शुक्रबार नेप्से परिसूचक १.५४ अंक बढेर २७८८.७० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स अंक ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ।
नेप्से जस्तै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५१ स्टकको ७५ हजार २२९ पटकको कारोबारमा ५ अर्ब २७ करोड ३ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र माइ खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ३८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको करिब २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०२ प्रतिशत घटेको छ।