यस्ताे छ बालेन नेतृत्वका मन्त्रीहरुकाे नालीबेली

Mar 27, 2026 02:10 PM mero lagani



प्रधानमन्त्री, रक्षा तथा उद्योगमन्त्री बालेन शाह, २०४७ वैशाख १४ जन्मेका हुन् । उनी स्ट्रक्चरल इन्जिनियर र र्यामपर पनि हुन् ।

उनी नेपालको पहिलो मधेशी मूलको प्रधानमन्त्री बनेका छन् । उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र उनकी दोस्रो पत्नी ध्रुवदेवी शाहका कान्छा छोरा हुन् । बालेनको पुर्ख्याैली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ भने मामाघर धनुषा जिल्लाको जमुनिवास– ४ मा पर्दछ। शाहका हजुरबुवा मुनिलाल शाह  जमिन्दार थिए ।

उनले यसअघि २०७९ देखि २०८२ सम्म काठमाडौँ महानगरपालिकाको १५औँ नगर प्रमुखका रूपमा सेवा गरेका थिए, जुन पद सम्हाल्ने उनी पहिलो स्वतन्त्र उम्मेदवार थिए।

फागुन २१ को निर्वाचनमा उनले झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गर्दै आफ्नो पार्टीलाई ऐतिहासिक बहुमत दिलाउन सफल भएका थिए।

उनले सबिना काफ्लेसँग विवाह गरेका छन्। शाहकी श्रीमती पेसाले जनस्वास्थ्यकर्मी छिन् ।

 स्वर्णिम वाग्लेः अर्थतन्त्रका ज्ञातालाई अर्थमन्त्रालयको साँचो

उनी यसअघि न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय ब्युरोमा मुख्य आर्थिक सल्लाहकारको रूपमा कार्यरत वाग्ले ०८० वैशाख देखि अप्रिलदेखि २०८२ भदौसम्म प्रतिनिधि सभाका सदस्य थिए। तत्कालीन बहालवाला सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको तनहुँ १ निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनबाट उनी निर्वाचित भएका थिए। उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति हुन्।

वाग्लेले उच्च शिक्षा हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका छन् र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्।

वाग्लेले नेपाल सरकारअन्तर्गत राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको रूपमा सेवा गर्दै स्वास्थ्य, शिक्षा, र दिगो विकासका क्षेत्रमा काम गरेका छन्। 

गीता चौधरी: भूमी पुत्रको सन्तानलाई कृषि मन्त्रालयको जिम्मा

नेपालमा थारु समुदायलाई वास्तविकरुपमा भूमिपुत्र मानिन्छ । त्यही समुदायकी सन्तान हुन् गिता । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीय गीता चौधरी अधिवक्ता हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी गीताले थारु समुदायबाट अधिवक्ता बन्दै संसदसम्म पुग्न त्यति सहज नरहेको अनुभव सुनाइन् ।

उनले कानुनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिन् । त्यसपछि उनले आफूलाई एक अधिवक्ताका रूपमा स्थापित गराइन् ।

अधिवक्ता बनेपछि गीताले आफ्नो पेसालाई कमाई खाने भाँडोको रूपमा मात्र नहेरेको बताइन् । न्यायको पहुँचबाट टाढा भएकालाई न्याय दिलाउने काम पनि आफूले गरेको उनको भनाइ छ ।

अधिवक्ताकोरुपमा विशेषगरी घरजग्गा विवाद, घरेलु हिंसा र नागरिक अधिकारका क्षेत्रमा आफूले गरेको कामले समाजमा छुट्टै पहिचान दिलाएको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गीता नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा उम्मेदवार बनेर हारेकी थिइन ।

 उग्रताको पर्यायवाचीको छवि बनाएका सुधनलाई गृहमन्त्रालयको जिम्मा

जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा उदाएका सुधन गुरुङ परिचय उग्र र अराजक समाजसेवीकोरुपमा रहेको छ । उनका प्रस्तुतीहरु त्यस्तै देखिदैँ आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले तिनै सुधनलाई मन्त्री परिषदमा तेस्रो वरियतासहित गृहमन्त्रालयको जिम्मेवारी दिनुलाई अर्थपूर्णरुपमा लिइएको छ ।

गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भएका गुरूङको जन्म २०४४ सालमा भएको हो ।

