पहिलो इन्स्योरेन्स मर्जरपछि आफूलाई ‘टप फाइभ’मा उभ्याउन सफल सूर्यज्योति लाइफ इन्स्योरेन्स

May 18, 2026 01:25 PM Merolagani



बाबुकृष्ण महर्जन

नेपालको जीवन बीमा क्षेत्रमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच २०७९ पुस ७ गते भएको मिलन एक ऐतिहासिक घटना हो। यो नेपालको बीमा इतिहासकै पहिलो सफल मर्जर मात्र नभई, अनुभव र आधुनिकताको अनुपम संगम पनि हो। 

२०६४ सालमा स्थापित सूर्या लाइफको लामो अनुभव र २०७४ सालमा स्थापना भएको ज्योति लाइफको आधुनिकता एकाकार भएपछि १ बराबर १ को अनुपातमा सूर्यज्योति लाइफ इन्स्याेरेन्स (SJLIC) काे उदय भएको हो। हाल ५ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी र १८० भन्दा बढी शाखा सञ्चालनमा रहेको यो कम्पनी नेपालको बीमा बजारमा एक सवल र नेतृत्वदायी संस्थाको रूपमा स्थापित छ।

सबल सञ्चालक समिति र अनुभवी व्यवस्थापन

नेपाल सरकारका पूर्वसचिव केशवप्रसाद भट्टराईको अध्यक्षतामा रहेको सञ्चालक समितिमा हेमन्त नाहटा, आकाश गोल्छा (गोल्छा ग्रुप), चुडामणि देवकोटा, नमिता शर्मा, प्रिया तायल र आशिष कुमार अग्रवाल जस्ता प्रबुद्ध व्यक्तित्वहरू छन। व्यवस्थापनको कमान्ड प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाशविक्रम खत्रीले सम्हालेका छन् भने नायब प्रमुख कार्यकारी अधिकृतमा परशुराम मरासिनी छन्। मर्जर अगाडि खत्री ज्योति लाइफको सीईओ थिए । त्यसभन्दा अगाडि लक्ष्मी बैंकमा विभिन्न रणनीतिक परियोजनाको नेतृत्व सम्हालेका सीईओ खत्रीले नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकमा सञ्चालक समिति सदस्यको रुपमा समेत काम गरेका थिए भने बैंकिङ करियरको सुरुवात भने बेलायतको बार्कलेज बैंकबाट गरेका हुन । कम्पनीको व्यवसाय सञ्चालन, वित्त र सूचना प्रविधि जस्ता महत्त्वपूर्ण विभागहरूमा राजीव गुर्वाचार्य, उमेशप्रसाद मैनाली, सुरेशराज जोशीलगायत १४ जनाभन्दा बढी अनुभवी अधिकारीहरूको टोली क्रियाशील छ।

उत्कृष्ट वित्तीय अवस्था र व्यावसायिक प्रगति

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको वित्तीय स्वास्थ्य निकै मजबुत देखिएको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा ३३.०३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै कम्पनीले उत्साहजनक वृद्धि कायम गरे। कुल ८.७४ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको कम्पनीको ६.३५ अर्ब रुपैयाँ नवीकरण बीमा शुल्कबाट आउनुले ग्राहकको प्रगाढ विश्वासलाई दर्शाउँछ। हाल कम्पनीको जीवन बीमा कोष ४८.४३ अर्ब र कुल सम्पत्ति ५६.१३ अर्ब पुगेको छ भने प्रतिशेयर आम्दानी ८.७९ रुपैयाँ र नेटवर्थ १२५.४९ रुपैयाँ कायम भएको छ।

व्यापक नेटवर्क र सेवामा सहज पहुँच

सूर्यज्योति लाइफले देशभर १८० भन्दा बढी शाखाहरू मार्फत सुगमदेखि दुर्गमका बीमितहरूलाई सेवा प्रदान गर्दै आएको छ। मर्जरपछि ग्रामीण र सहरी क्षेत्रमा यसको पहुँच सन्तुलित रूपमा विस्तार भएको छ। भौतिक उपस्थिति मात्र नभई ‘सूर्यज्योति स्मार्ट’ एप र अनलाइन पोर्टल जस्ता आधुनिक प्रविधिमार्फत कम्पनीले आफ्नो सेवालाई बीमितको हातहातमा पुऱ्याएको छ, जसले यसलाई एक प्रभावकारी र पहुँचयोग्य बीमा प्रदायक बनाएको छ।

