वि.सं. २०६० सालमा स्थापना भई दुई दशकको यात्रा तय गरेको यस कम्पनीले जलविद्युत उत्पादनबाट आफ्नो व्यवसायिक पहिचान सुरु गरेको थियो । स्थापनाको दुई दशकमा कम्पनी जलविदुत् उत्पादनमा मात्र केन्द्रीत छैन ।
अहिले कम्पनी सौर्य ऊर्जा, रियल इस्टेट र रणनीतिक लगानीको क्षेत्रमा समेत एउटा बलियो ’होल्डिङ’ संस्थाको रूपमा स्थापित हुँदै गइरहेको छ । करिब १ लाख ८१ हजार शेयरधनीहरूको विश्वास बोकेको अपि पावरले कसरी आफूलाई एउटा ’डाइनामिक’ कम्पनीका रूपमा विकास गरिरहेको छ भन्नेबारे यसको ऐतिहासिक पृष्ठभूमि र वर्तमान वित्तीय अवस्थालाई केलाउनु सान्दर्भिक देखिन्छ ।
स्थापना र ऐतिहासिक पृष्ठभूमि
अपि पावर कम्पनी लिमिटेड २०६० साल असार ५ गते कम्पनी ऐन अन्तर्गत स्थापना भएको थियो । विगत दश वर्षसम्म प्राइभेट लिमिटेडका रूपमा काम गरेपछि २०७० साल साउन ६ गते यो कम्पनी पब्लिक लिमिटेडमा परिणत भयो । नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएका पुराना र विश्वासिला जलविद्युत कम्पनीहरूमध्ये अपि पावर पनि एक हो । दार्चुलाको दुर्गम क्षेत्रबाट जलविद्युत उत्पादनको यात्रा सुरु गरेको यस कम्पनीले हालसम्म आइपुग्दा आफ्नो व्यावसायिक स्वरूपलाई निकै फराकिलो बनाइसकेको छ ।
ऊर्जा उत्पादनमा सफलताः हाइड्रोदेखि सोलारसम्म
अपि पावरको सफलताको कथा दार्चुलाको नौगड गाडबाट सुरु हुन्छ । कम्पनीले हालसम्म तीनवटा जलविद्युत आयोजनाहरू निर्माण गरी राष्ट्रिय ग्रीडमा जोडिसकेको छ । ८.५ मेगावाटको नौगड गाड साना जलविद्युत आयोजना नै कम्पनीको पहिलो व्यवसायिक आयोजना हो । त्यस्तै, दोस्रोमा ८ मेगावाटको अपर नौगड गाड जलविद्युत आयोजना र तेस्रोमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना दार्चुलामै अवस्थित रहेको कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।
जलविद्युतमा मात्र सीमित नभई सरकारको ‘मिश्रित ऊर्जा प्रणाली’ (इनर्जी मिक्स) को अवधारणालाई पछ्याउँदै कम्पनीले सौर्य ऊर्जामा पनि ठूलो लगानी गरेको छ । तराईका विभिन्न जिल्लामा गरी हालसम्म ६ मेगावाटका सोलार आयोजनाहरू (सिमरा १ मेगावाट, ढल्केबर १ मेगावाट र चन्द्रनिगाहपुर ४ मेगावाट) सञ्चालनमा छन् । त्यस्तै, कम्पनीले नै ८ मेगावाटको परवानीपुर सौर्य आयोजना निर्माण गरिरहेको जुन निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त सौर्य आयोजना यसै आर्थिक वर्षभित्र ग्रीडमा आबद्ध हुनेछ ।
लगानी विविधीकरणः 'एउटै बास्केटमा सबै अण्डा नराख्ने' रणनीति
अपि पावरको व्यवस्थापनले एउटा स्पष्ट रणनीति अख्तियार गरेको छ, 'इन्भेस्टमेन्ट डाइभर्सिफिकेसन' । जलविद्युत आयोजनाहरू ३० वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्थाका कारण ३० वर्षपछिको भविष्यलाई लिएर शेयरधनीहरूमा हुने अन्योल चिर्न कम्पनीले भगिनी संस्थाहरूमार्फत लगानी विस्तार गरिरहेको छ ।
कम्पनीले अन्य जलविद्युत आयोजनाहरूमा ठूलो हिस्सा शेयर स्वामित्व ग्रहण गरेको छ । इङ्वा हाइड्रोपावर लिमिटेडमा अपि पावरको १५ लाख कित्ताभन्दा बढी लगानी छ । त्यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीमा कम्पनीको ५१ प्रतिशत होल्डिङ छ । दार्चुला पावर लिमिटेड (२८.३ मेगावाट) को निर्माणमा पनि कम्पनीको ६० प्रतिशत लगानी छ । दिव्यज्योति हाइड्रोपावर (५० मेगावाटको मर्स्याङ्दी बेसी) मा पनि अपि पावरको बहुमत शेयर रहेको छ ।
