रास्वपाको सरकार ! के अब शेयर बजारको 'गोल्डेन डेज' सुरु होला ?  बाचा पत्रमा यस्तो छ पूँजी बजार सुधारको खाका

Mar 06, 2026 06:39 PM merolagani



सुवास निरौला

प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणाम र विभिन्न सञ्चार माध्यमका एक्जिट पोलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा अप्रत्याशित र उत्साहजनक नतिजा देखाएका छन्।

कतिपय प्रारम्भिक अनुमानहरूले रास्वपाले बहुमत समेत ल्याउन सक्ने सम्भावना औँल्याएका छन्। यदि यी अनुमानहरू सत्य साबित भएमा रास्वपाको नेतृत्वमा सरकार बन्ने निश्चित छ। यस अघि दलहरूले पूँजी बजारको विषयमा धेरै बाचा गर्ने गरे पनि उनीहरू सत्तामा पुगेपछि भने ती बाचा चटक्कै बिर्सन्थे। यस पटक आफ्नो बाचा पत्रमा पूँजी बजारको विषयमा धेरै शब्द खर्चिएका कारण पनि यस पटकको निर्वाचनमा पूँजी बजारका ७२ लाख भन्दा बढी लगानीकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिए। उनीहरूले मत दिँदै गर्दा पार्टीले गरेको बाचा पुरा गर्छ भन्ने अपेक्षा लगानीकर्ताको छ।  नेपालको पूँजी बजार (शेयर बजार)ले एक ऐतिहासिक रूपान्तरणको अपेक्षा गरेको छ। 

अन्य परम्परागत राजनीतिक दलहरूको तुलनामा रास्वपाले आफ्नो 'वाचा पत्र २०७९' मा पूँजी बजारको विकास र सुधारका लागि निकै विस्तृत र प्राविधिक रूपमा स्पष्ट योजनाहरू अघि सारेको थियो। त्यस कारण पार्टीले आफ्नो बाचा पत्रमा पूँजी बजारको विषयमा के के भनेको थियो भनेर सरकार बन्नु भन्दा पूर्व नै उसका बाचा दोहोर्‍याउने प्रयास गरेका छौं। सरकार गठनको सम्भावना नजिकिँदै गर्दा, रास्वपाले पूँजी बजारका सम्बन्धमा गरेका मुख्य बाचाहरूलाई  विस्तृत रूपमा प्रस्तुत गरेका छौं। 

१. नियामक निकाय (सेबोन) को पुनर्संरचना र स्वायत्तता
रास्वपाले धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्ड (सेवोन)को संरचना पुनर्संरचना गर्ने बाचा गरेको छ। बोर्डमा पर्याप्त जनशक्ति परिचालन गर्ने, कार्यक्षमता अभिवृद्धि गर्ने र यसलाई पूर्ण रूपमा स्वायत्त निकायका रूपमा विकास गर्ने उसको योजना छ।

२. नेप्से र सिडिएससीको निजीकरण र आधुनिकीकरण
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि) को पुनर्संरचना गरी निजी क्षेत्रको शेयर सहभागिता बढाउने प्रतिबद्धता रास्वपाले गरेको छ। यसका साथै निक्षेप सेवालाई प्रतिस्पर्धात्मक बनाउन थप 'डिपोजिटरी सेवा' को विकास गरिने बाचा पत्रमा उल्लेख छ।

३. नयाँ वित्तीय उपकरणहरू: इन्ट्राडे र डेरिभेटिभ्स
बजारमा तरलता बढाउन स्पष्ट कानुनी संरचनासहित इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ , फ्युचर्स, र अप्सन  जस्ता डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने रास्वपाको योजना छ। यसले नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखेको छ।

४. इनसाइडर ट्रेडिङविरुद्ध शून्य सहनशीलता
बजारमा हुने अवैध भित्री कारोबार (इनसाइडर ट्रेडिङ्ग) र बजार हेरफेर (मार्केट म्यनुपुलेसन) विरुद्ध 'शून्य सहनशीलता' को नीति लागू गर्ने बाचा गरिएको छ। यसले सर्वसाधारण लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने देखिन्छ।

५. आईपीओ (आईपीओ) प्रणालीमा आमूल सुधार
आईपीओ निष्कासन र बाँडफाँड प्रणालीलाई न्यायोचित बनाउन बुक बिल्डिङ विधिमा सुधार गर्ने र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाइनेछ।

६. संस्थागत लगानीकर्ता र कोषहरूको परिचालन
बजारमा स्थिरता ल्याउन पेन्सन फन्ड, बिमा कम्पनी र म्युचुअल फन्डहरूलाई सक्रिय लगानी गर्न प्रोत्साहन र सहजीकरण गर्ने नीति रास्वपाले लिएको छ। पूँजी बजारका नीतिहरूलाई स्थिर र लगानीमैत्री बनाउने उसको मुख्य एजेन्डा हो।

७. ऋण र बन्ड बजारको विकास
सरकारी, स्थानीय तह र निजी क्षेत्रका बन्डहरूलाई सक्रिय बनाउँदै पूर्वाधार विकासका लागि 'इन्फ्रास्ट्रक्चर बन्ड' र दीर्घकालीन परियोजनाका लागि पुँजी जुटाउने वैकल्पिक साधनहरूको विकास गरिने बाचा पत्रमा उल्लेख छ।

८. गैर-आवासीय नेपाली (एनआरएन) लाई बजारमा प्रवेश
वर्षौँदेखि चर्चामा सीमित रहेको गैर-आवासीय नेपालीहरूलाई नेप्सेमा कारोबार गर्न दिने विषयलाई रास्वपाले प्राथमिकतामा राखेको छ। यसका लागि सहज कानुनी नीति तर्जुमा गरिनेछ।

९. वस्तु विनिमय बजारको सुरुवात
वस्तु विनिमय बजारलाई यथाशीघ्र सञ्चालनमा ल्याउन 'पब्लिक वेयरहाउजिङ ऐन' जारी गर्ने र जोखिम व्यवस्थापनका विभिन्न उपकरणहरू विकास गरी पुँजी बजारलाई विविधीकृत गर्ने योजना रहेको छ।

१०. प्रविधिमैत्री र देशव्यापी पहुँच

पुँजी बजारलाई काठमाडौँ केन्द्रित मात्र नबनाई डिजिटल माध्यमबाट देशभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पुर्‍याउने बाचा गरिएको छ। सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा पारदर्शिता ल्याउन 'स्वचालित रिपोर्टिङ प्रणाली' अनिवार्य गर्ने र साना लगानीकर्ताका लागि वित्तीय साक्षरता अभियान चलाउने रास्वपाको सङ्कल्प छ।

निष्कर्ष:

रास्वपाले आफ्नो चुनावी दस्ताबेजमा पुँजी बजारलाई 'देशको अर्थतन्त्रको वास्तविक ऐना' का रूपमा व्याख्या गरेको छ। यदि रास्वपाले सरकारको नेतृत्व गर्ने अवसर पाएमा र यी प्रतिबद्धताहरू अक्षरशः पालना गरेमा, नेपालको शेयर बजारले एउटा सुरक्षित, पारदर्शी र आधुनिक दिशा लिने निश्चित छ। अहिलेको मतगणनाको रुझानले लगानीकर्ताहरूमा नयाँ उत्साह थपेको छ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।