पछिल्लो ६ कारोबार दिनमध्ये चार दिन बजार फराकिलो अंकले घटेको छ भने दुई दिन मात्र सामान्य वृद्धि भएको छ। चार कारोबार दिनमा नै सूचक १८४.०४ अंकले घटिसकेको छ। आज बुधबार मात्रै नेप्से ७४.७३ अंक (२.६२ प्रतिशत) ले घटेको छ। बजार ओरालो लागे पनि भर्खरै सूचीकृत भएका ६ कम्पनीको शेयर मूल्यमा भने लगातार सकारात्मक सर्किट गिरहेको छ।
लगातार मूल्य बढ्ने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्।
यस्तो छ ६ कम्पनीको प्रदर्शन:
१. रिलायन्स स्पिनिङ मिल्स : यो कम्पनीको कारोबार २०८२ फागुन ४ गते (१६ फेब्रुअरी) बाट सुरु भएको हो। ३०० रुपैयाँबाट कारोबार सुरु भएको यसको मूल्य आज २९४७.२० रुपैयाँ पुगेको छ। यो ६ हप्ताको अवधिमा ८८२ प्रतिशतको वृद्धि हो।
२. होटल फरेस्ट इन: यसको कारोबार २०८२ फागुन २८ गते (१२ मार्च) बाट १०१.७० रुपैयाँमा सुरु भएको थियो। आज यसको मूल्य ३८४.७० रुपैयाँ पुगेको छ। यो करिब १५ कारोबार दिनमा २७८ प्रतिशतको बढोत्तरी हो।
३. भुजुङ हाइड्रोपावर: २०८२ चैत ९ गते (२२ मार्च) बाट २७०.१० रुपैयाँमा कारोबार सुरु भएको यसको मूल्य आज ६३६.४० रुपैयाँ पुगेको छ। यो १० दिनमा १३५ प्रतिशतले बढेको छ।
४. सुपर खुदी हाइड्रोपावर : २०८२ चैत १२ गते (२५ मार्च) बाट ३०० रुपैयाँमा कारोबार सुरु भएको यसको मूल्य आज ५३१.४० रुपैयाँ पुगेको छ। यो ७ कारोबार दिनमा ७७ प्रतिशतको वृद्धि हो।
५. रिज लाइन इनर्जी: २०८२ चैत १६ गते (२९ मार्च) बाट ३०० रुपैयाँमा कारोबार सुरु भएको यो कम्पनीको मूल्य आज ४३९.२० रुपैयाँ पुगेको छ। यो ४ दिनमा ४६ प्रतिशतले बढेको छ।
६. सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक : यसको कारोबार पनि २०८२ चैत १६ गते (२९ मार्च) बाट २८४.३० रुपैयाँमा सुरु भएको थियो। आज यसको मूल्य ४१६ रुपैयाँ पुगेको छ। यो ४ दिनमा ४६ प्रतिशतको वृद्धि हो।
आज बुधबार यी ६ वटै कम्पनीको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेर 'टप गेनर्स' को सूचीमा अग्रस्थानमा रहेका छन्।