काठमाडौंको मल्टी इन्टरनेसनल कलेजमा ‘ए लेभल्स’ को पढाइ सकेपछि उनी विपद सम्बन्धी तालिम लिएर सहजकर्ताको रूपमा काममा लागेका थिए । २०७२ सालको भूकम्पपछि ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी राहत तथा उद्दारमा खटिएका थिए ।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको खुट्टा ढोगे पछि उनको चर्चा थप चुलिएको थियो । गुरूङमाथि जेनजी आन्दोलन ‘हाईज्याक’ गरेको आरोप पनि लागेको थियो ।

गुरूङले आफ्नै समर्थनमा सरकार बनेको दुईपछि नै प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन पनि गरेका थिए ।

उनले निर्वाचनको सम्मुख राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाह (बालेन) लाई एक ठाउँमा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी बालेनसँगै रास्वपामा मिसिए । गत निर्वाचनमा गोरखा–१ बाट बिजयी भएका हुन् ।

पूर्वाधार विज्ञलाई पूर्वाधार मन्त्रालय

रास्वपा महामन्त्री समेत रहेका सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बनेका छन् । लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको निती मिनाक्क्षी इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चलर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनले हाल काठमाडौं विश्वविद्यालयबाट ‘सोलिड वेष्ट म्यानेजमेन्ट’ विषयमा विद्यावारिधि गर्दैछन् ।

रुपन्देही १ बाट चुनाव जितेका उनी बालेन काठमाडौं महानगरपालिकाको मेयर पदमा रहँदा पूर्वाधार एवं वातावरण विज्ञका रुपमा कार्यरत थिए ।

३५ वर्षे लम्सालसँग पूर्वाधार, सहरी योजना र सुशासन क्षेत्रमा काम गरेको अनुभव छ । २०४७ असोजमा स्याङ्जाको बिरुवा गाउँपालिकामा जन्मेका लम्साल दुई दशकदेखि रूपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीका स्थायी बासिन्दा हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा विराजभक्त श्रेष्ठ

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा उनी केही समय युवा तथा खेलकुदमन्त्री रहेका श्रेष्ठ २१ फागुनको निर्वाचनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका हुन् ।

श्रेष्ठ पहिलो पटक २०७४ सालमा बागमती प्रदेश सभा सदस्य भए । त्यसबेला उनी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेश सभामा विधायक बनेका थिए ।

श्रेष्ठले ‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक गरेका छन् । होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा जागिरेका रूपमा करियरको सुरुवात गरेका उनी २०७२ सालको महाभूकम्पपछि समाजसेवामा सक्रिय भए ।

त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र मुस्ताङदेखि बर्दिवाससम्म विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

भद्र व्यक्तित्वलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी 

शिशिर खनाल रास्वपा भित्रकै सबैभन्दा भद्र व्यक्तिकोरुपमा चिनिन्छन् । शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन् । पार्टीको विदेश विभाग र पर्यटन विभागका प्रमुख खनाल २०७९ को संघीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यको रुपमा विजय भए । उनले अमेरिकाको यूनिभर्सिटी अफ वीसकन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तराष्ट्रिय राजनीतिक अर्थ शास्त्रमा स्नातक गरेका छन् ।

विक्रम तिमल्सिना:पत्रकारलाई संचार मन्त्रालयको तालाचावी

बालेन नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री बनेका छन् । उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन् ।

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् ।

लामो समय रेडियो सगरमाथाको कार्यक्रम उत्पादक तथा प्रस्तोता थिए । अध्ययनका लागि अष्ट्रेलिया गएपछि उनले त्यहीँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ को कार्यकारी सम्पादक र सिड्नीबाट सञ्चालित साउथ एसिया डटकम डट एयूको सम्पादकीय सल्लाहकार थिए ।

सोबिता गौतम: तार्किक अधिवक्ता बनिन कानुन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य चितवन ३ बाट चुनाव जितेकी हुन् । २०७९ को निर्वाचनमा भने काठमाडौँ २ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।

अधिवक्तासमेत रहेकी उनी विशेषगरी युवा सहभागिता, सुशासन, पारदर्शिता र नागरिक अधिकारका मुद्दामा स्पष्ट धारणा राख्ने नेतृका रूपमा परिचित छिन्। उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् ।

