अघिल्ला दुई कारोबार दिन उच्च अंक बढेको नेप्से, यस दिन इन्ट्रा डे करेक्सन हुँदै अन्तिम समयमा बढेको हो। सोमबार नेप्से परिसूचक ५.०१ अंक बढेर २९३६.५६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २३ अर्ब ५९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको १ लाख ५६ हजार ३८१ पटकको कारोबारमा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रुपैयाँबराबरको ३ करोड ८० लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६७ करोड २३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको साढे ६० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम ५७ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।