तत्कालीन बीमा समितिबाट इजाजत पाएर २०७४ भदौ १ गतेदेखि यसले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको थियो। स्थापनाकालदेखि नै कुशल व्यवस्थापन र पारदर्शितालाई मूल मन्त्र बनाएको यो कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको छ।
नेतृत्व र कुशल सारथीहरू
कम्पनीलाई सहि दिशा र दृष्टिकोण दिन सञ्चालक समिति र व्यवस्थापनको टिम निकै मजबुत रूपमा उभिएको छ। सञ्चालक समितिको अध्यक्षता डा. रामहरि अर्यालले गरिरहेका छन् भने सदस्यका रूपमा उषा ढकाल, बिनाेद केसी, सीताराम थापा, सन्दीप अग्रवाल र सुनिलकुमार पाेखरेलले आफ्नो अनुभव बाँडिरहेका छन्।
अर्कोतर्फ, कम्पनीको दैनिक प्रशासनिक र व्यावसायिक कार्यहरूलाई चुस्त बनाउने जिम्मेवारी जीवन बीमासँगै हाइड्राेपावर र अन्य उत्पादनमूलक कम्पनीमा नेतृत्व तहमा २२ वर्षभन्दा बढी लामो अनुभव सँगालेका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको काँधमा छ।
बेलायतको प्रतिष्ठित एसीसीए उपाधि प्राप्त चार्टर्ड एकाउन्टेन्ट खड्काको व्यावसायिक यात्रा निकै लोभलाग्दो छ। आईएमई लाइफमा आउनुअघि उनी सूर्याज्योति लाइफ इन्स्योरेन्सका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत र त्यसअघि साविक सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए। उनले नेपाल लाइफ इन्स्योरेन्समा पनि उच्च व्यवस्थापन तहमा लामो समय योगदान दिएका थिए भने विशाल सिमेन्ट इन्डष्ट्रिजको सीईओका रूपमा समेत औद्योगिक क्षेत्रको नेतृत्व सम्हालिसकेका छन्।
यस कुशल नेतृत्वलाई बलियो साथ दिन वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य र खिलेन्द्र पाैडेल तथा अन्डरराइटीङ प्रमुख सु्दीप राना, मुख्य वित्तीय अधिकृत जगत बाेहाेरा तथा प्रमुख बजार व्यवस्थापन अधिकृत (पश्चिम क्षेत्र) सुशिल चापागाँई र प्रमुख बजार व्यवस्थापन अधिकृत (पूर्व क्षेत्र) इन्द्रराज सुवेदीलगायतको प्रविधिमैत्री र अनुभवी टोली अहोरात्र खटिएको छ।
पूँजी र शेयर बजारमा बलियो उपस्थिति
कम्पनीको सेयर स्वामित्व संरचना मुख्य दुई समूहमा बाँडिएको छ। यसमा प्रवर्द्धक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत हिस्सा रहेको छ। प्रवर्द्धक तर्फ आईएमई ग्रुप, ग्लाेबल आईएमई बैंक, आईएमई लि., आइजीआइ प्रुडेन्सियल इन्स्याेरेन्स, हाथवे इन्भेष्टमेन्ट नेपाल लि, एसिएन डिष्ट्रिब्युटर्स प्रालि र डीडी इन्भेष्टमेन्ट प्रालि लगायतका प्रतिष्ठित संस्थाहरू छन् भने सर्वसाधारणतर्फ आम नागरिक, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कम्पनीका आफ्नै कर्मचारीहरू समेटिएका छन्।
सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) जारी गरेर दोस्रो बजारमा 'आईएलआई' संकेतबाट नियमित कारोबार भइरहेको छ। कम्पनीले बाेनस शेयर जारी गरेर नियामक निकाय नेपाल बीमा प्राधिकरणले ताेकेकाे ५ अर्बकाे चुक्ता पुँजी पुर्याइसकेकाे छ। आफ्ना लगानीकर्तालाई कम्पनीले विगत तीन वर्षमा १० देखि २६ प्रतिशतसम्म लाभांश दिएर खुसी बनाएको छ।आव २०८१।८२ मा साढे १० प्रतिशत नगद लाभांश बाँडेको कम्पनीले २०८०।८१ मा २१ प्रतिशत नगद र २०७९।८० मा २५ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो।
घरदैलोमै पुगेको प्रविधि र सञ्जाल
आईएमई लाइफले मातृ संस्था आईएमई ग्रुपको देशैभरि फैलिएका ६ हजारभन्दा बढी रेमिट्यान्स सेन्टर्सको नेटवर्कलाई रणनीतिक रूपमा उपयोग गरिरहेको छ। यसका साथै आफ्नै १५० भन्दा बढी शाखा तथा उप–शाखाहरू मार्फत सातै प्रदेशका सहरी मात्र होइन, दुर्गम गाउँहरूमा पनि सेवा पुर्याएको छ।
देशैभरि फैलिएका हजारौं प्रशिक्षित बीमा अभिकर्ता र विभिन्न बैंकहरूसँगको संस्थागत साझेदारीले यसको पहुँचलाई जनस्तरसम्म पुर्याएको छ। भौतिक उपस्थितिका साथै डिजिटल वालेटहरू जस्तै खल्ती, ईसेवा र मोबाइल बैंकिङमार्फत अनलाइन प्रिमियम भुक्तानी गर्ने सहज व्यवस्था मिलाइएकाले आज यो सेवा नेपाली ग्राहकहरूको आफ्नै मोबाइल स्क्रिनमा आइपुगेको छ।
सुरक्षा र भविष्यको योजना: विविध उत्पादनहरू
हरेक उमेर समूहका नागरिकको आवश्यकता फरक हुन्छ भन्ने कुरालाई कम्पनीले राम्ररी बुझेको छ। बचत र सुरक्षाका लागि 'आईएमई सरल सावधिक बीमा याेजना' र 'आइएमई सवल बीमा याेजना' जस्ता सावधिक योजनाहरू, बालबालिकाकाे लागि 'आइएमई बाल उज्वल' र 'आइएमइ बाल उमंग' जस्ता याेजना बजारमा उपलब्ध छ । त्यस्तै 'आईएमई धनवर्द्धन मनी ब्याक प्लान', 'धनवृक्ष जीवन बीमा याेजना' र आइएमई सरीता प्लस जीवन बीमा याेजना विविध योजनाहरू छन्।
यसबाहेक, जीवनभरिको जोखिम वहन गर्ने आजीवन योजना, कम प्रिमियममा ठूलो कभरेज दिने म्यादी एवं अनिवार्य वैदेशिक रोजगार बीमा र घातक रोगविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्ने लगायतका सुविधाहरू एउटै छानामुनि उपलब्ध छन्। बजारमा नयाँ प्रोडक्ट आएनन् भन्ने गुनासोलाई चिर्दै सीईओ पवनकुमार खड्काले बजारको आवश्यकता अनुसार घातक रोग, सन्तानकाे बिहे, उच्च शिक्षा र बुढेसकालकाे पेन्सनलाई लक्षित गरी १२-१३ वटा याेजनाहरु ल्याइएको जानकारी दिएका छन्।
आर्थिक अवस्था र लगानीको सुखद पाटो
चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरणले कम्पनीको अवस्था निकै उत्साहजनक देखाएको छ। मुख्य व्यावसायिक आम्दानी अर्थात् खुद बीमाशुल्क १० प्रतिशतभन्दा बढीले बढेर ५ अर्ब रुपैयाँ पुगेको छ भने खुद नाफा पनि सुधारिँदै ३६ करोड ६३ लाख रुपैयाँ कायम भएको छ। पुँजी वृद्धिका कारण प्रतिसेयर आम्दानीमा केही दबाब देखिए पनि वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ४९ पैसा रहनुले कम्पनी बजारमा दरिलो रूपमा उभिएको पुष्टि गर्छ।
