कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँबराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ४ लाख २९ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले बैशाख ३ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि बैशाख १७ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ११ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ३ लाख ४७ हजार ४९० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ बैशाख १६ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ बैशाख १५ गतेसम्म रहने छ।
कस्तो कम्पनी हो?
सोपान फर्मास्युटिकल्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६६ भदौ ५ गते पब्लिक कम्पनीको रुपमा रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। कम्पनीले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागबाट २०६६ माघ १२ गते औषधि उद्योग स्थापनाको लागि सिफारिशपत्र प्राप्त गरेको थियो।
कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ८, विष्णुडोल तथा कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं जिल्ला, तिनकुने–३२ मा रहेको छ। यी कार्यालयहरु मार्फत उद्योगबाट उत्पादित औषधी तथा अन्य उत्पादनहरुको बिक्री वितरणको कारोवार नेपाल राज्यभर रहेको छ।

कम्पनीले मेडिकल अक्सिजन तथा नाइट्रोजन ग्याँस उत्पादन तथा बिक्री वितरणको लागि महालक्ष्मी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयबाट २०७३ असार २० गते व्यवसाय दर्ता प्रमाणपत्र प्राप्त गरी नेपाल सरकार, घरेलु तथा साना उद्योग विभागबाट २०७३ कात्तिक १२ गते मेडिकल अक्सिजन तथा नाइट्रोजन ग्याँस उत्पादन गर्ने प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गरेको हो । हाल उक्त उद्योग कम्पनीको सहायक कम्पनी सोपान अक्सिजन लिमिटेडका नाममा उद्योग विभागमा दर्ता भईसकेको छ र उद्योगको प्रारम्भिक वातावरणिय परीक्षणकालागि २०८२ पुस ९ गते सार्वजनिक सुनुवाई भई सो को प्रतिवेदन प्राप्त हुने प्रक्रियामा रहेको छ।
कम्पनीले एलोपेथिक औषधी उत्पादन गर्नको लागि महालक्ष्मी नगरपालिका कार्यालयबाट २०७३ चैत ३ गते व्यवसाय दर्ता प्रमाणपत्र प्राप्त गरेको हो। २०७४ बैशाख १२ गते नेपाल सरकार, उद्योग विभागबाट उद्योग दर्ता नं. ३७३१ अन्तर्गत एलोपेथिक औषधी उत्पादन गर्ने प्रयोजनका लागि ठूला उत्पादनमूलक उद्योगको रुपमा उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य प्राप्तिका लागि गर्नुपर्ने कार्यहरुका लागि आवश्यक पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीको सञ्चालनमा सर्वसाधारणको समेत प्रतिनिधित्व गराउन र सर्वसाधारणलाई शेयर जारी गरी पूर्ण रुपमा पब्लिक कम्पनीको रुपमा सञ्चालन गर्न कम्पनीले आईपीओ जारी गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई बैंकबाट लिईएको कर्जा रकमको भुक्तानी गर्न, नयाँ परियोजना निर्माण तथा उपकरण खरिद तथा जडान गर्न, उत्पादन वृद्धि तथा बजारीकरणको विस्तार गर्न र चालु पूँजीको आवश्यकता पूर्ति गर्नमा प्रयोग गरिनेछ।
कम्पनीले २० करोड रुपैयाँ बैंकबाट लिइएको कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ भने ७ करोड ५० लाख रुपैयाँ सहायक कम्पनीमा लगानी गर्न, ३ करोड ६५ लाख रुपैयाँ उद्योगमा भौतिक निर्माण गर्न, ३ करोड रुपैयाँ प्लाण्ट मेशिनरी तथा उपकरण खरिद गर्न र ३ करोड ७५ लाख रुपैयाँ नयाँ उत्पादन विकास तथा बजारीकरण गर्न प्रयोग गर्नेछ। बाँकी ५ करोड रुपैयाँ भने कम्पनीको कार्यशील पूँजी रहनेछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ७० पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ३३ करोड ८० लाख रुपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषहरु ३२ करोड ९० लाख २३ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा थियो।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले जगेडा कोष ४७ करोड ४७ लाख ८६ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ६१ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार एकजना महिला र एक स्वतन्त्र सञ्चालक सहित ७ जना सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ । जसमध्ये संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना रहनेछन् भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र १ जना स्वतन्त्र सञ्चालक रहनेछन्।
हाल कम्पनीमा ५ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अनिल पोखरेल रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा भीमलाल पौड्याल, कृती कुमारी महतो, अनिस साह र आङ दोर्जी लामा रहेका छन्।
भावी योजना तथा रणनीति
अत्याधुनिक र प्रविधिमैत्री सुविधासम्पन्न उद्योग भएकाले कम्पनीले नेपालको औषधीको बजारमात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उत्पादनको बिक्री वितरण गर्ने उद्देश्य राखेको छ। हाल कम्पनीले बजारको आवश्यकताको आधारमा सर्वसुलभ तवरले आफ्नो उत्पादनलाई सेवाग्राहीसम्म पु¥याउने कार्यलाई तिव्रता दिएको छ। देशलाई स्वदेशी उत्पादनद्वारा आत्मनिर्भर बनाउने राष्ट्रिय उद्देश्यमा कम्पनीले महत्वपूर्ण योगदान दिने उद्देश्य राखेकाले सोही उद्देश्य अनुरुप नै यस कम्पनीले समयवद्ध रुपमा विभिन्न योजना बनाएको छ।