पक्राउ पर्नेहरूमा ईन्कोन प्रालिका शेयरधनी तथा लेखापाल ३० वर्षीय स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक ४१ वर्षीय प्रकाश ढुंगाना रहेका छन्। पोखरेललाई वैशाख १२ गते पेप्सिकोला र ढुंगानालाई वैशाख १३ गते बालाजुबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
अभियुक्तहरूले विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै प्रणालीमा प्रवेश गरी कागजात परिवर्तन गर्ने गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सुरुवातमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिए पनि हाल उनीहरूमाथि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको छ। अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएका उनीहरूमाथि प्रहरीले विस्तृत छानबिन गरिरहेको छ।