कम्पनीको कुल कोषमा शेयरधनी कोषको ७ सय करोड र जीवन बीमा कोषको १८ सय करोड गरी झन्डै २५०० करोड रुपैयाँ पुगिसकेको छ। यो ठूलो रकमलाई निकै सुरक्षित र रणनीतिक रूपमा लगानी गरिएको छ। सीईओ खड्काका अनुसार यस कोषको ५० प्रतिशतभन्दा बढी हिस्सा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा छ। ट्रेजरी बिल र सरकारी ऋणपत्रमा १० प्रतिशत जति, सेकेन्डरी सेयर बजारमा १२ देखि १३ प्रतिशत र बाँकी अंश जलविद्युत, पर्यटन जस्ता राष्ट्रिय प्राथमिकताका आयोजना एवं प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमा लगानी गरिएको छ।
अहिले वाणिज्य बैंकहरूको ब्याजदर ऐतिहासिक रूपमा न्यून (२.७५ देखि ३ प्रतिशत) विन्दुमा झरेको भए तापनि कम्पनीको विगतका दीर्घकालीन र बुद्धिमानीपूर्ण लगानीका कारण औसत प्रतिफल ७.७ प्रतिशत हाराहारीमा सुरक्षित राख्न सफल भएको छ। बजारमा देखिएको हालको मन्दी अस्थायी भएको र १ वर्षभित्रै सुधार आउने भएकाले यसले बीमित तथा सेयरधनीको प्रतिफलमा खासै असर नगर्ने विश्वास नेतृत्वको छ।
भरोसाको कडी: दाबी भुक्तानी र अभिकर्ता सशक्तिकरण
बीमा गर्नुको वास्तविक अर्थ संकटको बेला पैसा पाउनु हो। आईएमई लाइफ यस मामिलामा निकै संवेदनशील छ। कम्पनीको दाबी फर्स्योट दर ९९ प्रतिशतभन्दा माथि हुनुले नै यसको विश्वसनीयता देखाउँछ। वैदेशिक रोजगारको दाबी एक हप्ताभित्र र लघु बीमाको दाबी सोही दिन वा २-३ दिनभित्रै भुक्तानी गरिसकिन्छ। कतिपय अवस्थामा रोग लुकाएर बीमा गर्ने सवालमा मात्रै केही अनुसन्धान हुने गरेको छ।
सबैभन्दा सुखद पक्ष के छ भने, कम्पनीको बीमालेख रद्द हुने दर (सरेन्डर रेट) सिङ्गो उद्योगमै सबैभन्दा कम अर्थात् १ प्रतिशतभन्दा तल छ। गलत तरिकाले बीमा बेच्ने (मिस-सेलिङ) प्रवृत्ति रोक्न अभिकर्ताहरूलाई प्रविधि र सही तथ्यका आधारमा कुरा गर्न विशेष तालिम दिने गरिएको सीइओ खड्काले बताए । अचेल २० लाख रुपैयाँसम्मको बीमा अनलाइनबाटै गर्न सकिन्छ भने क्यूआर कोडमार्फत नवीकरण शुल्क तिर्ने सुविधा पनि छ। कम्पनीले अब घरैबाट दाबी दर्ता गर्न मिल्ने प्रविधिको तयारी गरिरहेको छ।
अर्थतन्त्रमा बीमा क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत र अप्रत्यक्ष योगदान ११ प्रतिशतसम्म रहेको सन्दर्भमा सीईओ खड्काको एउटा महत्वपूर्ण सुझाव छ— यदि सरकारले बीमा मार्फत हुने विशेष बचत (फोर्स सेभिङ) को आयकर छुटको मौजुदा सीमालाई ४० हजारबाट बढाएर १ लाख रुपैयाँ पुर्याइदिने हो भने, यसले देशका लागि ठूलो आन्तरिक पूँजी जुट्नेछ र आम नागरिकले पनि थप आर्थिक सुरक्षाको महसुस गर्न पाउनेछन्।