मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब २६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ६२ हजार २५ पटकको कारोबारमा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको ७७ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९.३१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ११ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।