एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Apr 09, 2026 10:20 AM Merolagani



एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत २६ गते), बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १४ करोड १० लाख रुपैयाँबराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ३७ हजार कित्ता शेयर सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता शेर कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले चैत २६ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि २०८३ बैशाख १० गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ७८ हजार २० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ असार २७ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ असार २७ गतेसम्म रहने छ।

कस्तो कम्पनी हो?

नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने एपोलो हाइड्रोपावर प्राइभेट लिमिटेड २०६३ असोज ३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७९ असोज ६ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडको रुपमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौँ नगरपालिका वडा नं. ४, महाराजगंजमा रहेको छ भने कम्पनीको आयोजना स्थल सोलुखुम्बु जिल्लाको गोली, ओखलढुङ्गा जिल्लाको रावादोलु र भुसिंङ्गामा अवस्थित छ।

कम्पनीले सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिका तथा ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाँउपालिका भई बग्ने खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गर्दै आइरहेको छ। नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता अनुरुपको पछिल्लो संशोधन बमोजिमको व्यापारिक उत्पादन शुरु हुने मिति २०८० बैशाख १७ गते रहेकोमा त्यस पश्चात नेपाल विद्युत प्राधिकरणबाट व्यापारिक उत्पादन शुरु हुने मिति थपको लागि २०८० बैशाख २४ मा आशयपत्र प्राप्त भएको छ भने २०८२ माघ २३ गतेसम्म निर्माण कार्य सम्पन्न गरि २०८२ माघ मसान्तदेखि व्यापारिक उत्पादन शुरु गर्ने कम्पनीको व्यवस्थापनले लक्ष्य लिएको छ।

सो आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.४३ वर्ष रहेको छ। उक्त आयोजना हाल निर्माणाधीन अवस्थामा छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र हिमालयन बैंक लिमिटेडको ऋण भुक्तानी गर्नको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न कम्पनीले आईपीओ जारी गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले यस निष्काशनबाट प्राप्त हुने कुल १४ करोड १० लाख रुपैयाँ हिमालयन बैंकको ऋण भुक्तानी गर्न खर्च गर्नेछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषहरु ३ करोड ९४ लाख ४९ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ९९ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा रहेको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले जगेडा कोष ५ करोड १९ लाख ७० हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ६ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ । जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना रहनेछन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक रहनेछन्।

हाल कम्पनीमा ७ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आङ तेन्जी शेर्पा रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा राजेन्द्र गुरुङ्ग, रोजन कुमार श्रेष्ठ, रेनुका गुरुङ्ग, धन बहादुर बस्नेत र डिल्ली बहादुर गुरुङ्ग रहेका छन् भने स्वतन्त्र सञ्चालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। नयाँ जलविद्युत तथा सोलार आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजना निर्माण गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सोलाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।