कार्यक्रममा सिडीएससीकी प्रबन्ध सञ्चालक प्रबिन पन्दाकले प्रस्तावित 'आइजिन निर्देशिका' का सम्बन्धमा स्पष्टीकरण दिँदै धितोपत्र बोर्ड (सेवोन)को ढिलासुस्ती र आफूमाथि परेको चौतर्फी दबाबप्रति कडा रोष प्रकट गरिन्। ललितपुरको होटेल हिमालयमा आयोजित कार्यक्रममा बोल्दै पन्दाकले निर्देशिका सार्वजनिक नगर्न र कार्यक्रम नै रद्द गर्न ठूलो चलखेल भएको बताइन्। उनले भनिन्, "यो निर्देशिका तपाईँहरू समक्ष नदेखाइयोस् भनेर, निर्देशिकाबारे भ्रम छर्नका लागि, विभिन्न अफवाहहरू फैलाउनका लागि सडकको दबाब मैले भोगेको थिएँ। यो कार्यक्रम पनि हिजोसम्म क्यान्सिल गर भन्ने सम्मको दबाबमा म यहाँ आज उभिएको छु। यो कार्यक्रम निकै ठूलो ऐतिहासिक जस्तो लाग्छ। उहाँहरूले यसको इम्प्याक्ट मात्रै महसुस गर्नुभयो होला र यो नगरोस् भन्ने चाहना थियो।" पन्दाकले यो लडाइँ आफ्नो व्यक्तिगत नभएर सर्वसाधारण लगानीकर्ता र संस्थापक शेयरधनीहरूको 'इन्ट्रेस्ट' बीचको लडाइँ भएको बताउँदै आफू केवल कानुन र तथ्यका आधारमा उभिएको बताइन्।

पन्दाकले सिडीएससीको सञ्चालक समितिले सर्वसम्मतिले पारित गरेर २०८२ साल साउन ११ गते नै स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइसकेको 'धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२' हालसम्म स्वीकृत नभएकोमा असन्तुष्टि जनाइन्। उनले भनिन्, 'आज ६-७ महिनासम्म पनि त्यो निर्देशिका बोर्डकै सञ्चालक समिति वा कानुन उपसमितिमा विचाराधीन अवस्थामा छ। एउटा अपरेटिङ लेभलको कामलाई व्यवस्थित गर्न बनाइएको निर्देशिका यति लामो समय रोकिनुले द्वन्द्व बढाएको छ।" उनले केही व्यक्तिहरूले 'डबल आइजिनलाई तुरुन्तै 'सिङ्गल' बनाइदिन्छु भन्दै बजारमा अवसर खोज्दै हिँडेको सुन्नु दुःखद भएको बताउँदै नियामक निकायको निष्पक्षतामाथि प्रश्न समेत उठाइन्।
संस्थापक र सर्वसाधारण शेयरको मूल्यमा रहेको आकाश-पातालको अन्तरलाई केही समूहले अनुचित लाभको माध्यम बनाएको पन्दाकले तथ्याङ्कसहित व्याख्या गरिन्। उनले भनिन्, "करिब ४१ करोडको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा 'सुटुक्क' मिसाउँदा ५ अर्ब ४४ करोडको मूल्यमा छिनभरमै परिणत हुँदो रहेछ। हामीले निर्देशिकामा कहिल्यै नमिसाउनु भनेका छैनौँ, मात्र विधिपूर्वक मिसाउनु, सुटुक्क नमिसाउनु भनेका हौँ।' सिडीएससीको प्रणालीमा गलत तथ्याङ्क प्रविष्टि गरेर वित्तीय अपराध गर्न खोज्ने कडीलाई यो निर्देशिकाले तोड्ने दाबी उनले गरिन्।
पन्दाकले आफ्नो १८ वर्ष लामो पुँजी बजारको अनुभव सुनाउँदै प्रतिष्ठित व्यवसायीहरूले कहिल्यै पनि यस्तो दबाब नदिएको तर 'इजी मनी' कमाउन खोज्ने र आफू अनुकूलका पदाधिकारी नियुक्ति गराउन खोज्नेहरूले मात्रै भाँजो हालेको आरोप लगाइन्। उनले निर्देशिकामा शेयर कन्भर्जनका लागि स्पष्ट र पारदर्शी प्रक्रिया राखिएको बताउँदै प्रश्न गरिन्, "साधारण सभाबाट पारित गर्ने, राष्ट्रिय स्तरको सूचना प्रकाशन गर्ने र नियामकलाई जानकारी दिने जस्ता सामान्य पारदर्शिता अपनाउन किन आनाकानी गरिँदै छ ?" उनले यो निर्देशिकाले कसैको हक हनन नगर्ने बरु बजारमा सुशासन कायम गर्ने अडान राखिन्। कार्यक्रमको अन्त्यमा पन्दाकले जस्तोसुकै दबाब र अफवाह फैलिए पनि आफू पारदर्शिता र लगानीकर्ताको हकहितका लागि नझुक्ने बताइन्। उनले निर्देशिकालाई पूँजी बजारको विश्वसनीयता र फेयरनेस जोगाउने महत्त्वपूर्ण दस्ताबेजको रूपमा व्याख्या गरिन्।
यद्यपि, 'डबल आइजिन'को यो विषयमा अहिले बजारमा तीव्र पक्ष र विपक्षमा बहस चलिरहेको छ। केहीले यसलाई पारदर्शिताको लागि अनिवार्य कदम भनिरहेका छन् भने केहीले यसले बजारको तरलता र लगानीकर्ताको स्वतन्त्रतामा अङ्कुश लगाउने तर्क गरिरहेका छन्। सिडीएससीले आफ्नो अडान राख्दै गर्दा यो विवादको अन्तिम छिनोफानो कसरी हुन्छ र बोर्डले यसलाई कुन रूपमा स्वीकृति दिन्छ भन्ने विषयको निर्क्योल भने आउने दिनले नै बताउनेछ।