यसरी मुख्य कम्पनी आफैँले आयोजना बनाउने मात्र नभई अन्य कम्पनीहरूमा प्रवर्द्धकका रूपमा लगानी गर्दा भोलि ती कम्पनीहरू सूचीकृत भएपछि आउने लाभांश र पूँजीगत लाभले अपि पावरको वित्तीय अवस्थालाई दीर्घकालसम्म सुरक्षित बनाउने देखिन्छ ।
ऊर्जा बाहिरको क्षेत्रः ‘रियल इस्टेट’मा प्रवेश
ऊर्जा क्षेत्रमा आफ्नो प्रभुत्व जमाएपछि अपि पावरले घरजग्गा व्यवसायमा पनि हात हालेको छ । ’अपि इन्फ्रा लिमिटेड’ नामक शतप्रतिशत स्वामित्व भएको भँगिनी संस्थामार्फत ललितपुरको झम्सीखेलमा १० तलाको सुविधासम्पन्न आवासीय भवन (अपार्टमेन्ट) निर्माण भइरहेको छ । ४३ परिवार बस्न मिल्ने यो अपार्टमेन्ट आगामी वर्षभित्र ह्यान्डओभर हुने तयारीमा रहेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपाने बताउँछन् ।
‘अपि पावर कम्पनी रियल इस्टेटतिर गइरहेका छ । हामीले जहाँ लगानीका अवसर छन्, जहाँ दुई पैसा फाइदा हुन सक्छ त्यस्ता क्षेत्रलाई पहिचान गरेर काम गर्ने सिलसिलामा एउटा ‘अपि इन्फ्रा लिमिटेड’ भनेर भगिनी संस्था खडा गरेका छौँ। यो संस्थाबाट झम्सीखेलमा १० तलाको एउटा आवासीय भवन, अपार्टमेन्ट बनाइरहेका छौ । र अर्को वर्षसम्म त्यो अपार्टमेन्ट चाहिँ ह्यान्डओभर हुन्छ ।’ न्यौपानेले बताए । काठमाडौंको मुटुमा रहेको यो रणनीतिक लगानीबाट प्राप्त हुने मुनाफाले कम्पनीको ’रिजर्भ’लाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
वित्तीय अवस्था र ऋण व्यवस्थापन
कम्पनीको वित्तीय अवस्थालाई हेर्दा हाल करिब ६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ । धेरै शेयरधनी र ठूलो पूँजी भएका कारण बजारमा यसलाई ’लार्ज क्याप’ कम्पनीका रूपमा हेरिए पनि व्यवस्थापनले यसलाई ’गुड फण्डामेन्टल’ भएको सबल कम्पनीका रूपमा व्याख्या गर्छ ।
ऋणको सन्दर्भमा, हाल कम्पनीको थाप्लोमा साढे चारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋण छ । नयाँ–नयाँ आयोजनाहरू निर्माण भइरहेका कारण यो ऋण देखिएको हो। यद्यपि, कम्पनीले प्रत्येक त्रैमासमा बैंकको साँवा र ब्याज नियमित भुक्तानी गरिरहेको र ऋणको मात्रा क्रमशः घट्दो क्रममा रहेको दाबी गरेको छ । वित्तीय सन्तुलन मिलाउन ऋण र इक्विटीको अनुपातलाई व्यवस्थापनले विशेष ध्यान दिएको देखिन्छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.७९ प्रतिशत बढेको छ भने कुल नाफा १८.२३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३६.३१ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ७७ पैसा बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ५८ पैसा रहेको छ।
६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ६ करोड ८३ लाख रुपैयाँ छ।

सौर्य ऊर्जाको लाभ र चुनौती
अपि पावरले ७ रुपैयाँ ३० पैसाको पीपीए दरमा सौर्य ऊर्जाका सम्झौताहरू गरेको छ । हाल बजारमा ५ देखि साढे ५ रुपैयाँमा प्रतिस्पर्धा भइरहेको बेला अपिको पुरानो दर निकै लाभदायक देखिएको छ । कम दरमा बिडिङ गर्दा प्यानलको गुणस्तरमा सम्झौता हुन सक्ने र त्यसले दीर्घकालीन उत्पादनमा असर पार्ने जोखिम रहने व्यवस्थापनको विश्लेषण छ । तर, गुणस्तरीय प्रविधिमा जोड दिएकाले यसको सोलार प्रोजेक्टहरू ’प्रोफिटेबल’ रहने कम्पनीको दाबी छ ।
लाभांशको इतिहास र शेयरधनीको सुरक्षा
