निगमले पुनः चैत १२ गतेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको प्रतिलिटर मूल्यमा १५/१५ रुपैयाँ बढाएको छ । दोस्रो पटक इन्धनको मूल्य बढ्दा अहिले बजारमा पेट्रोल र डिजेल प्रतिलिटरको मूल्य क्रमशः १८७ र १६७ रुपैयाँ कायम भएको छ । एकै सातामा दुई पटक मूल्यवृद्धि हुँदा प्रतिलिटर इन्धनमा आम उपभोक्तालाई भने २५ देखि ३० रुपैयाँको अतिरिक्त भार थपिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबैजसो क्षेत्रमा २० प्रतिशत महंगी बढाएको विज्ञहरु बताउँछन् । तथापी नेपाल राष्ट्र बैंकलगायतको प्रतिवेदनले पनि महंगी र मुद्रास्फीति बढेको तथ्य सार्वजनिक गरेका छन् ।
सार्वजनिक सवारीको भाडा बढाउनु पर्ने दबाबमा सरकार
पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि यातायात व्यवसायीहरुले तत्काल वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने भन्दै सरकारसँग माग गर्दै आएका छन् । उनीहरुले पहिलो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि भाडा समायोजन गर्न माग गर्दै यातायात व्यवस्था विभागलाई पत्राचार गरेका थिए ।
यातायात व्यवसायीको दबाबमा विभागले भाडा समायोजन दर सिफारीस गरेर मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले भने उक्त सिफारीसउपर कुनै निर्णय नगरेको निर्माण व्यवसायीको गुनासो छ ।
दैनिक लाखौं रुपमा घाटा खाएर सार्वजनिक सवारी चलाउनु परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । हप्तैपिच्छे तेलको मूल्य बढ्दा सरकारले सार्वजनिक यातायातको वैज्ञानिक भाडा समायोजन गर्न आलटाल गरिरहेको उनले बताए । बिहीबारदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा विभागले सिफारीस गरेको भाडादर अझै बढ्ने निश्चित रहेको उनले बताए ।
‘हप्तैपिच्छे पेट्रोल र डिजेलको मूल्य बढीराखेकाे छ । सरकारले बैज्ञानिक भाडा समायोजन गरिदिँदैन् । हामीले दैनिक घाटा खाएर गाडी चलाउनु परेको छ । कम्तीमा सरकारी सवारीमा जोरबिजोर गरेर जानुपर्ने सुझाव पनि सुनिएन्,’ उनले भने, ‘बिहीबारदेखि फेरि बढेको इन्धनको मूल्यले भाडादर अझै बढ्नै नै देखिन्छ । भविष्यमा पनि पेट्रोल अझै बढ्ने देखिन्छ ।’

उनका अनुसार, विभागले सिफारीस गरेको भाडादर भन्दा अझै बढ्ने देखिएको छ । गत चैत्र ५ गते विभागले वैज्ञानिक भाडा समायोजन विधि अनुसार मन्त्रालयमा सिफारिस पठाएको थियो । जसमा १३ वटा सूचकको विगत २०७२ सालदेखि भाडा समायोजन नभएको हुँदा मूल्य वृद्धिका आधारमा सार्वजनिक सवारीतर्फ ११.३३ प्रतिशत, मालबाहक तराइ ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशतसम्म भाडा समायोजन गर्न विभागले मन्त्रालयलाई सिफारीस गरेको थियो । तर, सिफारीस भएको उक्त मूल्य वृद्धि प्रतिशतभन्दा पनि बढ्ने देखिएको हो ।
निर्माण क्षेत्रमा असरः डण्डी, बालुवा र निर्माणजन्य सामग्रीको मूल्य बढ्यो
मध्यपूर्वको युद्धका कारण दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिले निर्माण क्षेत्रमा ठूलो प्रभाव पार्ने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघकाअनुसार, हालै डन्डी, छड, बालुवा, सिमेन्टजन्य निर्माण सामग्रीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढेको छ ।
त्यस्ता निर्माण सामग्रीको मूल्यवृद्धि भविष्यमा निर्माण क्षेत्रमा ठूलो संकट र असर निम्त्याउने महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘मध्यपूर्वी युद्धले इन्धनको मूल्य बढाउँदैछ । त्यसको असर निर्माण क्षेत्रमा पनि देखियो । डण्डी, छड, सिमेन्ट, बालुवाजन्य वस्तुको मूल्य बढेकाले भविष्यमा निर्माण क्षेत्र प्रभावित हुने देखिन्छ,’ उनले मेरो लगानीसँग भने ।
डण्डी, छड, सिमेन्टजस्ता सामग्रीहरु भौतिक निर्माण तथा विकास आयोजनाका निम्ति अति आवश्यक पर्छ । पछिल्लो पटक जारी युद्धका कारण सडक कालोपत्रे गर्दा प्रयोग हुने बिटुमिनजस्ता सामग्रीको आपूर्तिमा समस्या देखिएको सिंहले बताए । बिटुमिन, रड, सिमेन्ट, बालुवाजन्य वस्तु निर्माण क्षेत्रका लागि अति आवश्यक पर्छन् ।