दुई देशका पर्यटन व्यवसायीहरूलाई एउटै थलोमा भेला गराई नेपालमा भारतीय पर्यटकको चाप बढाउने लक्ष्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले विशेषगरी गर्मीयामको पर्यटकीय मौसमलाई छोप्ने रणनीति लिएको छ।हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली पर्यटन व्यवसायीहरूको टोली दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। जसमा देशभरका होटलका सञ्चालक तथा प्रतिनिधिहरूको व्यापक सहभागिता रहनेछ।
प्रतिनिधिमण्डलले वैशाख १५ गते नेपाललाई दक्षिण एसियाकै उत्कृष्ट विवाह गन्तव्यका रूपमा र वैशाख १६ गते ’नजिकको उत्कृष्ट विदा गन्तव्य’ का रूपमा स्थापित गर्न विशेष सत्रहरू सञ्चालन गर्नेछ। दिल्लीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा हुने यस कार्यक्रममा नेपाली टोलीले भारतीय समकक्षीहरूसँग सिधा व्यावसायिक भेटघाट (बी–टु–बी) गर्ने तालिका छ। साथै, ‘नेपाल पर्यटन साँझ’ मार्फत भारतीय होटल र ट्राभल क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूसँग सहकार्यका सम्भावनामाथि गहन छलफल गरिनेछ।
भ्रमणका क्रममा होटल व्यवसायीहरूले भारतीय परिवार,तीर्थयात्री,नवविवाहित जोडी,कर्पोरेट ग्राहक तथा साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि विशेष प्याकेजहरू सार्वजनिक गर्ने तयारी गरेका छन्। हाल मध्यपूर्वको भू-राजनीतिक संकटका कारण अन्तर्राष्ट्रिय हवाई भाडामा भएको वृद्धि र उडान अवरोधका बीच भारतीय पर्यटकका लागि नेपाल नजिक र किफायती गन्तव्य बन्न सक्ने हानको विश्लेषण छ। यो प्रवर्द्धनले नेपालको पर्यटन उद्योगमा भारतीय पर्यटकको हिस्सा थप वृद्धि गरी विदेशी मुद्रा आर्जनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।