राज्य र क्षेत्रका नेताहरूसँगको बैठकपछि क्यानबेरामा सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री अल्बानिजले बुधबारदेखि लागू हुने गरी आगामी तीन महिनासम्म ‘फ्युल एक्साइज’ (इन्धन अन्तःशुल्क) कटौती गरिने जानकारी दिए । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित तेल संकटले इन्धनको मूल्य बढिरहेको सन्दर्भमा यस पहलले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २६.३ सेन्टले घटाउने उनले बताए ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ पेट्रोलियम (एआइपी) को पछिल्लो तथ्यांकअनुसार आईतवार समाप्त भएको हप्तामा नियमित ‘अनलेडेड’ इन्धनको राष्ट्रिय औसत मूल्य प्रतिलिटर २.५३ अस्ट्रेलियन डलर (करिव १.७३ अमेरिकी डलर) पुगेर नयाँ कीर्तिमान कायम गरेको छ । यो अघिल्लो हप्ताको २.३८ अस्ट्रेलियन डलरको तुलनामा ६.३ प्रतिशतको वृद्धि हो । त्यसैगरी, सोही अवधिमा डिजेलको औसत राष्ट्रिय मूल्य ९.७ प्रतिशतले बढेर प्रतिलिटर ३.१ अस्ट्रेलियन डलर पुगेको एआइपीले जनाएको छ ।
यसका साथै, ढुवानी क्षेत्र (ट्रकिङ उद्योग) लाई राहत दिन ठूला सवारी साधनले प्रयोग गर्ने डिजेलमा लाग्दै आएको प्रतिलिटर ३२.४ सेन्टको ‘रोड युजर चार्ज’ लाई पनि तीन महिनाका लागि शून्यमा झारिएको उनले घोषणा गरे । अस्ट्रेलियाका कोषाध्यक्ष जिम चालमर्सका अनुसार यी दुई उपायहरू कार्यान्वयन गर्दा सरकारी राजस्वमा करिब २.५५ अर्ब अस्ट्रेलियन डलर बराबरको भार पर्ने अनुमान गरिएको छ ।
जीवनयापनको बढ्दो लागत कम गर्ने उपायहरूका अतिरिक्त, प्रधानमन्त्री अल्बानिजले सोमबार राज्य र क्षेत्रका नेताहरू इन्धन सुरक्षाका विषयमा सरकारहरू कसरी मिलेर काम गर्ने भन्ने बारे एक राष्ट्रिय योजनामा समेत सहमत भएको जानकारी दिए।