क्यालिफोर्नियामा डिजेलको औषत मूल्य प्रतिग्यालन ७.४५५ अमेरिकी डलर कायम भएको छ । अमेरिकन अटोमोबाइल एशोसिएशनका अनुसार नयाँ मूल्यले यसअघि सन् २०२२ जुनमा कायम भएको प्रतिग्यालन ७.०१२ डलरको कीर्तिमानलाई उछिनेको छ । गत हप्ता मात्र राज्यभरको औषत मूल्य प्रतिग्यालन ७.०१८ डलर रहेको थियो ।
अमेरिकाभरिको राष्ट्रिय औषत खुद्रा डिजेल मूल्य भने प्रतिग्यालन ५.४५४ डलर रहेको छ । क्यालिफोर्निया ऊर्जा आयोगको तथ्याङ्कले डिजेललाई राज्यको दोस्रो ठूलो यातायात इन्धनको रूपमा देखाएको छ । कुल इन्धन बिक्रीमा पेट्रोलपछि डिजेलले १७ प्रतिशत हिस्सा ओगटेको छ । डिजेलसँगै क्यालिफोर्नियामा नियमित पेट्रोलको मूल्यमा पनि निकै वृद्धि भएको छ ।
एक महिनाअघि प्रति ग्यालन ४.६४३ डलर रहेको पेट्रोलको औषत मूल्य हाल बढेर ५.८८७ डलर पुगेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार उच्च कर, कडा वातावरणीय नियमहरू र सीमित रिफाइनरी (प्रशोधन केन्द्र) क्षमताका कारण क्यालिफोर्नियामा इन्धनको मूल्य देशभरमै सधैं उच्च रहने गरेको छ ।