026 11:04 AM

माघ २३ गते, शुक्रबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेकाे छ।