सिता बादी, बादी समुदायकी पहिलो मन्त्री

२०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ को झुप्राखोलामा जन्मिएकी सिता बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति बनेकी छन् । समानुपातिक कोटाबाट सांसद भएकी उनी महिला तथा बालबालिका मन्त्री बनेकी छन् । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

लामो समय सामाजिक कार्यको अनुभव लिएर सीता संसदमा गएकी छन् । अहिले पनि दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा र महिला दिदीबहिनीलाई व्यावसायिक तालिम दिइरहेकी छन् । चुनिखेल क्षेत्रमा उनले हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसाय सुरु गरेकी छन् । यस उद्यमले उनलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै अन्य महिलाका लागि पनि रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्यो । साना उद्यममार्फत महिलालाई आत्मनिर्भर बनाउने उनको प्रयास समाजका लागि उदाहरणीय बनेको छ ।

पर्यटन अभियन्तालाई पर्यटन मन्त्रालयको जिम्मा

पोखराका स्थापित युवा लेखक, सामाजिक अभियन्ता र वैकल्पिक राजनीतिको प्रखर आवाज मानिने गणेश पौडेल पर्यटन मन्त्री बनेका छन् । ‘अटेरी अभियान’ मार्फत दलीय बेथितिविरुद्ध विद्रोह सुरु गरेका उनले २०७९ को स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चा कमाएका थिए । बालेन्द्र शाहको टिमसँगको सहकार्य हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका उनी हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्। हालैको प्रतिनिधिसभा निर्वाचनमा कास्की–१ बाट जितेका थिए ।

बालेनका सहयोगी सस्मित बने शिक्षामन्त्री

२९ वर्षीय सस्मित पोखरेल शिक्षामन्त्री बनेका छन्। काठमाडौं ५ बाट निर्वाचित उनले यसअघि बालेन्द्र शाह (बालेन) काठमाडौंको मेयर हुँदा उनको सचिवालयमा बसेर काम गरेका थिए।

महानगरमा शिक्षा क्षेत्रको सुधारमा उनको भूमिका थियो। बालेनकै रोजाइअनुसार उनी शिक्षामन्त्री बनेका हुन्।


आँखा विशेषज्ञलाई रोजगारको जिम्मा

महोत्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा दृष्टि विशेषज्ञ दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

साहले हालै सम्पन्न निर्वाचनमा पूर्व श्रममन्त्री एवं अनुभवी नेता शरतसिंह भण्डारीलाई हराएसँगै उनी चर्चामा आएका थिए ।

दीपक साह पेसाले दृष्टि विशेषज्ञ हुन्। स्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगालेका उनी नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्ष समेत हुन्। पेसागत हकहित र सामाजिक सेवामा सक्रिय रहँदै आएका साह अब देशको श्रम बजार र वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्ने चुनौतीका साथ सरकारमा सहभागी भएका हुन् ।

पत्रकारिता हुँदै राजनीतिमा आएकी प्रतिभा रावललाई  प्रशासन सुधारको जिम्मा

एक दशकभन्दा बढी समय पत्रकारिता गरेर राजनीतिमा लागेकी प्रतिभा रावल अहिले रास्वपाबाट समानुपातिक सांसद हुँदै मन्त्री बनेकी छन् ।

उनी रास्वपा सभापति रवि लामिछानेको ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माता थिइन् । लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरे । त्यसको केही महिनामा रावल पनि पत्रकारिता छाडेर राजनीतिमा होमिइन् ।

३२ वर्षीय रावलले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी टिभी लगायतमा काम गरेकी थिइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरमा जन्मिएकी उनले एसएलसीसम्मको अध्ययन महेन्द्रनगरमै गरेकी हुन् । रावलको घर गुल्मी भएपनि अहिले काठमाडौंमै बस्छिन् । उनका श्रीमान् प्रेम अर्याल चार्टड एकाउन्टेन्ट हुन् ।

नर्स निशालाई स्वास्थ्य मन्त्रालय 

सुनसरीको इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् । रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग आबद्ध रहँदै आएकी उनी अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा पनि समेटिएकी थिइन्। त्यसबेला उनी सांसद बन्न सकिनन्।यसपटक भने उनी सांसद मात्र बनिन्, मन्त्री नै बनिन् ।

२०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी मेहता भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गरेकी थिइन् ।