हिजो साँझ माइकिङमार्फत घर–टहरा हटाउन आग्रह गरिएपछि बासिन्दाले तत्काल प्रतिक्रिया जनाउँदै संरचना खाली गर्न थालेका थिए। आज बिहानदेखि केही टहरा धनीले आफ्ना अस्थायी संरचना भत्काउँदै अन्यत्र बसाइँ सर्ने प्रक्रिया अघि बढाएका छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि रहेको सरकारी जग्गा खाली गराउने अभियान अहिले तीव्र रूपमा सञ्चालन भइरहेको छ। उक्त क्षेत्रमा करिब दुई दर्जन घर–टहरा रहेको बताइएको छ।
साबिक कित्ता नम्बर ३९६ (हाल ७८१२६११३४) अन्तर्गत पर्ने करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका संरचना हटाउन उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो। उक्त जग्गा पहिले लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेकोमा पछि उच्च अदालतलाई भोगाधिकार दिइएको हो।
नापी कार्य सम्पन्न भएपछि आवश्यक परे डोजर प्रयोग गरी बाँकी संरचना हटाइने तयारी रहेको जनाइएको छ।