तेलका दिग्गजदेखि बैंकसम्म: यी हुन् इरान युद्धबाट अर्बौँ कमाउने कम्पनीहरू

May 08, 2026 12:53 PM Merolagani



आर्ची मिचेल (बिबिसी) 

विश्वभरका परिवारहरूले इरानमा जारी अमेरिका-इजरायल युद्धको मूल्य चुकाइरहेका बेला, केही कम्पनीहरूले भने उल्लेख्य नाफा कमाइरहेका छन्।

द्वन्द्वका कारण उत्पन्न अनिश्चितता र इरानले हर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा गरेको प्रभावकारी नाकाबन्दीले जीवनयापनको लागत बढाइरहेको छ। यसको प्रत्यक्ष असर विभिन्न कम्पनी, परिवार र सरकारको बजेटमा परेको छ। संकटका कारण कतिपय व्यवसायहरू धराशायी हुने अवस्थामा पुगेका छन् भने अर्कोतर्फ युद्धका कारण बढी नाफामूलक बनेका वा ऊर्जाको अस्थिर मूल्यबाट लाभ उठाउन सक्ने कम्पनीहरूले भने कीर्तिमानी आम्दानी गरिरहेका छन्।

मध्यपूर्वको द्वन्द्व जारी रहँदा अर्बौँ डलर कमाउने केही प्रमुख क्षेत्र र कम्पनीहरू यस प्रकार छन्:

१. तेल र ग्यास

यस युद्धको अहिलेसम्मको सबैभन्दा ठुलो आर्थिक प्रभाव ऊर्जाको मूल्यमा देखिएको छ। विश्वको लगभग पाँच भागको एक भाग तेल र ग्यास हर्मुज जलडमरूमध्य भएर ढुवानी गरिन्छ। तर फेब्रुअरीको अन्त्यदेखि ती ढुवानीहरू प्रभावकारी रूपमा रोकिएका छन्। यसको परिणामस्वरूप ऊर्जा बजारमा आएको मूल्य उतारचढावबाट विश्वका केही ठुला तेल र ग्यास कम्पनीहरूले ठुलो फाइदा उठाएका छन्। यसको मुख्य लाभ युरोपेली तेल दिग्गजहरूले पाएका छन्। उनीहरूसँग बलियो व्यापारिक क्षमता भएकाले तीव्र मूल्य परिवर्तनको फाइदा उठाउँदै नाफा बढाउन सफल भएका छन्।

वर्षको पहिलो तीन महिनामा 'बीपी' (BP) को नाफा दोब्बरभन्दा बढीले वृद्धि भई ३.२ अर्ब डलर (२.४ अर्ब पाउण्ड) पुगेको छ। यसलाई कम्पनीको व्यापारिक विभागको "असाधारण" प्रदर्शन मानिएको छ।

यस्तै, 'शेल' (Shell) ले पनि विश्लेषकहरूको अपेक्षालाई उछिन्दै पहिलो त्रैमासिकमा आफ्नो नाफा ६.९२ अर्ब डलर पुगेको जानकारी दिएको छ।

अर्को अन्तर्राष्ट्रिय दिग्गज कम्पनी 'टोटल इनर्जीज' ले सन् २०२६ को पहिलो त्रैमासिकमा आफ्नो नाफा लगभग एक-तिहाइले बढेर ५.४ अर्ब डलर पुगेको देखेको छ। जुन मुख्यतया तेल र ऊर्जा बजारको अस्थिरताका कारण सम्भव भएको हो।

मध्यपूर्वबाट आपूर्तिमा अवरोध आएका कारण अमेरिकी दिग्गज कम्पनीहरू 'एक्सन मोबिल' र 'सेभ्रन' को आम्दानी गत वर्षको सोही अवधिको तुलनामा केही घटेको भए तापनि दुवैले विश्लेषकहरूको अनुमानलाई उछिनेका छन्। तेलको मूल्य अझै पनि उच्च रहेकाले वर्षको अन्त्यसम्ममा उनीहरूको नाफा अझ बढ्ने अपेक्षा गरिएको छ।