विशाल जीवन बीमा कोषको रणनीतिक लगानी

कम्पनीले आफ्नो लगानी रणनीतिलाई निकै सन्तुलित, दूरदर्शी र भविष्यमुखी बनाएको देखिन्छ। हाल कम्पनीको जीवन बीमा कोषको आकार करिब ४८ अर्ब रुपैयाँ पुगेको छ। कुल लगानीको ८० प्रतिशतभन्दा बढी हिस्सा बैंकिङ क्षेत्रमा थुप्रिएकाले बजारमा विद्यमान उच्च तरलता र घट्दो ब्याजदरका कारण सोचे जस्तो प्रतिफल पाउनु कम्पनीका लागि अहिले मुख्य चुनौती बनेको सीईओ खत्री सहजै स्वीकार गर्छन्। यही चुनौतीलाई चिर्दै लगानीको जोखिम न्यूनीकरण गर्न र आम्दानीका स्रोतहरू बढाउन कम्पनीले लगानी विविधीकरणको रणनीतिक मार्ग रोजेको छ। यसै कदम अन्तर्गत सूर्यज्योतिले धनगढीस्थित ‘होलिडे इन’ होटलमा २५ प्रतिशत शेयर स्वामित्व सुरक्षित गरेको छ भने जलविद्युत क्षेत्रको प्रवर्द्धनका लागि ‘अपर म्याग्दी हाइड्रोपावर’ मा समेत आफ्नो लगानीको पखेटा फैलाएको छ। खत्रीकाअनुसार, कम्पनीले दीर्घकालीन रूपमा लगानी व्यवस्थापनलाई अझ बढी व्यावसायिक र व्यवस्थित बनाउन आफ्नै ‘सूर्यज्योति फण्ड’ र ‘सूर्यज्योति इन्भेस्टमेन्ट कम्पनी’ स्थापना गर्ने योजना अघि सारेको छ।

कम्पनीले केवल वित्तीय क्षेत्रमा मात्र नभई भौतिक पूर्वाधारमा पनि आफ्नो दरो उपस्थिति जनाउने योजना अनुरुप देशका सातै प्रदेशमा आफ्नै सुविधासम्पन्न भवनहरू निर्माण गर्ने लक्ष्य राखेको छ। आफ्नो यो स्पष्ट र दृढ लगानी रणनीतिबारे प्रस्ट पार्दै प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्री भन्छन्— ‘हामी हाम्रा आदरणीय बीमितहरूको पसिनाको कमाइलाई उच्च सुरक्षाका साथ अधिकतम प्रतिफल दिने क्षेत्रमा परिचालन गर्न पूर्ण प्रतिबद्ध छौँ। अब हामी परम्परागत बैंकिङ निक्षेपको साँघुरो घेरामा मात्र सीमित रहने छैनौँ। पर्यटन, ऊर्जा र उत्पादनशील घरजग्गा जस्ता क्षेत्रमा लगानी फैलाउँदै कम्पनीका आफ्नै आन्तरिक लगानीका औजारहरू विकास गर्नु नै हाम्रो मुख्य प्राथमिकता हो।’

विश्वसनीय दाबी भुक्तानी व्यवस्थापन

बीमाको वास्तविक विश्वास दाबी भुक्तानीमा हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै सूर्यज्योतिले ९९ प्रतिशतभन्दा माथिको दाबी भुक्तानी अनुपात कायम गरे। चालु आवको तेस्रो त्रैमाससम्ममा मात्रै कम्पनीले २ अर्ब ५१ करोड ८० लाख रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गरिसकेको छ। विशेषगरी ३५ वटा घातक रोगहरू (क्रिटिकल इलनेस) विरुद्ध ५० लाख रुपैयाँसम्मको कभरेज दिने र रोग पहिचान हुनासाथ तुरुन्तै एकमुष्ठ रकम भुक्तानी गर्ने कम्पनीको विशिष्ट पहिचान हो, जसले बजारमा सकारात्मक ‘माउथ मार्केटिङ’ सिर्जना गरेको छ।

पहिलो इन्स्योरेन्स मर्जरपछिको सफल संगठनात्मक व्यवस्थापन

दुई ठूला संस्थाहरूलाई एक बनाउने चुनौतीपूर्ण कार्यलाई सिईओ खत्रीले कुशलतापूर्वक सम्पन्न गरेका छन्। मर्जरपछि २८० शाखाहरूलाई १७६ मा र ८०० कर्मचारीलाई ५०० मा समायोजन गरी सञ्चालन खर्च घटाइएको छ। कार्य संस्कृतिमा ‘मेरिटोक्रेसी’ (योग्यताको कदर)लाई प्राथमिकता दिएका कारण कर्मचारीहरूको मनोबल उच्च रहेको र कम्पनी वित्तीय सवलतातर्फ उन्मुख भएको देखिन्छ। यही कारण कम्पनी अहिले हरेक वित्तीय सूचकांकमा उत्कृष्ट पाँच भित्र पर्न सफल भएको सीईओ खत्री दाबी गर्छन ।

सूचना प्रविधिको उच्चतम प्रयोग र भविष्यको बाटो

प्रविधिमा आक्रामक लगानी गर्दै सूर्यज्योतिले कार्यसम्पादनका लागि ‘कम्पास’ प्रणाली र बीमितका लागि ‘खल्ती’ एपमार्फत २ लाखसम्मको तत्काल अनलाइन कर्जा सुविधा ल्याएको छ। आर्टिफिसियल इन्टेलिजेन्समार्फत पोलिसी नवीकरण र म्याचुरिटीबारे जानकारी दिने स्वचालित प्रणालीले व्यवस्थापन खर्च घटाउन सहयोग पुऱ्याएको छ। कम्पनीले आगामी दिनमा नयाँ पुस्ता (जेनजी) लक्षित सेवाहरू विस्तार गर्ने र पोलिसी सरेन्डर दरलाई अझै घटाउँदै लैजाने रणनीतिक योजना बनाएको छ।