ट्रम्पको कार्यकालमा 'इन्साइडर ट्रेडिङ'को आशंका: महत्त्वपूर्ण घोषणा हुनुअघि नै बजारमा शंकास्पद चलखेल

Apr 21, 2026 03:04 PM Merolagani



निक मार्श, बिबिसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा एउटा अनौठो प्रवृत्ति देखिएको छ—उनले ठुला नीतिगत घोषणाहरू गर्नुभन्दा ठिक अगाडि व्यापारीहरूले बजारमा करोडौँ डलरको बाजी थाप्ने गरेका छन्।

बिबिसीले विभिन्न वित्तीय बजारका तथ्याङ्कहरू संकलन गरी राष्ट्रपतिका महत्त्वपूर्ण बयानहरूसँग तिनको तुलनात्मक अध्ययन गरेको छ। यस अध्ययनका क्रममा सामाजिक सञ्जालका पोष्ट वा अन्तर्वार्ताहरू सार्वजनिक हुनुभन्दा केही घण्टा वा मिनेटअघि नै बजारमा ठुलो उतारचढाव आउने गरेको एउटा निश्चित ढाँचा फेला परेको छ।

केही विश्लेषकहरूका अनुसार यो 'इन्साइडर ट्रेडिङ' (भित्री सूचनाको आधारमा गरिने व्यापार) को स्पष्ट संकेत हो। जहाँ सर्वसाधारणलाई सूचना मिल्नुअघि नै केही व्यक्तिले गोप्य जानकारीका आधारमा लगानी गर्छन्। यद्यपि, केहीले भने व्यापारीहरू राष्ट्रपतिको सम्भावित कदम अनुमान गर्न सिपालु भएका कारण यस्तो भएको तर्क गर्छन्।

यससँग सम्बन्धित पाँच प्रमुख उदाहरणहरू यस्ता छन्:

 ९ मार्च २०२६: 'युद्ध लगभग समाप्त भयो'

तेलको 'फ्युचर्स' बजारमा ठुलो चलखेल देखिएको छ। इरानसँगको युद्ध सुरु भएको नौ दिनपछि ट्रम्पले सीबीएस न्युज सँगको फोन अन्तर्वार्तामा द्वन्द्व 'लगभग पूरा हुन लागेको' बताएका थिए। तथ्याङ्क अनुसार, १८:०० GMT मा तेलका ८८४ वटा सम्झौता (एक सम्झौता बराबर १,००० ब्यारेल तेल)को कारोबार भइरहेकोमा १८:२८ सम्ममा यो संख्या बढेर ४,१४१ पुग्यो। १९:१६ GMT मा रिपोर्टरले ट्रम्पको अन्तर्वार्ताका बारेमा 'X' मा पोष्ट गरेपछि तेलको मूल्य प्रति ब्यारेल १०० डलरबाट घटेर ८५ डलरसम्म पुग्यो। तर, रिपोर्टरले सूचना सार्वजनिक गर्नुभन्दा ४७ मिनेट अगाडि (१८:२९ GMT) नै तेलको मूल्य घट्ने पक्षमा ठुलो बाजी लगाइएको थियो। ती व्यापारीहरूले यसबाट करोडौँ डलर मुनाफा कमाएका छन्।

 २३ मार्च २०२६: 'शत्रुताको पूर्ण समाधान'

इरानका पावर प्लान्ट ध्वस्त पार्ने धम्की दिएको दुई दिनपछि ट्रम्पले तेहरानसँगको शत्रुताको 'पूर्ण र अन्तिम समाधान' भएको पोष्ट गरे। यो सबैका लागि अचम्मको खबर थियो। तर, ट्रम्पले बिहान ११:०४ GMT मा 'ट्रुथ सोसल'मा पोष्ट गर्नुभन्दा १४ मिनेट अगाडि नै अमेरिकी तेलको मूल्यमा असामान्य रूपमा धेरै बाजी लगाइएको थियो। १०:३० GMT मा जम्मा ४१ वटा सम्झौता भएकोमा ११:०६ सम्म पुग्दा यो संख्या ८,२०५ पुग्यो। पोष्ट सार्वजनिक हुनासाथ तेलको मूल्य ११% ले घट्यो। तेल विश्लेषकहरूले यसलाई 'अत्यन्तै असामान्य' कारोबार भनेका छन्।

