पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगल नजिकै रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर ट्रान्स पार्टी गरिरहेको बेलामा प्रहरीले मंगलवार राती छापा मारेर नियन्त्रणमा लिएको हो । पार्टीमा लागुऔषध प्रयोग र बिक्री भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जानकारी दिए। उनकाअनुसार नियन्त्रणमा लिएकामध्ये ८ जनासँग लागुऔषध फेला परेको छ । एक जना ईजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिकसँग लागुऔषध फेला परेको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको र सोहीअनुसार मुद्दा चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताए ।
बाँकी रहेकाहरुको हकमा भने विगतको अपराधिक पृष्ठभुमी खोजिरहेको र सोहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।
उनले भने, ‘पोखरा १८ सेदीभन्दा माथी एकान्त स्थानमा एउटा घर रहेछ, त्यहाँ ट्रान्सपाटी लागुऔषध, मादकपदार्थसहितको पार्टी गर्दैछन्, नेपाली र विदेशी मिलेर भन्ने सूचना प्राप्त भयो । त्यसपश्चात बैदाम प्रहरी कार्यलयका डिएसपी नवराज भट्टराईको नेतृत्वमा प्रहरी टोली गएर घेरा हाल्यौँ । त्यहाँ पार्टी गर्दै गरेको अवस्थामा मान्छेहरु फेला परे, उनीहरुको खानतलासी गर्ने क्रममा ८ जनासंगबाट विभिन्न प्रकारका लागुऔषध बरामद भयो । धेरै जना मापसे सेवन गरेको पनि भेटिएको थियो । हामीले अनुसन्धान गर्नको लागि ३८ जनालाई नियन्त्रणमा लिएर बैदाम प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । लागुऔषध भेटिएकाहरुलाई लागु औषधसम्बन्धी नै अनुसन्धान हुन्छ र मुद्दा दर्ता हुन्छ । बाँकी अन्यको पनि हामी स्क्रिनिङ गर्दैछौँ, विगतको अपराधिक पृष्ठभुमीको बारेमा । जसको केही देखिँदैन, उहाँहरु छुट्नुहुन्छ । जोजो मुद्दा चल्नलाई प्रमाण पुग्छ, उहाँहरुलाई भने मुद्दा चल्छ । लागुऔषधसहित भेटिएकोमा एक जना इजरायली, दुई जना भारतीय छन् । आठ जनामा बाँकी पाँच जना नेपाली छन् ।’
प्रहरी उपरीक्षक कार्कीकाअनुसार घटनास्थलबाट ९ प्रकारका लागुऔषध बरामद गरिएको छ । बरामद सामग्रीमा एमडीएमए, चरेस, कोकिन, खैरो हिरोइन, ‘आइस’ (एम्फेटामिनजस्तो पदार्थ), गाँजा, ‘म्याजिक मसरुम’ तथा एलएसडी रहेका छन् । उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेका थिए ।