वि.सं. २०७२ सालदेखि लाभांश वितरण सुरु गरेको अपि पावरले एकाध वर्ष बाहेक आफ्ना शेयरधनीलाई कहिल्यै ’हात खाली’ नगराएको दाबी गर्दछ । हकप्रद शेयरमार्फत पूँजी वृद्धि गरेर आयोजनाहरू थप्दै जाने र ती आयोजनाबाट हुने आम्दानीले भविष्यमा ’ह्यान्ड्सम डिभिडेन्ड’ दिने कम्पनीको अर्जुन दृष्टि छ ।
कम्पनीले आगामी दिनमा आफ्ना शेयरधनीको हितका लागि ’ग्रीन बण्ड’ जारी गर्ने वा कम्पनी ऐनको प्रावधान प्रयोग गरी बलियो रिजर्भ भएको अवस्थामा शेयर ’बाइ ब्याक’ गर्ने जस्ता विकल्पहरूमा पनि छलफल गरिरहेको छ ।
१७ महिनामा आयोजना बनाएको इतिहास
अपि पावरको सबैभन्दा ठूलो शक्ति भनेको यसको कार्यसम्पादनको गति हो । कम्पनीले आफ्नो पहिलो जलविद्युत् आयोजना ८.५ नौगड गाड साना जलविद्युत आयोजना निर्माण १७ महिनामा सम्पन्न गरेको इतिहास छ । यो कम्पनीले अहिले पनि अन्य जलविद्युत् आयोजना निर्माण गर्दा समय र लागत ओभर रन हुन नदिने छविलाई जोगाएर राख्न सफल भएको छ ।
को–को छन् सञ्चालक तथा लगानीकर्ता
हाल कम्पनीमा ६ सदस्यीय सञ्चालक समिति बहाल रहेको छ । जसमध्ये हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा श्रीजना खड्का, प्रवन्ध सञ्चालकमा सञ्जिव न्यौपाने बहाल रहेका छन् । त्यस्तै, अन्य सञ्चालकहरुमा द्वारिका प्रसाद न्यौपाने, मधुसुदन कोइराला र स्वतन्त्र सञ्चालकमा मिलन खड्का रहेका छन् । त्यस्तै, सञ्चालक सुजन अधिकारी भने कम्पनीको सचिव पदमा बहाल रहेका छन् ।

भविष्यको रोडम्यापः हाइड्रोजन र आधुनिक ऊर्जा
अपि पावर अब साना आयोजनामा मात्र सीमित हुने सोचमा छैन् । कम्पनीको भविष्यको लक्ष्य १०० मेगावाटभन्दा ठूला जलाशययुक्त आयोजना, अन्तरदेशीय प्रसारण लाइन र हाइड्रोजन ऊर्जातर्फ केन्द्रित रहनेछन । नेपालमा विद्युत बढी हुँदा त्यसलाई खेर जान नदिन ’एमोनिया’ ग्यास उत्पादन गर्ने र हाइड्रोजन ग्यासबाट सवारी साधन चलाउने प्रविधिका लागि रिसर्च एण्ड डेभलपमेन्टमा कम्पनीले काम गरिरहेको छ ।
कम्पनीले मुलुकको व्यापार घाटा कम गर्न कृषि क्षेत्रमा आवश्यक मल कारखाना स्थापनाका लागि विद्युतको उपयोग गर्ने विषयमा पनि कम्पनीले गृहकार्य गरिरहेको छ । ऊर्जालाई केवल ग्रिडमा जोड्ने मात्र नभई यसलाई बहुआयामिक प्रयोगमा ल्याएर देशलाई आत्मनिर्भर बनाउने बृहत सोच कम्पनीले राखेको छ ।
कम्पनीका कार्यकारी सञ्चालक न्यौपानेले कम्पनीले सुशासनमा टेकेर काम गरेकाले पनि आम लगानीकर्ता वा शेयरधनीहरुलाइ निर्धक्क भएर लगानी गर्न आग्रह गर्छन । ‘कम्पनीले सधैँ सुशासनमा टेकेर काम गरिरहेको छ । र आउने दिनमा पनि अपि पावर कम्पनी लिमिटेडले नयाँ–नयाँ आयोजनाहरु बनाउने, समयमा सम्पन्न गर्ने र लगानीको विविधीकरणले गर्दा आउने फाइदाका कुराहरु छन् । त्यसकारण अपि पावर कम्पनीमा लगानी गर्नुहुने र लगानी गर्न खोजिरहनुभएकाहरुलाई निश्चिन्त भएर लगानी गर्न आग्रह गर्दछु ।’
उनले कम्पनी राजमार्ग(हाइवे) मा फुल स्पीडमा कुदेको गाडीजस्तै भएको र आफु त्यसको चालक रहेको बताए । ‘कम्पनी एकदमै ‘गुड ट्रयाक’ मा छ। यो हाइवेमा फुल स्पिडमा कुदिरहेको गाडी जस्तै छ। यो गाडीलाई दुर्घटना हुन दिने छैन । चालकको रुपमा म आफैँ छु। निश्चिन्त भएर लगानी गर्नुहोस् र कम्पनीको बारे सधैँ सकारात्मक सोच राखेर आगामी दिनमा काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ उनले बताए ।