९ अप्रिल २०२५: 'मुक्ति दिवस' र करमा रोक

गत वर्ष अप्रिल २ मा ट्रम्पले 'मुक्ति दिवस' घोषणा गर्दै विश्वका प्रायः सबै देशका सामानमा कर लगाउने बताएपछि शेयर बजार ओरालो लागेको थियो। तर, एक हप्तापछि जब उनले चीनबाहेकका देशका लागि करमा ९० दिनको रोक (Pause) लगाउने घोषणा गरे, बजारमा उछाल आयो। S&P 500 सूचकाङ्क ९.५% ले बढ्यो। जुन दोस्रो विश्वयुद्धपछिकै ठुलो एकल वृद्धि थियो।१८:१८ BST मा ट्रम्पले घोषणा गर्नुभन्दा १८ मिनेट अगाडि नै बजारमा कारोबारको संख्या प्रति मिनेट १०,००० नाघेको थियो। जुन अघिल्लो दिन सयको संख्यामा मात्र हुन्थ्यो। केही व्यापारीले त्यस दिन २० लाख डलर लगानी गरेर झण्डै २० मिलियन डलर नाफा कमाए। यसबारे अमेरिकी सिनेटका डेमोक्र्याटहरूले वित्तीय नियामक निकाय (SEC) लाई छानबिनका लागि पत्र समेत लेखेका छन्।

 ३ जनवरी २०२६: निकोलस मादुरोको गिरफ्तारी

अनलाइन भविष्यवाणी गर्ने बजार (Polymarket र Kalshi) मा पनि यस्तै शंकास्पद गतिविधि देखियो। डिसेम्बर २०२५ मा 'बर्डनसम-मिक्स'  नामको एउटा नयाँ खाता खोलियो। डिसेम्बर ३० मा सो खाताले भेनेजुएलाका राष्ट्रपति मादुरो जनवरीसम्ममा पदमुक्त हुने कुरामा बाजी राख्यो। २ जनवरीसम्म उसले ३२,५०० डलर लगानी गरिसकेको थियो। भोलिपल्टै अमेरिकी सेनाले मादुरोलाई कब्जामा लिएपछि सो खाताले ४,३६,००० डलर जित्यो। विशेष कुरा त के छ भने, ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर यी दुवै भविष्यवाणी गर्ने प्लेटफर्ममा लगानीकर्ता र सल्लाहकारका रूपमा आबद्ध छन्।

२८ फेब्रुअरी २०२६: इरानमाथि हमला

फेब्रुअरी महिनामा पोलिमार्केटमा ६ वटा नयाँ खाताहरू खोलिएका थिए। ती सबैले २८ फेब्रुअरीसम्ममा इरानमा अमेरिकी हमला हुने कुरामा १.२ मिलियन डलरको दाउ लगाएका थिए। राष्ट्रपतिले सो आक्रमणको पुष्टि गर्नासाथ उनीहरूले ठुलो रकम जिते। तीमध्ये एक खाताले पछि ७ अप्रिलमा भएको युद्ध विरामको सही अनुमान गरेर थप १,६३,००० डलर कमायो।

प्रमाणित गर्न किन कठिन छ ?

अमेरिकामा सन् १९३३ को धितोपत्र ऐन र २०१२ को 'स्टक एक्ट'ले सरकारी अधिकारीहरूलाई भित्री सूचना प्रयोग गरेर फाइदा लिन रोक लगाएको छ। यद्यपि, हालसम्म कसैलाई पनि यस अन्तर्गत मुद्दा चलाइएको छैन। प्रोफेसर पल औडिनका अनुसार, 'जबसम्म सूचनाको स्रोत को हो भन्ने स्पष्ट प्रमाण भेटिँदैन, तबसम्म कसैलाई सजाय दिन कानुनी रूपमा धेरै कठिन हुन्छ।' ह्वाइट हाउसले यी आरोपहरूलाई 'आधारहीन र गैर जिम्मेवार' भन्दै खण्डन गरेको छ। तर, बजारको तथ्याङ्क र राष्ट्रपतिका घोषणाहरूको समय (Timing) ले गम्भीर नैतिक प्रश्नहरू भने उब्जाएको छ।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।