गम्भीर चोटसँग जुध्दै सावित्रा भण्डारी ‘साम्बा’, उपचारका लागि सहयोग अपिल

Feb 23, 2026 04:33 PM Merolagani



नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला गम्भीर घुँडाको चोटका कारण मैदानबाहिर रहेकी छन्।

पछिल्ला सात हप्तादेखि उपचार प्रक्रियामा रहेकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो अवस्थाबारे जानकारी दिँदै उपचारका लागि सहयोगको अपिल गरेकी छन्।

उनका अनुसार यसअघि घुँडाको एसीएलमा गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा पुनः गम्भीर चोट लागेको छ। चिकित्सकले जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्। अघिल्लो पटक एन्फाको पहलमा उपचार व्यवस्थापन सहज भएको स्मरण गर्दै उनले यसपटक भने अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छन्।

भण्डारीका अनुसार क्लबमार्फत शल्यक्रियाको मिति तय भए पनि पछि प्रक्रिया रोकिएको र एन्फाबाट प्रशासनिक सहयोग सम्भव नभएको जानकारी दिइएको छ। नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने भनिए पनि समग्र उपचार व्यवस्थापन आफैंले गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेकी छन्। यसले शल्यक्रियाको प्रक्रिया झन्डै दुई महिना पछाडि धकेलिएको उनको भनाइ छ।

हाल उनी न्युजिल्यान्डमा क्लब फुटबल खेलिरहेकी छन्। क्लबले स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जनाए पनि उनले अघिल्लो पटक उच्चस्तरीय उपचार भएको कतारस्थित अस्पेटार अस्पतालमै पुनः शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबको बीमाबाट प्राप्त हुने रकम शल्यक्रिया र ७–८ महिनाको रिह्याबका लागि अपुग हुने देखिएपछि उनले समर्थकमाझ सहयोगको आह्वान गरेकी हुन्। प्रारम्भिक अनुमानअनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने बताइएको छ।

 

आफ्नो करियरमा पटक–पटक कठिनाइ पार गर्दै अघि बढेकी साम्बाले यसपटकको लडाइँ सबैभन्दा कठिन भएको बताएकी छन्। देशका लागि सधैं शतप्रतिशत योगदान दिएको उल्लेख गर्दै उनले पुनः नेपालको जर्सी लगाएर मैदान फर्कने दृढ अठोट व्यक्त गरेकी छन्।

“थाकेको हो, हारेको छैन,” भन्दै उनले समर्थकलाई साथ दिन आग्रह गरेकी छन्।

नेपाल महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समर्थक तथा शुभेच्छुकहरूबाट सहयोग जुट्ने अपेक्षा गरिएको छ।




सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Feb 18, 2026 10:52 AM

फागुन ६ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको हो ।