पृथ्वीको तापक्रम बढाउँदै एआई डाटा सेन्टरहरु

Apr 03, 2026 07:36 AM Merolagani



आर्टिफिसियल इन्टेलिजेन्सका डाटा सेन्टरहरूका कारण पृथ्वीको तापक्रम बढिरहेको छ। क्याम्ब्रिज विश्वविद्यालयको एक अनुसन्धानले जहाँ यी डाटा सेन्टरहरू सञ्चालनमा छन्, त्यहाँको औसत तापक्रम २ डिग्री सेल्सियससम्म बढेको देखाएको छ। वैज्ञानिकहरूले यसलाई ’डाटा हिट आइल्याण्ड इफेक्ट’ नाम दिएका छन्।

डाटा सेन्टरको १० किलोमिटर दायरामा बढ्यो गर्मी
अनुसन्धानकर्ताहरूले विगत दुई दशकको स्याटेलाइट डाटा विश्लेषण गरेका थिए। यसबाट के थाहा भयो भने, कुनै क्षेत्रमा डाटा सेन्टर सञ्चालनमा आउने बित्तिकै त्यहाँको तापक्रम अचानक बढ्न थाल्छ। 

डाटा सेन्टर नजिकैको तापक्रम औसतमा २.०७ डिग्री सेल्सियस बढेको छ। कतिपय स्थानमा यो वृद्धि ९.१ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ।

यसको असर डाटा सेन्टरको सिमानाभित्र मात्र सीमित छैन, सेन्टरबाट १० किलोमिटरको दायरासम्म तापक्रममा वृद्धि देखिएको छ।

अनुसन्धानका ४ मुख्य कुराहरूः

१. डाटा हिट आइल्याण्ड इफेक्ट

अहिलेसम्म 'अर्बन हिट आइल्याण्ड’ (सहरी ताप टापु) को अवधारणा मात्र चर्चामा थियो, जहाँ कङ्क्रिटका संरचना र बढ्दो जनसंख्याका कारण सहरको तापक्रम गाउँको तुलनामा ४–६ डिग्री बढी हुन्छ।
अहिले एआई पूर्वाधार पनि यही श्रेणीमा थपिएको छ। एआई मोडेलहरू चलाउने शक्तिशाली सर्भर र कुलिङ सिस्टमले २४सै घण्टा तातो हावा बाहिर फाल्छन्, जसले गर्दा स्थानीय वातावरणमा ‘हिट आइल्याण्ड’ सिर्जना भइरहेको छ। यसले तापक्रम मात्र बढाउँदैन, बरु सेन्टरहरूलाई चिसो राख्न पानी र बिजुलीको खपतमा पनि भारी वृद्धि गराउँछ। सरल भाषामा भन्नुपर्दा, यो डिजिटल क्रान्तिका कारण उत्पन्न भएको नयाँ ’वातावरणीय थर्मल प्रदूषण’ हो।

२. ३४ करोड मानिसको स्वास्थ्यमा असर

अध्ययनका अनुसार विश्वभर करिब ३४.४ करोड मानिस यस्ता क्षेत्रमा बसोबास गरिरहेका छन्, जो यी डाटा सेन्टरको गर्मीको चपेटामा छन्। धेरैजसो डाटा सेन्टर सहरभन्दा टाढा बनाइएका भए तापनि यिनको असर ठूलो स्तरमा भइरहेको छ। वैज्ञानिकहरूले यसबाट मानिसको स्वास्थ्यमा मात्र नभई, घरहरू चिसो राख्नका लागि बिजुलीको खपत र खर्चमा पनि वृद्धि हुने चेतावनी दिएका छन्।

३. स्पेन, मेक्सिको र ब्राजिलमा अध्ययन

अनुसन्धानकर्ताहरूले स्पेनको अरागोन, मेक्सिकोको बाहियो र ब्राजिलको उत्तर–पूर्वी क्षेत्रहरूमा ’केस स्टडी’ गरेका थिए। जहाँ डाटा सेन्टरका क्लस्टरहरू (समूह) छन्, त्यहाँको तापक्रममा अस्वाभाविक वृद्धि देखिएको छ। गर्मीसँगै कार्बन उत्सर्जन पनि तीव्र रूपमा बढेको पाइएको छ।

४. आउँदो खतराः बिजुलीको भारी खपत

अनुसन्धानकर्ताहरूका अनुसार आगामी एक दशकमा डाटा सेन्टर क्षेत्र विश्वकै सबैभन्दा धेरै बिजुली खपत गर्ने क्षेत्रमध्ये एक बन्नेछ। यिनको कम्प्युटिङका लागि लाग्ने बिजुलीको खर्चले छिट्टै उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रको बजेटलाई पनि पछि पार्नेछ।

चिन्ताको विषय यो छ कि अधिकांश एआई पूर्वाधारहरू अझै पनि जीवाश्म इन्धन (कोइला, पेट्रोल, प्राकृतिक ग्यास आदि) बाट उत्पादित बिजुलीमा निर्भर छन्, जसले गर्दा गर्मी र प्रदूषण दुवै बढिरहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।