२. ठुला बैंकहरू

इरान युद्धको समयमा केही ठुला बैंकहरूको नाफामा पनि उल्लेख्य वृद्धि भएको छ। 'जेपी मोर्गन' को व्यापारिक शाखाले सन् २०२६ को पहिलो तीन महिनामा कीर्तिमानी ११.६ अर्ब डलर राजस्व संकलन गरेको छ। जसले बैंकलाई समग्रमा दोस्रो ठुलो त्रैमासिक नाफा आर्जन गर्न मद्दत पुर्‍याएको छ। बैंक अफ अमेरिका, मोर्गन स्टेनली, सिटीग्रुप, गोल्डम्यान स्याक्स र वेल्स फार्गो लगायतका "बिग सिक्स" बैठकहरूको नाफा वर्षको पहिलो त्रैमासिकमा उल्लेखनीय रूपमा बढेको छ। समग्रमा, यी बैंकहरूले सन् २०२६ को पहिलो तीन महिनामा ४७.७ अर्ब डलर नाफा कमाएका छन्। "धेरै मात्रामा भएको कारोबारले लगानी बैंकहरू, विशेष गरी मोर्गन स्टेनली र गोल्डम्यान स्याक्सलाई फाइदा पुर्‍याएको छ," वेल्थ क्लबकी प्रमुख लगानी रणनीतिकार सुसाना स्ट्रिटरले भनिन्। लगानीकर्ताहरूले जोखिमपूर्ण स्टक र बन्डहरू छोडेर सुरक्षित मानिने सम्पत्तिहरूमा लगानी गर्न थालेपछि वाल स्ट्रिटका प्रमुख ऋणदाताहरूको व्यापार बढेको हो। वित्तीय बजारको अस्थिरताबाट लाभ उठाउन खोज्ने लगानीकर्ताका कारण पनि कारोबारको मात्रा बढेको छ।

३. रक्षा (डिफेन्स)

आरएसएम यूकेकी वरिष्ठ विश्लेषक एमिली साविक्जका अनुसार कुनै पनि द्वन्द्वबाट सबैभन्दा छिटो लाभ उठाउने क्षेत्र रक्षा क्षेत्र हो। उनले बिबिसीसँग भनिन्, "द्वन्द्वले हवाई रक्षा क्षमताको आवश्यकतालाई थप उजागर गरेको छ। यसले युरोप र अमेरिकाभरि क्षेप्यास्त्र प्रतिरक्षा, काउन्टर ड्रोन प्रणाली र सैन्य हार्डवेयरमा लगानीलाई तीव्र बनाएको छ।" रक्षा कम्पनीहरूको महत्त्व बढ्नुका साथै युद्धका कारण सरकारहरूले आफ्नो हतियारको भण्डार पुनः भर्नुपर्ने भएकाले मागमा थप वृद्धि भएको छ।

'एफ-३५' लडाकु जेटका पार्टपुर्जाहरू बनाउने 'बीएई सिस्टम्स' ले यस वर्ष आफ्नो बिक्री र नाफामा बलियो वृद्धि हुने अपेक्षा गरेको छ। विश्वभर बढ्दो सुरक्षा खतराका कारण सरकारी रक्षा खर्चमा भएको वृद्धि कम्पनीका लागि वरदान साबित भएको छ। विश्वका तीन ठुला रक्षा ठेकेदारहरू—लकहिड मार्टिन, बोइङ र नर्थ्रोप ग्रुमनले सन् २०२६ को पहिलो त्रैमासिकको अन्त्यमा कीर्तिमानी अर्डरहरू प्राप्त गरेको रिपोर्ट गरेका छन्।

४. नवीकरणीय ऊर्जा
रणनीतिकार स्ट्रिटरका अनुसार यस द्वन्द्वले जीवाश्म इन्धनमाथिको निर्भरता हटाउनु पर्ने आवश्यकतालाई पनि प्रस्ट पारेको छ। इरान युद्धका कारण ऊर्जा सुरक्षाका लागि नवीकरणीय लगानीलाई महत्त्वपूर्ण रूपमा हेर्न थालिएको छ। फ्लोरिडामा आधारित 'नेक्स्टएरा इनर्जी' को शेयर मूल्यमा यस वर्ष अहिलेसम्म १७ प्रतिशतले वृद्धि भएको छ।

डेनमार्कका वायु ऊर्जा दिग्गजहरू 'भेस्टास' र 'ओर्स्टेड' ले पनि नाफा बढेको जानकारी दिएका छन्। बेलायतमा 'अक्टोपस इनर्जी' ले बताए अनुसार फेब्रुअरीको अन्त्यदेखि सौर्य प्यानलको बिक्री ५० प्रतिशतले बढेको छ। यस्तै, पेट्रोलको मूल्यमा भएको वृद्धिका कारण विद्युतीय सवारी साधनको माग पनि बढेको छ। जसको फाइदा विशेष गरी चिनियाँ उत्पादकहरूले उठाइरहेका छन्।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।