शेयर बजारमा बैंकहरूको लगानी १ खर्ब ५६ अर्ब, ठुला ऋणीकै वर्चस्व

Apr 02, 2026 04:36 PM Merolagani



 

नयाँ सरकार आए यता शेयर बजार निरन्तर ओरालो लागेर लगानीकर्ताहरू निराश भइरहेका बेला नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा जाने कर्जा (मार्जिन नेचर लोन) मा भने वृद्धि भएको देखाएको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको आठ महिनाको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' प्रतिवेदन अनुसार बैंकहरूको यस्तो कर्जा प्रवाह १ खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक तथ्यांकले बजारमा 'लिक्विडिटी' (तरलता) बिस्तारै बढ्दै गएको त देखाउँछ। तर कर्जाको ठुलो हिस्सा अझै पनि ठुला लगानीकर्ताहरूकै नियन्त्रणमा रहेको देखाएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल मार्जिन प्रकृतिको कर्जा १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ प्रवाह गरेका छन्। गत असार मसान्तमा यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै बैंकहरूले थप १५ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेका छन्। यो गत असारको तुलनामा ११.१ प्रतिशतको वृद्धि हो। यद्यपि, गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको वृद्धिदर ३१.५ प्रतिशत  अर्थात् २८ अर्ब ४० करोड रहेको थियो। जसको तुलनामा यस वर्ष कर्जा प्रवाहको गति भने केही सुस्त देखिएको छ।

तथ्यांकलाई विश्लेषण गर्दा शेयर बजारमा जाने कर्जाको ठुलो हिस्सा 'हाइ नेटवर्थ' भएका वा ठुला लगानीकर्ताहरूले उपभोग गरिरहेका छन्। १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा मात्रै १ खर्ब ९ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ। कुल मार्जिन कर्जाको ७० प्रतिशतभन्दा बढी हिस्सा यी ठुला ऋणीहरूले ओगटेका छन्। यो वर्गको कर्जामा आठ महिनामा १० अर्ब ७१ करोड ८८ लाख रुपैयाँ अर्थात् १०.८ प्रतिशत थपिएको छ। यसले के देखाउँछ भने बजारमा जतिसुकै उतारचढाव आए पनि ठुला घराना र संस्थागत लगानीकर्ताहरूले बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्न छाडेका छैनन्।

अर्कोतर्फ, २५ लाख रुपैयाँभन्दा कमको कर्जा लिने साना लगानीकर्ताहरूको हिस्सा निकै न्यून छ। तथ्यांंकअनुसार यो वर्गमा जम्मा ८ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ। आठ महिनामा यो क्षेत्रमा जम्मा ५७ करोड ६९ लाख रुपैयाँ मात्र थपिएको छ। जुन जम्मा ७.१ प्रतिशतको वृद्धि हो।

त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब ६ करोड १६ लाख रुपैयाँ र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १८ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ पुगेको छ। रोचक कुरा के छ भने ५० लाखदेखि १ करोडसम्मको कर्जा लिने मध्यम वर्गीय लगानीकर्ताको संख्यामा यस वर्ष १७.४ प्रतिशतको उच्च वृद्धि देखिएको छ।

राष्ट्र बैंकको यो तथ्यांकले बजारमा बैंकहरूबाट पैसा नगएको त होइन, तर त्यो पैसाको वितरण 'समानुपातिक' नभएको संकेत गर्दछ। ७० लाख लगानीकर्ता आबद्ध भएको भनिएको बजारमा साना लगानीकर्ताको पहुँच बैंक कर्जामा अझै कमजोर हुनुले नीतिगत सुधारको आवश्यकता महसुस गराउँछ।

शेयर बजार पछिल्लो एक हप्तामा करिब १८२ अंकले घटेको छ। तर,  बैंकहरूको कर्जा प्रवाह भने बढिरहेको देखिन्छ।  नेपाल राष्ट्र बैंकको यो आठ महिनाको विवरणले शेयर बजारमा बैंकहरूको कुल लगानी १ खर्ब ५६ अर्ब २७ करोड पुगेर नयाँ उचाइ तय गरेको देखाएको छ। तर, साना लगानीकर्ताको ७.१ प्रतिशतको झिनो वृद्धि र ठुला लगानीकर्ताको ७० प्रतिशतभन्दा बढीको हिस्साले शेयर बजार अझै पनि ठुला लगानीकर्ताकै हातमा वा पकडमा रहेको पुष्टि गर्छ। आगामी दिनमा राष्ट्र बैंकको लचिलो मौद्रिक नीतिले साना लगानीकर्तालाई पनि कर्जामा सहज पहुँच पुर्‍याउन सके मात्र बजारमा साना लगानीकर्ताको पहुँच अभिवृद्धि हुने  देखिन्छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।